चेल्सी शीर्षस्थानमा उक्लियो

लण्डन । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबारको पहिलो खेलमा न्युकासल युनाइटेडलाई २–० ले पराजित गर्दै चेल्सी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । न्युकासलको घरेलु मैदान सेन्ट जेम्सेस पार्कमा चेल्सीले दुवै हाफमा १–१ गोल गर्दै २–० को जित दर्ता गरेको हो । खेलको दशौं मिनेटमा चेल्सीले अग्रता लिएको थियो । मेसन माउन्टले दायाँ विंगबाट दिएको क्रस क्लियर गर्न नसक्दा फेडेरिको फर्नान्डेजले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

दोस्रो हाफको ६५ औं मिनेटमा ट्यामी अब्राहमले चेल्सीको अग्रता दोब्बर पारे । टिमो वेर्नरले अघि बढाएको काउन्टर अट्याकलाई अब्राहमले गोलले अन्त्य गरेका थिए । वेर्नरले पेनाल्टी क्षेत्रभित्र दिएको थ्रु बललाई इंग्ल्यान्डका युवा फरवार्डले वन भर्सेस वन स्थितिमा गोल गरेका थिए ।

यस जितसंगै चेल्सीको ९ खेलमा १८ अंक भएको छ । गोलअन्तरको आधारमा चेल्सी शीर्षस्थानमा रहँदा दोस्रो स्थानको लेस्टरले एक खेल कम खेल्दै समान १८ अंक नै जोडेको छ । पराजित न्युकासल भने ११ अंकका साथ १३ औं स्थानमा यथावत रहयो । शनिबार हुने दोस्रो खेलमा एस्टन भिल्ला र ब्राइटन एण्ड होभ आल्बियन खेल्दैछन् । त्यसपछि उपाधि दावेदार म्यानचेस्टर सिटी र टोटेनहम हट्सपरबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया