बाढीबाट मृत्यु हुने ७६ नाघे

एजेन्सी, तेहरान । इरानमा हालै आएको बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या ७६ पुगेको सरकारी अधिकारीहरूले बताएका छन् । गत मार्च १९ यता मुलुकका अरू धेरै भूभागमा खोजी र उद्धारको कार्य जारी नै रहेकाले जनधनको क्षति अझ बढ्न सक्ने बताइएको छ ।

पछिल्लो समय इरानका दक्षिणपश्चिम क्षेत्रका दुई वटा प्रान्त बाढीका कारण सबैभन्दा बढी प्रभावित भएका छन् । बाढीका कारण सुरुमा प्रायः सुक्खा भइरहने उत्तरपूर्वी इरानमा जनधनको क्षति भएको थियो । यहाँका गाउँ सहरबाट लाखौं मानिसलाई सुरक्षित स्थानमा सार्नु परेको थियो । अधिकारीहरूले इरानको पूर्वी क्षेत्रमा ठूलो वर्षा सहित बाढी आउने पूर्वानुमान गरेका छन् । बाढीले इरानमा घरहरू, सडकहरू, पूर्वाधार र कृषि क्षेत्रमा व्यापक नोक्सानी गरेको छ ।

‘चौध हजार किलोमिटरभन्दा बढी सडक क्षतिग्रस्त भएको छ,’ यातायात मन्त्री मोहम्मद इस्लामीले संसदमा बताएका छन् । इर्ना समाचार संस्थाका अनुसार मन्त्री इस्लामीले बाढीका कारण सातसय २५ वटा पुल पूर्णरूपमा क्षतिग्रस्त भएको जानकारी दिए ।

इरानी मौसम विज्ञान विभागका प्रमुख साहार ताजबख्सले दशकौँदेखिको सुक्खाका कारण मात्र बाढीले नोक्सान नगरेको स्पष्ट गर्दै जलवायु परिवर्तन र विश्वव्यापी तापमान वृद्धिले पनि समस्या निम्त्याएको बताए । इस्लामिक मुलुक इरानले छिमेकी मुलुकहरूबाट राहत र सहयोग लिएको थियो । फ्रान्सले गत शनिबार २ सय १० वटा टेन्ट र १ सय १४ वटा पम्प उपलब्ध गराएको छ ।

प्रतिक्रिया