निनाम कुलुङ ‘मंगले’
जनगणनामा जाँदा भन्दा सम्बन्धित जात, जाति, भाषाभाषी, धार्मिक समूह, महिला, तेस्रो लिंगी आदिका संघ–संस्थाहरूसँग समन्यय गरेर उनीहरूकै अगुवाहरूलाई जनगणनासम्बन्धी तालिम दिएर गणकको रूपमा खटाउँदा राम्रो हुने देखिन्छ । यसले सम्बन्धित जात, जाति, भाषाभाषी, धर्म लिंग आदिको सही तथ्यांक आउने संभावना पनि बढ्छ ।
नेपाल सरकारको मातहतमा रहेको केन्द्रीय तथ्यांक विभाग (केतवि) ले हरेक १०–१० वर्षमा देशको जनसंख्याको लगत लिने गरेको छ । जसलाई ‘राष्ट्रिय जनगणना’ भन्ने गरिन्छ । हालै आएको समाचाअनुसार केतविले विसं ०७८ को १२औं राष्ट्रिय जनगणनाका लागि सातै वटा प्रदेश र अन्तर–सम्बन्धित सरकारी निकायहरू र विभिन्न सरोकारवाला संघ–संस्थाहरूसँग छलफल र बहस चलाउन थालेको छ, जुन धेरै राम्रो कुरो हो । केतविले यस्तो छलफल र बहस विसं ०६८ को ‘राष्ट्रिय जनगणना’को सन्दर्भमा पनि आयोजना गरेको थियो ।
०६८ को ११औं राष्ट्रिय जनगणनालाई आधार मानेर केतविले सार्वजनिक गरेको पछिल्लो जनगणनाको नतिजाअनुसार नेपालको कुल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५ सय ४ जना रहेको छ । (हाल दुई करोड ९७ लाख चानचुन भइसकेको छ) त्यसमध्ये महिलाको जनसंख्या एक करोड ३६ लाख ४५ हजार ४ सय ६३ (५१ दशमलव ५० प्रतिशत) र पुरुषको जनसंख्या एक करोड २८ लाख ४९ हजार ०४१ (४८ दशमलव ५० प्रतिशत) रहेको थियो । त्यस्तै केतविले २०७८ को १२औं राष्ट्रिय जनगणनामा नेपालको जनसंख्या लगभग ३ करोडको हाराहारीमा पुग्ने अनुमान गरेको छ ।
भनिन्छ, ०६८ को राष्ट्रिय जनगणनाको नतिजा प्रकाशन र जातजाति एवम् भाषाभाषीको बढोत्तरीले नेपालमा जातजाति, भाषाभाषी, धर्म आदिको नाममा (खासगरी संख्याको राजनीति गर्नेहरू) अमेरिकी डलर, क्यानेडियन डलर, युरोपेली युनियनको युरो, बेलायती पाउन्ड, जापानी येन, स्वीस फ्रैन्क, भारु, चिनियाँं युआन, मलेसियन रिंगेट, साउदी रियाल, कुवेती दिनार आदि हजम गर्दै आएका केही आईएनजिओ÷एनजिओका हर्ताकर्ताहरूको भने टाउको दुखेको थियो, नीद हराम भएको थियो । केही आईएनजिओ÷एनजिओका हर्ताकर्ताहरूले यो कुरोको संकेत (जातजाति र भाषा बढ्ने) पहिले नै थाहा पाएकाले अनेक जालझेल र तिकडम गर्न खोजेका थिए ।
त्यसरी टाउको दुःखाउने र नीदहराम हुनेहरूमध्येमा कथित राई जातिको नाममा खुलेको र, समाज कल्याण परिषद् दर्ता नम्बर–२६५६ रहेको ‘राई यायोक्खा (किराँती जातिभित्रको बान्तावा जातिको भाषामा ‘यायोक्खा’ नाम रहेको र यायोक्खाको अर्थ भने यो पंक्तिकारलाई थाहा नभएको) नामक एनजिओ’का हर्ताकर्ता राई सर राईनी म्याडमहरू पनि थिए । अझ केही राई पत्रकारहरूको त मिसन नै थियो कि, सूचीकृत जातिका रूपमा रहेका ५९ जातिबाहेक अरु जातजाति २०६८ को ११औं राष्ट्रिय जनगणनामा अलग्गै जातिका रूपमा नआऊन् । उनीहरूको टाउको दुःखाइको मुख्य विषय भनेको हिजोसम्म जानेर वा नजानेर राई लेख्दै आएका किराँती महाजातिभित्रका कुलुङ, मेवाहाङ, बाहिङलगायतका १२ वटा अलग्गै जातिको रूपमा आए, उनीहरू अलग्गै जातिको रूपमा नआऊन् भन्ने नै थियो ।
कुलुङलगायत १२ वटा किराँँतीहरूलाई सकेसम्म राईमै गाभ्नका लागि ०६८ को राष्ट्रिय जनगणनासम्बन्धी समाचार लेख्ने क्रममा बान्तावा जातिलाई राईभित्रको भाषिक समूह भनेर किटेरै लेखेका थिए, कान्तिपुर दैनिकका पत्रकार गणेश राईले । तर, अचम्म के भने, कान्तिपुर दैनिकजस्तो पत्रिकाका सम्पादक वा भनौं समाचार प्रमुखले पनि उक्त समाचारलाई भेरीफाई नगरीकनै छाप्थे । गणेश राई त त्यो बेला राई यायोक्खा नामक एनजिओका केन्द्रीय सचिवसमेत भएकाले उनले कुलुङलगायत किराँतीहरूलाई राईकरणको घानमा पार्न खोज्नु अचम्म भएन ।
यसरी हेर्दा राई यायोक्खाका हर्ताकर्ताहरूको जोडबल के मा देखिन्थ्यो भने, ०५८ सालमा तत्कालीन श्री ५ को सरकारले सूचीकृत गरेको कथित ५९ आदिवासी जनजातिलाई मात्रै समेटेर केन्द्रीय तथ्यांक विभाग (केतवि) ले आफ्नो प्रतिवेदन प्रकाशित गरोस । तर, केतविले भने, एकसय २५ जातजाति र एकसय २३ भाषाभाषीको तथ्यांक बाहिर ल्याउँदै थियो । केतविले साँच्चै राई यायोक्खा नामक एनजिओकै कुरोलाई सदर गरेर ५९ जातजातिको मात्रै तथ्यांक सार्वजनिक गरेको भए ६६ वटा अन्य जातजातिहरू छुट्ने थिए । हुन त ०६८ को जनगणनामा आएको जातजाति र भाषाभाषीको तथ्यांकले कुलुङलगायत १२ वटा किराँती जातिहरू अन्य जातजाति र भाषाभाषीबारे थप अध्ययन–अनुसन्धान गर्नका लागि देशका भाषाशास्त्री, समाजशास्त्री, जातिशास्त्री, मानवशास्त्री र नृवंशशास्त्रीहरूका बाटो–पाटो खुलाएको छ ।
हुन त जातजाति, भाषाभाषी, धर्म आदिको संख्या बढ्ने क्रम ०५८ को जनगणनादेखि नै देखिन्छ । किनभने, विसं २०५८ मा भएको दशौंँ राष्ट्रिय जनगणनामा पनि जातजाति, भाषाभाषी र धर्मको संख्या बढेको थियो । जस्तो कि, ०४८ को नवौं जनगणनामा ६० वटा जातजाति मात्रै पहिचान भएको थियो भने ०५८ को जनगानामा जातजातिको संख्या बढेर १०३ भयो भने ९२ वटा भाषाहरू देखा परे । ०५८ को जनगणनादेखि जातजाति र भाषाभाषीको संख्या लगातार बढेको देखिन्छ । यसलाई सम्बन्धित जातजाति वा समुदायमा आएको चेतनाको परिणाम वा प्रतिफल हो भन्न सकिन्छ ।
