हत्याका आरोपी गुठी संस्थानका प्रमुख

काठमाडौं, ११ भदौ । विश्व हिन्दू युवा संघ पर्साका तत्कालीन जिल्ला अध्यक्ष काशी तिवारीको हत्याका एक अभियुक्त नौ महिनादेखि गुठी संस्थानको कार्यकारी प्रमुखको कुर्सीमा आसीन छन् । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निगाहमा उनले दुई वर्षका लागि नियुक्ति पाएका हुन् ।

सोही अभियोगमा मुछिएका माओवादी नेता प्रभु शाहले प्रतिपक्षी दलहरूको दबाबका कारण भूमिसुधारमन्त्री पदबाट हात धुनुपरेको थियो । तर, पर्सा जिल्लामा तारिख धाउँदै आएका बलिराम साहलाई राजीनामाको कुर्सी हल्लिएको छैन । भेडियारी–७ पर्साका तेली एमाओवादी भोजपुरा राज्य समितिका संयोजक साहका विश्वपात्र हन् । साह प्रधानमन्त्री भट्टराईनिकटस्थ नेतामध्ये पर्छन् ।
गुठी संस्थानका एक वरिष्ठ कर्मचारीले हत्या अभियोग लागेका व्यक्ति संस्थान प्रमुखको हैसियतले काम गर्न नमिल्ने जानकारी प्रधानमन्त्री भट्टराईलाई अख्तियार तथा विभागीय अधिकारीहरूले पटक–पटक गराउँदा पनि कुनै चासो नदिइएको बताए । ती कर्मचारीका अनुसार गुठी संस्थान नियमावली तथा गुठी संस्थानका कर्मचारीको सेवा, सर्त र सुविधासम्बन्धी विनियम ०५२ मा नैतिक पतन देखिने फौजदारी अभियोग लागी मुद्दा अदालतसम्म पुगेको तथा सो मुद्दाको किनारा नलागेको व्यक्ति संस्थानमा काम गर्न नपाउने व्यवस्था छ ।

