विस्थापित माझीले पाउने भए जग्गा

बाग्लुङ, २७ असार । दुई दशकअघि राजमार्ग विस्तार गर्ने क्रममा विस्थापित बनेका १४ माझी परिवारले जग्गा पाउने भएका छन् । बाग्लुङ नगरपालिकाले उनीहरूका लागि जग्गा खरिद गरेर व्यवस्थित बसोबासको व्यवस्था गर्न लागेको हो ।

नगरपालिकाले वडा नम्बर–१ खनियाघाटमा कुशल आचार्यको एक रोपनी पाँच आना जग्गा खरिद गरेर माझीलाई पुनर्वास गराउन लागेको हो । बाग्लुङ–पोखरा राजमार्गको बाग्लुङ–१ गणेशघुम्तीबाट विस्थापित १४ परिवार रामरेखा सामुदायिक वनमा रहेको बांगेचौर खेलमैदान छेउमा छाप्रा बनाएर बस्दै आएका थिए । राजमार्ग निर्माणको क्रममा ०४६ सालमा उनीहरू विस्थापन भएका थिए ।
करिब नौ लाख ४० हजार रुपियाँको जग्गा खरिद गरेको बाग्लुङ नगरपालिकाले जनाएको छ । ‘विस्थापित माझीलाई आवासको व्यवस्थापन गर्न व्यक्तिगत जग्गा खरिद गर्‍यौँ,’ इन्जिनियर त्रिलोचन गिरीले भने, ‘अब बस्ती बसाउन आवश्यक पूर्वाधारको काम सुरु गर्छाैँ ।’ नगरपालिकाले जग्गा प्लट बनाएर माझीलाई हस्तान्तरण गर्ने तयारी गरेको हो । प्रत्येक परिवारले तीन आनाका दरले जग्गा पाउने भएका छन् ।
जग्गा प्रदानपछि आवासका लागि अन्य निकायसँग समन्वय गरिने नगरपालिका कार्यकारी अधिकृत यदुनाथ पौडेलले बताए । बांगेचौर खेलमैदान छेउमा कष्टकर जीवन बिताउँदै आएका माझीलाई जग्गा खरिदको खबरले उत्साहित बनाएको छ । ‘नगरपालिकाको आश्वासन कागजमा मात्र सीमित थियो,’ कृष्ण माझीले भने, ‘जग्गा खरिद गरेकाले अब जग्गा पाउने आस जाग्यो ।’ अहिलेसम्म कुनै क्षतिपूर्ति नपाएका उनीहरूले तत्काल आवासको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया