इंगल्यान्ड, स्पेन, ब्राजिल र अर्जेन्टिनाको जित

लन्डन, १ भदौं । इंगल्यान्ड फुटबल टिमले इटालीमाथि १५ वर्षमा पहिलो जित हात पारेको छ । बुधबार राति भएको मैत्रीपूर्ण खेलमा इंगल्यान्डले इटालीलाई २–१ ले पराजित गर्‍यो । बुधबार राति नै भएको खेलमा विश्व तथा युरोपेली विजेता स्पेनले पोर्तोरिकोलाई २–१ ले पराजित गर्‍यो । युरोपेली भूमिमा गएर खेलेका दक्षिण अमेरिकी टोली ब्राजिल र अर्जेन्टिनाले पनि जित हात पारे । अर्जेन्टिनाले जर्मनी तथा ब्राजिलले स्विडेनलाई पराजित गरे ।
खेल सकिन १० मिनेट बाँकी रहँदा जर्मेन डिफोले गोल गरेपछि रे हडसनको टोलीले इटालीमाथि
सन् १९९७ पछि पहिलो जित हात पारेको थियो । पछिल्लोपटक १५ वर्षअघि इंगल्यान्ड २–० ले विजयी भएको थियो । युरापेली उपविजेता इटालीले १५औँ मिनेटमा डयानियल डी रोसीको गोलमा अग्रता लिएको थियो । त्यसको १२ मिनेटपछि फिल गाजेल्काले बराबरी गोल गरे । जेम्स मिलनरले प्रत्याक्रमणमा राम्रो मुभ बनाएपछि डिफोले गोल गरेका थिए ।
भ्रमणकारी टोली स्पेनलाई जित दिलाउने क्रममा सान्टी काजरोला र सेस फाब्रिगासले गोल गरे । यो जितसहित स्पेनको अपराजित यात्रा १२औँ खेलमा पुगेको छ । युरापेली च्याम्पियन बनेपछि स्पेनको यो पहिलो खेल हो । स्पेनका लागि काजरोलाले ४२औँ मिनेटमा पहिलो गोल गरे भने ४५औँ मिनेटमा फाब्रिगासले दोस्रो गोल गरे । पोर्तोेरिकोका लागि दोस्रो हाफको १९औँ मिनेटमा मार्क किन्टनले गोल गरे ।
फ्रयाङ्कफर्टमा भएको खेलमा लियोनेल मेसीले पेनाल्टी मिस गर्नुका बाबजुद अर्जेन्टिना ३–१ ले विजयी भयो । दुई वर्षअघि विश्वकपको क्वार्टरफाइनलमा जर्मनीले अर्जेन्टिनालाई ४–० ले पराजित गरेको थियो । जोसे सोसामाथि फल प्रहार गरेका कारण गोलरक्षक राने रोबर्ट जेइलरले रातो कार्ड पाएपछि जर्मनी १० खेलाडीमा सीमित भएको थियो । बोरुसिया मोन्चेडब्लाकका लागि खेल्ने २० वर्षीय मार्क एन्ड्रे टेर स्टेगनले मेसीको पेनाल्टी बचाए । गत सत्र बार्सिलोनका लागि ६० खेल खेल्दै ७३ गोल गरेर कीर्तिमान कायम गरेका मेसीले ५२औँ मिनेटमा टोलीको दोस्रो गोल गरेका थिए । एन्जेल डी मारियाको कर्नरमा खाडी केनरियाको आफ्नै गोलपोस्टमा बल प्रहार गरेका थिए । डी मारियाले ११ मिनेट बाँकी रहँदा ३० यार्डबाट सानदार गोल गरे ।
रासुन्डा रंगशालामा भएको खेलमा ब्राजिलले स्विडेनलाई ३–० ले पराजित गर्‍यो । पेलेले पनि हेरेको खेलको दोस्रो हाफमा मैदान छिरेका अलेक्जेन्डर पाटोले ८४औँ र ८७औँ मिनेटमा गोल गरे । लन्डन ओलम्पिकमा गोल्डेन बुट पाएका लियेन्ड्रो डामियाले ३२औँ मिनेटमा पहिलो गोल गरे ।
ली हाभ्रेमा भएको खेलमा फ्रान्स र उरुग्वेबीच गोलरहित बराबरी भयो । युरोकपमा क्वार्टरफाइनलबाट लाउरेन्ट ब्लाँले राजीनामा दिएपछि फ्रान्सले खेलेको यो पहिलो खेल हो । अहिले डिडियर डेसक्याम्पले उनलाई प्रतिस्थापन गरेका छन् । फ्रान्स र उरुग्वेबीच यो लगातार चौथो खेलमा बराबरी भएको हो । खेलको पहिलो हाफमा फ्रान्सले दुईपटक गोलपोस्टमा आक्रमणको मौका पाएको थियो ।
अन्य मैत्रीपूर्ण खेलमा बेल्जियमले नेदरल्यान्ड्सलाई ४–२ ले पराजित गर्‍यो भने स्विजरल्यान्डले क्रोएसियासँगको खेलमा ४–२ को जित हात पार्‍यो । स्कटल्यान्डले अस्ट्रेलियालाई ३–१ ले हरायो ।

७५ वर्षपछि अमेरिकाको जित
अमेरिकन फुटबल टोलीले मेक्सिकोमा पहिलो जित हात पारेको छ । बुधबार राति भएको मैत्रीपूर्ण खेलमा अमेरिकाले मेक्सिकोलाई १–० ले पराजित गर्‍यो । ७५ वर्षयता यी दुई टोलीबीच फुटबल भए पनि मेक्सिकोमा अमेरिकाले जित हात पारेको थिएन । सन् १९९७ मा यी दुईबीच भएको बराबरी नै अमेरिकाका लागि सबैभन्दा राम्रो परिणाम थियो । गत साता ओलम्पिकमा स्वर्णपदक जितेको खुसियालीमा मेक्सिकोले यो खेलको आयोजना गरेको थियो । अमेरिकाका लागि माइकल ओरोजो फिस्कलले ८०औँ मिनेटमा गोल गरेका थिए ।

प्रतिक्रिया