हस्तकलामा महिला उद्यमीको जोस

काठमाडौं, २१ भदौ । पुराना हस्तकला लोप हुँदै गइरहेका बेला कल्पना योङहाङ लिम्बूले आफ्नो एकल प्रयासबाट जगेर्ना गर्नेतर्फ लागिपरेकी छन् । सञ्चालिका लिम्बुले गोकर्णस्थित द हाइल्यान्ड आर्टमा पाँच सयभन्दा बढी कामदारलाई तालिम र ७५ जनालाई रोजगारी पनि दिएकी छन् । ७५ जना कामदारमा एकल, टुहुरा, विदेशबाट बेचिएर आएका चेलीलाई प्राथमिकता दिएको उनी बताउँछिन् । सातजना पुरुषले पनि सो आर्टमा रोजगारी पाइरहेका छन् । केही महिला कामदार जो आर्टमा आउन भ्याउँदैनन् त्यस्तालाई घरमै तान लगेर पनि काम गर्ने व्यवस्था मिलाएको लिम्बुले बताइन् ।

१५ हजार रुपियाँको लगानीमा सुरुवात गरिएको सो आर्ट अहिलेसम्म आइपुग्दा वार्षिक ९० लाखको कारोबार गर्न सक्षम भएको लिम्बु बताउँछिन् । सुरुमा आवश्यक सामग्री नहँुदा धेरै दु:ख झेल्नुपरेको उनको भनाइ छ । संस्कृतिका रूपमा विकाश भएको पुराना हस्तकला पछिल्लो समयमा व्यावसायिक पनि बन्न थालेको छ । अहिले आएर खाडीको दौरा सुरुवाल र साडी चोला बढी मात्रामा माग हुने गरेको लिम्बू बताउँछिन् ।
यहाँ उत्पादित हस्तकलाका सामग्री अमेरिका, ब्रुनाई, इटाली, हङकङ, क्यानडा, इन्डियालगायत २५ भन्दा बढी देशमा बिक्रीका लागि जाने गरेको छ । कला संस्कृतिलाई जोगाउँदै व्यावसायमा पनि राम्रै सफलता मिलेकाले सो आर्टलाई झापा, सुनसरी, पाँचथरलगायत १२ वटा जिल्लामा समेत शाखा आर्ट खोल्ने प्रयास गरिरहेको सुब्बाले बताइन् । आर्टमा अहिले ८० वटा तान रहेका छन् ।

प्रतिक्रिया