कैलाली, १६ साउन । प्रसिद्ध धार्मिक बडिमालिकाको पर्यटकीय गन्तव्यको विकासका लागि पहिलोपटक १३ सय फिट उचाइमा रहेको त्रिवेणी पाटनमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सोमबारबाट सुरु भएको छ । जिल्लाको खेल क्षेत्रको विकासका लागि क्रियाशील रानीवन स्पोर्टस युथ क्लबले ‘बडिमालिकाको पर्यटन प्रवद्र्धन र पहिचान, हामी सबैको सान’ भन्ने मूल नारासहित प्रतियोगिताको आयोजना गरेको हो ।
जनै पूर्णिमाको अघिल्लो दिन चर्तुदर्शीका दिन लाग्ने मेलाको अवसर पारी फुटबल प्रतियोगिताको आयोजना गरिएको आयोजक स्पोर्टस युथ क्लबका महेश शाहीले बताए । दुई दिनसम्म चल्ने उक्त फुटबल प्रतियोगितामा दुई टिमले भाग लिएका छन् । पहिलो पटक १३ हजार फिट उचाइमा भएको खेलको बडिमालिका भगवतीको दर्शनका लागि जाने हजारौँ श्रद्धालु भक्तजनले प्रत्यक्ष अवलोकन गर्ने खेल संयोजक जगतबहादुर शाहीले बताए ।
बडिमालिका क्षेत्रको पर्यटन विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले गरिएको फुटबल प्रतियोगितामा चिसो वातावरण भए पनि खेलाडीले आफ्नो खेललाई प्रदर्शन गरेर दर्शकलाई भरपुर मनोरञ्जन दिने बताएका छन् ।
बुधबार हुने मेलाका लागि अहिले जिल्लावासी तथा बाहिर जिल्लाका तीर्थयात्री धमाधम बडिमालिकातिर गइरहेका छन् । धार्मिक हिसाबले मात्र परिचित बडिमालिका प्राकृतिक सुन्दरता, जैविक महत्त्व र मनोरञ्जनले भरिपूर्ण रहेको छ ।
प्रतिक्रिया