०६८ को ११ औं जनगणनाको समग्र पक्ष हेर्दा आदिवावी जनजातिको जनसंख्या झन्डै दुई प्रतिशतले घट्नु, बौद्घ धर्मालम्बीको जनसंख्या लगभग एक प्रतिशतले घट्नु, हिन्दू धर्मालम्बीहरूको जनसंख्या पनि लगभग एक प्रतिशतले नै बढ्नु अनि क्रिश्चियनहरूको जनसंख्या भने अपेक्षित नबढ्नु आदिलाई जनगणना ०६८ को परिणामलाई अनपेक्षित मान्नुपर्ने हुन्छ । त्यस्तै, ०६८ को जनगणनामा भाषाभाषीको संख्या बढ्नुमा नेपाली भाषाको भाषिकाहरूलाई भाषाको मान्यता दिनु पनि हो भन्न सकिन्छ । जस्तै नयाँ भाषाको रूपमा आएको डोटेली, अछामेली, बैतडेली, बाजुरेली, बझाँगी आदि भनेर जसरी अलग्गै भाषाको रूपमा मान्यता वा पहिचान दिइयो, यसले ०५८ को जनगणनापछि नेपाली भाषा अल्पमतमा (पचास प्रतिशत भन्दा पनि कम) परेपछि राज्य पक्षले जानाजान यो कदम चालेको हो कि ? भनी आशंका गर्ने प्रशस्त ठाऊँ रहेको छ ।
यसरी हेर्दा नेपालका सबै जातजाति, भाषाभाषी, धर्म, वर्ग लिंगका मानिसहरूले आगामी ०७८ मा हुने राष्ट्रिय जनगणनादेखि जनगणनामा खपत हुने मानवस्रोत वा भनौँ गणक आ–आप्mनो जातीय, भाषिक, धार्मिक, लिंगीय, वर्गीय जन समुदाय वा जन समूहबाटै खटाउने व्यवस्था गर्नुपर्ने भनी नेपाल सरकारसँग माग राख्नुपर्ने देखिन्छ । यसो गर्न सकेको खण्डमा मात्रै आ–आप्mनो जातीय, भाषिक, धार्मिक, लिंगीय, वर्गीय जनसंख्याको सही तथ्यांक आउने देखिन्छ । यसका लागि आजैदेखि हामी सबैले आ–आप्mनो क्षेत्रबाट लाग्नुपर्ने देखिन्छ । बरु यसका लागि (गणकका रूपमा खपत हुने अस्थाई कर्मचारीका लागि) केतविले बेला छँदै नेपालका जातीय, भाषिक, धार्मिक, ंिलंगीय, वर्गीय समुदाय वा समूहका मानिसहरूलाई तालिमको व्यवस्था गर्नुपर्ने देखिन्छ ।
हुन त यो लेखको शीर्षक “जनगणना ०७८ : गणक को खटाउने ?” राख्नुको कारण के हो भने, ०७८ को १२औं राष्ट्रिय जनगणनामा विगतमा जस्तो शिक्षकहरू गणकको रूपमा नखटाएर प्लस टु वा सो भन्दा माथि पढेका÷पढ्दै गरेका विद्यार्थीहरू खटाउने कि ? भन्ने पनि छलफल बहसमा रहेको भन्ने सुन्नमा÷पढ्नमा आएको छ । तर, केतविले त्यसरी जनगणनामा जाँदा भन्दा सम्बन्धित जात, जाति, भाषाभाषी, धार्मिक समूह, महिला, तेस्रो लिंगी आदिका संघ–संस्थाहरूसँग समन्यय गरेर उनीहरूकै अगुवाहरूलाई जनगणना सम्बन्धी तालिम दिएर गणकको रूपमा खटाउँदा राम्रो हुने देखिन्छ । यसले सम्बन्धित जात, जाति, भाषाभाषी, धर्म लिंग आदिको सही तथ्यांक आउने सम्भावना पनि बढ्छ ।
यहाँ ०६८ को जनगणनामा थप भएका नयाँ किराँती जातिहरूको नाम र जनसंख्याको विवरण दिइएको छः
१, कुलुङ–२८,६१३ ।
२, नाछिरिङ–७,१५४ ।
३, याम्फु–६,९३३ ।
४, चाम्लिङ–६,६६८ ।
५, आठपहरिया–५९७७ ।
६, बान्तावा–४,९०४।
७, थुलुङ–३,५३५ । ,
८, मेवाहाङ–३,१०० ।
९, बायुङ–३,०९६ ।
१०, साम्पाङ–१,६८१ ।
११, खालिङ–१,५७१ ।
१२, लोहोरुङ–१,१५३ ।
स्रोतः केन्द्रीय तथ्यांक विभाग ०६८
प्रतिक्रिया