एघार हजार सशस्त्र प्रहरी सरुवा–बढुवा हुने

काठमाडौं, २६ असार । सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरीको चाङ लागेका बेला आयोगले नै झन्डै ११ हजार सशस्त्र प्रहरीको सरुवा, बढुवा र पदपूर्तिका लागि अनुमति दिएको छ । सशस्त्रले ठूलो संख्यामा सुरुवा, बढुवा र पदपूर्ति गर्न लागेको भन्दै उजुरीसमेत परेका बेला आयोगले भने प्रक्रिया अघि बढाउन अनुमति दिएको हो ।

आयोगले सशस्त्र प्रहरीलाई १८ असारमा सरुवा–बढुवाका लागि अनुमति दिएको थियो । सशस्त्र प्रहरीले असार मसान्तभित्र १० हजार आठ सय ७२ जनाको सरुवा, बढुवा र पदपूर्तिका लागि अनुमति नपाए संगठनका लागि आएको दुई करोड रकमसमेत फिर्ता जाने बताएपछि आयोगले प्रक्रिया अघि बढाउन अनुमति दिएको बुझिएको छ ।
सशस्त्र प्रहरी उच्च स्रोतका अनुसार पाँच सय ७२ जना विभिन्न तहका कार्यालय प्रमुखको सरुवा, बढुवाका साथै रिक्त स्थानमा पदपूर्तिको अनुमति दिइएको छ । त्यस्तै, सशस्त्र प्रहरीले चार सय ४६ जुनियर अधिकृतको पदपूर्ति र नौ हजार आठ सय ५३ जनाको सरुवाका लागि अनुमति पाएको छ । जसमा वरिष्ठ उपरीक्षक १८, उपरीक्षक ६९, नायब उपरीक्षक एक सय ५४, निरीक्षक तीन सय ३१ छन् । सशस्त्र स्रोतका अनुसार तालिम केन्द्र र निर्देशनालयका तीन/तीन बाहिनीका चार गरी १० वरिष्ठ उपरीक्षकको बढुवा र पदपूर्तिको अनुमति दिइएको छ । सात वरिष्ठ उपरीक्षकको सरुवा र एकलाई मिसनमा पठाइने भएको छ ।
त्यस्तै, सशस्त्रले गण र सिसुकामा कार्यरत चार उपरीक्षक तत्काल खाली हुने जनाउँदै पदपूर्तिका लागि अनुमति पाएको छ । उसले १४ उपरीक्षकको बढुवापछि रिक्त हुने पदपूर्ति गर्न र ४२ जनाको नियमित सरुवा गर्ने अनुमति पाएको छ । त्यस्तै, एक सय ५४ गुल्म प्रमुखहरूको रूपमा कार्यरत नायब उपरीक्षकहरूलाई पनि सरुवा, बढुवा, मिसन र तालिममा पठाउने भएको छ । जसमा १५ स्थान तत्काल खाली हुनेछन् भने बढुवापछि २९ पद रिक्त हुने भएको छ । बढुवापछि रिक्त हुने स्थानमा पदपूर्ति गर्न आयोगले अनुमति दिएको छ । ७२ जना नायब उपरीक्षकको सरुवा, २८ लाई युएन मिसन र १० जना लामो तालिममा रहने भएका छन् ।
त्यस्तै, बिओपीमा कार्यरत तीन सय ३१ निरीक्षकको सरुवा, बढुवा, मिसन र तालिममा पठाउन प्रक्रिया अघि बढाउन अनुमति दिएको छ । जयमा तत्काल २० र बढुवापछि ४९ जना निरीक्षकको रिक्त हुने पदपूर्तिका लागि छन् । एक सय ९२ जनाको सरुवा, ४८ जना युएन मिसनमा र २२ जनालाई लामो तालिममा पठाउने अनुमति आयोगले दिएको छ ।
त्यस्तै, चार सय ४६ जुनियर अधिकृतको पदपूर्ति र नौ हजार आठ सय ५३ जनाको सरुवाका लागि आयोगले अनुमति दिएको छ । जसमा सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक ३७, नायब निरीक्षक आठ सय २०, सह–निरीक्षक एक हजार ९४, वरिष्ठ हवल्दार १५ सय ६८, हवल्दार १८ सय ४२, सह–हवल्दार २२ सय २८ र जवान २७ सय ११ रहेका छन् । आयोगले नायब निरीक्षक १२, सह–निरीक्षक ३९, वरिष्ठ हवल्दार ५०, हवल्दार ५७, सह–हवल्दार ७३ र जवान दुई सय १६ जनाको पदपूर्ति गर्ने अनुमति दिएको छ ।
सशस्त्र प्रहरीले एकैपटक ठूलो संख्यामा सरुवा, बढुवा प्रक्रिया अघि बढाएपछि आयोगले त्यस विषयमा स्पष्टीकरण सोधेको थियो । तर, १७ असारमा आयोग कार्यालय पुगेका सशस्त्र प्रहरीका प्रमुख कोषराज वन्तले आयुक्त अयोधिप्रसाद यादवका साथै अन्य सदस्यसँग समेत भेटी सरुवा स्वीकृत गराएका थिए ।

प्रतिक्रिया