वीरगन्जमा २७ महिनाअघि भएको तिवारी हत्याकाण्डका साह प्रमुख योजनाकार रहेको र त्यसमा तेलीलगायतको संलग्नता देखिएको भन्दै तिवारीपत्नी बबितादेवीसहितले जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । तर, तेलीले शक्तिको दुरुपयोग गरी न्यायालयलाई प्रभावित बनाएर नियमित तारिख बुझ्न आउने गरी धरौटीमा रिहा भएका थिए ।
‘हामीले अनुसन्धान गरेर सबै प्रक्रिया सकिसकेका छौँ,’ तत्कालीन पर्सा प्रहरी प्रमुख रमेश खरेलले भने, ‘यसविरुद्ध अदालतमा पनि मुद्दा परेको छ, अदालती प्रक्रिया अघि बढेको छ ।’ उनले तेलीले अदालतबाट पूर्णरूपमा सफाइ नपाएको बताए । खरेलले भने, ‘अदालत गएर हाजिर गरी फर्कने गर्छन् । अहिले अदालती प्रक्रिया कहाँ पुगेको छ मलाई जानकारी भएन ।’
हत्यामा संलग्न रहेको भन्दै अदालतमा मुद्दा पर्नेबित्तिकै संस्थान प्रमुख तेलीलाई पदबाट हटाउनुपर्ने भूमिसुधार मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए । ‘हामीले त्यतिबेला नै संस्थानका प्रशासकलाई हटाउन भनेका थियौँ तर प्रधानमन्त्रीले मान्नुभएन,’ ती अधिकारीले थपे, ‘प्रधानमन्त्री तथा विभागीय मन्त्रीले नै नचाहेपछि हामीले कराएर मात्र केही हुने रहेनछ ।’
संस्थानका कर्मचारीले पनि हत्यामा संलग्न व्यक्तिको अधीनमा रहेर काम नगर्ने भन्दै प्रशासक परिवर्तन गर्न माग गर्दै विभागीय मन्त्री गुहारेका थिए । गुठीका एक कर्मचारीले भने, ‘मन्त्रीले गुठीका प्रशासक तेली प्रधानमन्त्रीनिकट भएकाले आफूहरूले केही गर्न नसक्ने भन्दै पन्छिनुभयो ।’
वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि मुद्दाको छिनोफानो नहुन्जेल कुनै पनि सरकारी पदमा बसेर काम नगर्दा राम्रो हुने बताए । ‘अदालतले सामान्य तारेखमा छाडेको छ भने त्यस्तो व्यक्तिले काम गर्न त पाउँछ,’ उनले थपे, ‘तर, त्यसबारे सम्बन्धित निकायले एक्सन पनि लिन सक्छ ।’
भूमिसुधारमन्त्री चन्द्रदेव जोशीले यसबारे केही जानकारी नभएको बताए । ‘राष्ट्रपति, प्रधानमन्त्री र अख्तियारले समेत विवादास्पद व्यक्तिलाई पुरस्कृत गर्ने गरेको छ, त्यसमा उनी पनि परे होलान्,’ उनले भने, ‘तर, गुठी संस्थानका प्रशासकबारे सम्बन्धित अधिकारीसँग जानकारी लिएर आवश्यक प्रक्रिया अघि बढाइन्छ ।’
मन्त्रालयका एक वरिष्ठ कर्मचारीका अनुसार मन्त्रालयमा गुठीका प्रशासक तेलीलगायत अन्य कर्मचारीको मिलेमतोमा गुठीको नाममा रहेको जग्गा व्यक्तिको नाममा गराएको भन्ने निवेदन पनि आएको छ । ‘हामीले त्यसबारे आन्तरिक अनुसन्धान गरिरहेका छौँ,’ ती कर्मचारीले सौर्यसँग भने, ‘हाम्रो प्रारम्भिक अनुसन्धनमा गुठी संस्थानका प्रशासकदेखि कार्यालय सहयोगीसम्मको मिलेमतो रहेको देखिएको छ ।’ मन्त्रालयमा पुगेको रिपोर्टअनुसार गुठीको नाममा रहेको धेरै जग्गाको पुर्जा विभिन्न घरजग्गा कारोबारीको हातमा समेत पुगेको छ । ती कर्मचारीले भने, ‘त्यसरी पुगेको जग्गा उपयुक्त समय मिलाएर मालपोतबाट व्यक्तिको नाममा गराउने गरिएको पाइएको छ ।’
गुठीका प्रशासक तेलीले भने यसबारे केही बताउन चाहेनन् । ‘मैले कुनै नराम्रो कामै गरेको छैन,’ तेलीले सौर्यसँग टेलिफोनमा भने, ‘यहाँ ममाथि षड्यन्त्र भएको छ, हामी बसेर कुरा टुंग्याउँला ।’ उनले आºनोबारे समाचार नलेख्न आग्रह गरे ।
यता, तेलीको विरुद्धमा संस्थानका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भूमिसुधार मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका छन् । उनीहरूको उजुरीमा प्रशासक तेलीले जग्गा दलालसँगको मिलेमतोमा गुठीका नाममा विभिन्न स्थानमा रहेका जग्गा व्यक्तिको नाममा नामसारी गराई त्यसबाट ठूलो आर्थिक लाभ लिएको उल्लेख छ । तेलीले अधिकारक्षेत्रभन्दा बाहिर गएर संस्थानको हितविपरीत काम गरेको तथा पदको दुरुपयोग गरी संस्थानलाई डुबाउन लागेको भन्दै चन्द्रेश्वर यादव, रवीन्द्र प्रजापतिले अख्तियारमा उजुरी दिएका छन् । उजुरीमा गुठी संस्थानको सम्पत्तिमा पनि तेलीले ब्रह्मलुट मच्चाएको उल्लेख छ । तेलीले संस्थानको गाडी निजी काममा प्रयोग गर्दै आएको, इन्धनका नाममा मासिक ४० देखि ५० हजारसम्म रकम लिने गरेको, लेखा प्रमुख प्रभातकुमार ज्ञवालीको मिलेमतोमा भुक्तानी गर्न नमिल्ने शीर्षकमा पनि रकम भुक्तानी गरेको, भ्रमण तथा विविध खर्चका नाममा लाखौँ रकम हिनामिना गरेको उजुरीमा छ ।
उजुरीमा तेली संस्थानमा प्रशासक भएर आएपछि संस्थानका कर्मचारीलाई विभिन्न गुटमा विभाजन गराई संस्थाको हितविपरीत काम गरेको आरोप पनि लगाइएको छ । तेलीले संस्थानको आवश्यकताभन्दा बाहिर गएर अधिकृत रामकृष्ण साह, रमा बोहरालगायत १६ जना कर्मचारी भर्ना गरेका थिए । उनले ती कर्मचारीलाई यसअघिको परम्परा मिचेर तीन महिनाभन्दा बढी समयका लागि नियुक्ति गरेका थिए ।
तेलीले एक टेलिभिजनबाट प्रसारण हँुदै आएको ‘गुठी’ नामक कार्यक्रमका नाममा पनि आर्थिक अनियमितता गरेको आरोप छ । कार्यक्रमको औचित्य नभएको भन्दै बन्द गर्ने सिफारिस सञ्चालक समितिले गरे पनि तेलीले पुन: सम्झौता गरेको कर्मचारीले आरोप लगाएका छन् । त्यस्तै, तेलीकै कारणले संस्थान सञ्चालक समिति बोर्डको बैठकसमेत बस्न सकेको छैन । बोर्डको बैठक बस्दा सबै अनियमितता खुल्ने डरले उनले बैठक नबोलाएको बोर्डका एक सदस्यले बताए । ती सदस्यका अनुसार बोर्डको बैठक बस्न नसक्दा चालु आर्थिक वर्षको नियमित बजेट पनि निकासा हुन सकेको छैन । आर्थिक बजेट निकासा हुन नसक्दा विभिन्न जात्रालाई दिँदै आएको रकमसमेत अभाव हुनुका साथै जात्रा सञ्चालन गर्न कठिनाइ भएको छ ।

प्रतिक्रिया