माथि मात्रै मिलेर नहुँदो रहेछः कोइराला

नगरकोट, १८ भदौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सहमति गर्दैमा र भन्दैमा मात्रै केही नहुने उल्लेख गरेका छन् ।
नेपाल विद्यार्थी संघले आज काभ्रेको नगरकोटमा आयोजना गरेको ‘केन्द्रीय प्रक्षिण’ कार्यक्रममा उनले सहमति कार्यान्वनय नहुँदा मुलुकले निकास पाउन नसकेको बताए । उनले एमाओवादी इमान्दार नभएका कारण समस्या समाधानमा हुन नसकेको बताए ।
उनले शान्ति प्रक्रिया र संविधान लेखनका क्रममा कांग्रेसका तर्फबाट भएका गल्तीको जिम्मेवारी लिन तयार रहेको उल्लेख गरे । सो विषयमा एमाओवादी र एमालेलगायतका दलहरुसँग आफूले भनिसकेको उनले बताए । उनले मुलुकमा गतिरोध हुनुमा एमाओवादी धेरै दोषी रहेको आरोप लगाए ।
पार्टी विवादप्रति असन्तुष्ट देखिएका कोइरालाले भने, ‘माथि नेताहरु नमिल्दा तपाई विद्यार्थी नेताहरुलाई कति समस्या भएको छ ।’ उनले विद्यार्थी माथि खेलवाड नगर्न स्वयं विद्यार्थी नेताहरुले नै विवाद गर्ने नेताहरुलाई भन्नु पर्ने सुझाव दिए ।
‘एकता र सहमति मात्रै भनेर नहुँदो रहेछ,’ कोइरालाले भने, ‘एमाओवादीसँग गरिएका सहित समयमा पालना नहुँदा समस्या आएको हो ।’
महामन्त्री कृष्णप्रसाद सिटौलाले मुलुकको निकास र चुनौती अन्त्य गर्न नयाँ निर्वाचन आवश्यक रहेको बताए । उनले भने, ‘मुलुकमा दुई तीन वटा समस्या छन्, त्यसलाई समाधान गर्न नयाँ निर्वाचन आवश्यक छ ।’
उनले नयाँ संविधान जारी गर्न सहमतिमा संविधानसभा पुनःस्थापना वा नयाँ निर्वाचन गर्न पनि सकिने बताए । त्यसका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको उनले बताए ।
‘जस्ले जे भने पनि, आरोप प्रत्यारोप गरे पनि कांग्रेसको निर्णय विना मुलुकको राजनीतिक निकास आउँदैन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय शक्तिले कांग्रेसलाई नै हेरेका छन् ।
राष्ट्रिय राजनीतिमा कांग्रेसको प्रभाव रहेको बताएका सिटौलाले भने, ‘समस्या समाधानका लागि अन्तर्राष्ट्रिय जगतले नेतृत्व लिन भनेका छन् ।’
एमाओवादीले पूर्ण रुपमा हतियार छाड्न नसकेको उनको भनाई थियो । उनले उग्रवामपन्थी धार छाड्ने विषयमकै कारण एमाओवादी विभाजन भएको आरोप लगाए । गणतन्त्रको मुद्धा कांग्रेसकै रहेको बताएका उनले एमाओवादीले त्यसमा दाबी नगरे पनि हुने उल्लेख गरे । उनले भने, ‘कांग्रेसको ६० बर्षको संघर्षका कारण मुलुकमा गणतन्त्र स्थापना भएको हो ।’
कोषाध्यक्ष चित्रलेखा यादवले मुलुकको समस्यालाई पहिलो प्राथमिकतामा राखेर समाधान गर्ने तर्फ कांग्रेसले ध्यान दिनुपर्ने बताईन ।
उनले मुलुक चलाउने चाबी अन्यत्र रहेछ भनेर दिएको प्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्ति र पछिल्लो अवस्थाले पनि राष्ट्रियतालाई कमजोर बनाउँदै लगेको उल्लेख गरिन् ।
केन्द्रीय सदस्य बलबहादुर केसीले अहिले मुलुकमा राष्ट्रियता कमजोर भएको बताए । उनले मुलुकलाई कुनै एक पार्टीले मात्रै बचाउन नसक्ने भन्दै राष्ट्रियताका लागि सबै मिल्नु पर्ने बताए । उनले भने, ‘वर्तमान सरकार र एमाओवादीबाट राष्ट्रियतालाई खतरा बढेको छ ।’
केन्द्रीय सदस्य गोपालराज पहाडीले कांग्रेसलाई पूर्ण समाजवादी र आर्थिक उन्नतीको लडाई लड्न पर्ने दायित्व कांग्रेसमा आई परेको बताए । कांग्रेसलाई संघीयता विरोध भनेर गरेको प्रचारको विरोध गर्दै उनले सबै जातजाति, धर्म मान्नेका लागि संघीयता हुनु पर्ने बताए ।
केन्द्रीय सदस्य तथा विद्यार्थी विभाग प्रमुख नवीन्द्रराज जोशीले नेविसंघ भित्रै सानो र ठूलोको विषलाई लिएर आरोप प्रत्यारोपमा नलाग्न सुझाव दिए । उनले पार्टी र संगठनलाई हित नहुने काम कसैबाट हुन नहुने उल्लेख गरे ।
नेविसंघका पूर्व अध्यक्ष महेन्द्र शर्माले तत्कालिन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कांग्रेसले संविधानसभा र गणतन्त्रमा सम्झौंता मात्रै गरेको बताए । उनले भने, ‘माओवादी अझै पनि रणनीतिक रुपमा हिंडिरहेको छ ।’
बहुदलीय व्यवस्थालाई मानेर आएको एमाओवादीले अहिले आएर त्यसलाई मान्दैन भन्नु लोकतन्त्र माथिको ठाडो हस्तक्षेप रहेको शर्माको भनाई थियो ।
वरिष्ठ नेता शेरबहादुर देउवा निकट मानिने नेविसंघ केन्द्रीय सदस्य ऋषिकेशजंग शाहले संगठनमा अझै पनि केही सानातिन समस्या रहेको बताए । उनले आगामी दिनमा बाँकी रहेका विवादलाई पनि समाधान गरेर महाधिवेशन तोकिएकै समयमा गर्ने बताए ।
‘अहिले पनि संगठनमा एकलौटी रुपमा निर्णय गर्ने परम्परा छ,’ उनले भने, ‘मनपरी रुपमा जाँदा संगठनमा समस्या आउँछ ।’
नेविसंघको प्रशिक्षण कार्यक्रममा कांग्रेस सभापति कोइरालाका साथै महामन्त्री कृष्णप्रसाद सिटौला, कोषाध्यक्ष चित्रलेखा यादव, केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, बलबहादुर केसी, आनन्दप्रसाद ढुङगाना, गोपाल पहाडी, नेविसंघका पूर्व अध्यक्ष महेन्द्र शर्मालगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया