वातावरण प्रर्वधनकाे अपरिहार्यता

आज संसारका धेरैजसो देशमा विकासका कामहरू तीव्र रूपले सञ्चालन भइरहेका छन् । कलकारखाना तथा गाडीहरूको अत्याधिक प्रयोगले वायु, जल र ध्वनि प्रदूषण धेरै नै बढिरहेको छ । बढ्दो ध्वनि प्रदूषणको कारण मानसिक रोग तथा क्यान्सरजस्ता डरलाग्दा रोगहरू पनि बढिरहेका छन्

मावनजाति सँगसँगै रहेको हावापानी, बोटबिरुवा, जंगल र त्यहाँ बस्ने पशुपंक्षी सबै मिलीबनेको प्राकृतिक जीवनशैलीलाई वातावरण भनिन्छ । अर्काे शब्दमा भन्ने हो भने यस धरतीमा विद्यमान जल, स्थल, वायु, खनिजपदार्थ, जीव तथा वनस्पतिको समष्टिगत स्वरूप नै वातावरण हो । जीवनमा गहिरो प्रभाव पार्छ भने मानवजातिको कार्यकलापले पनि यसमा उत्तिकै प्रभाव पार्छ ।

वस्तुतः मानिस जन्मेदखि नै वातावरणसँग आबद्ध हुन्छ । उसको कामकाज, रहनसहन, रीतिरिवाज आदि जीवनको विभिन्न पक्षमा वातावरणले धेरै प्रभाव पारेको हुन्छ । यो कुरा केही उदाहरणद्वारा प्रष्ट हुन्छ । गाउँघरमा बस्ने मानिसहरूको रहनसहन सहरमा बस्ने मानिसहरूको भन्दा केही फरक हुन्छ । यसको मुख्य कारण गाउँ र सहरको वातावरणमा केही भिन्नता हुनाले हो । धेरै घाँसपात हुने ठाउँमा धेरेजसो व्यक्तिहरू पशुपालनमा अभ्यस्त हुन्छन् । तर, समुद्री तथा नदीका किनारमा बस्नेहरू माछा मार्ने काममा संलग्न हुन्छन् र पानीसँग नडराउने हुन्छन् ।

जंगलको छेउछाउमा बस्नेहरू रूख काट्ने र काठसम्बन्धी काम गर्छन् । उनीहरूको वासस्थान पनि धेरैजसो काठबाट बनेको देखिन्छ ।  तराईमा बस्ने मानिसहरू धेरै नुहाउने र पातलो लुगा लगाउने गर्छन् । उनीहरूको छालाको रंग कालो हुन्छ, तर हिमालीप्रदेशमा बस्ने मानिसहरू कम नुहाउने र बाक्लो लुगा लगाउने गर्छन् । उनीहरूमध्ये धेरैजसो गोटा हुन्छन् ।

तराई क्षेत्रमा धानको खेती धेरै गरिन्छ भने पहाडमा यस्तो खेती कमै हुन्छ । इलाममा प्रशस्त चिया खेती गरिन्छ । अन्य ठाउँमा यस्तो खेती कमै गरिन्छ । यी सबै वातावरणको कारणले भएको हो ।

आफ्नो ज्ञान, सीप र प्रविधिको प्रयोग गरेर वातावरणलाई बढो अनुकूल पार्ने प्रयत्न गर्छ । ऊ गर्मीमा पंखा र जाडोमा हिटर प्रयोग गर्छ । खेती गर्न आकाशे पानीले पुगेन भने ऊ नदीबाट कुला वा नहर ल्याएर पानीको पूर्ति गर्छ । आवागमनको सुविधाको लागि ऊ आवश्यकताअनुसार बाटोघाटो, पुल आदि बनाउँछ । यस्ता क्रियाकलापहरूबाट उसलाई केही फाइदा भएता पनि वातावरणमा नकारात्मक प्रभाव पार्छ । वास्तवमा मानिसमा भौतिक वातावरणको प्रभाव कुन हदसम्म पर्छ भन्ने कुरा उसको ज्ञान, सीप र प्रविधिको विकासमा पर्छ ।

केही दशकयता पृथ्वीको तापक्रम निकै वृद्धि भएको छ । यसको मुख्यकारण वातावरणमा धुवाँ फ्याक्ने उद्योगहरूको संख्यामा वृद्धि हुनाले हो । उद्योगहरूबाट निस्कने धुवाँको नियन्त्रणका लागि हालसम्म पनि ठोस प्रविधिको विकास हुन नसकेकोले संसारको धेरैजसो देशको वातावरण दिन प्रतिदिन दूषित भइरहेको छ ।

आज विश्वको उत्तरी गोलाद्र्ध मात्र दूषित नभई दक्षिण गोलाद्र्ध पनि दूषित भइरहेको छ । यसैले यी दुवै गोलाद्र्धको ओजन सतह पातलो भइरहेको छ । यसको मुख्य कारण क्लोरोफ्लोरोकार्बनको बढी प्रयोगले नै हो । भविष्यमा पनि क्लोरोफ्लोरोकार्वनको प्रयोगमा रोक लगाउन नसकेमा ओजनको सतह झन् पातलो हुनेछ र सम्पूर्ण मानवजातिको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्नेछ ।

आज विश्व दिन प्रतिदिन तातो हुँदैछ । यसरी तातो हुँदै गएमा समुद्रको सतहमाथि उठ्दै जानेछ र संसारका केही देशहरू पानीमा डुब्नेछन् । यदि यस्तो क्रम रोक्न सकिएन भने विकसित देशहरू मात्र होइनन् विकासोन्मुख तथा अति कम विकसित देशहरूमा समेत खतरा हुने कुरा निर्विवाद छ ।

तापक्रम वृद्धि हुँदै गएमा विश्वको एक मिटर हिउँ पग्लेपछि फिलिपिन्स र चिनका केही प्रान्तहरू पानीमा डुब्नेछन् । मालदिभ्स पनि संकटमा पर्नेछ । वातावरणले मानव जीवनका लागि आवश्यक स्रोतहरू उपलब्ध गराउने हुनाले वातावरण सम्पूर्ण प्राणीको घर हो । परन्तु प्राकृतिक स्रोतहरूको अत्याधिक प्रयोगले आज मानवजातिमा नै नकारात्मक प्रभाव परेको छ ।

वास्तवमा ओजन तहको विनाशको कारण सूर्यबाट अत्यधिक रूपमा आउने परावैजनी किरण पृथ्वीमा आउने र पृथ्वीबाट माथि फर्केर जान नसक्ने भएकोले विश्वव्यापी उष्णता, जलवायु परिवर्तन र मरुभूमिकरण जस्ता समस्या अत्यधिक मात्रामा विद्यमान छन् ।

आज संसारका धेरैजसो देशमा विकासका कामहरू तीव्र रूपले सञ्चालन भइरहेका छन् । कलकारखाना तथा गाडीहरूको अत्याधिक प्रयोगले वायु, जल र ध्वनि प्रदूषण धेरै नै बढिरहेको छ । बढ्दो ध्वनि प्रदूषणको कारण मानसिक रोग तथा क्यान्सरजस्ता डरलाग्दा रोगहरू पनि बढिरहेका छन् ।

विकसित राष्ट्रहरूले औद्योगिक क्रान्ति गरेर केही फाइदा त लिए । तर, विभिन्न किसिमका उद्योगहरूबाट निस्कने धुवाँधुलोको कारण वायुमण्डलमा हरित गृह ग्याँस उत्सर्जनको मात्रा बढ्यो । यसले गर्दा पृथ्वीमा जलवायु परिवर्तन हुन थाल्यो र दैवीप्रकोपको कारण धेरै जनधनको नोक्सान हुन थाल्यो । भविष्यमा यस्तो क्षति अझ बढ्ने सम्भावना छ ।

जनसंख्या वृद्धिको कारण जताततै र खास गरेर सहरी क्षेत्रमा फोहरमैलाको राम्ररी व्यवस्थापन गर्न सकिएको छैन । त्यसैले यहाँको वातावरण दिनप्रतिदिन दूषित भइरहेको छ । वास्तवमा सरकारले फोहरमैलाको प्रभावकारी व्यवस्थापनले गर्न र त्यसबाट जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ तथा स्वस्थ वातावरण कायम गर्नका लागि फोहरमैलासम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्न उपयुक्त भएकोले यहाँको ०६३ सालको अन्तरिम संविधानको धारा ८३ बमोजिम संविधान सभाले फोहरमैला व्यवस्थापन ऐन ०६८ पारित गरेको थियो भने संविधान ०७२ मा उल्लिखित मौलिक हकमा वातावरणसम्बन्धी हकको व्यवस्था गरिएको छ ।

उक्त संविधानको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको व्यवस्था गर्नुको साथै पीडित पक्षलाई वातावरण प्रदूषण वा ह्रासबाट क्षतिपूर्ति पाउने हकको समेत व्यवस्था गरिएको छ । तर अव्यवस्थित सहरीकरणको कारण प्रत्येक व्यक्तिको स्वच्छ वातावरणमा जिउने हकलाई सरकारले हालसम्म पनि कडाइका साथ कार्यान्वयन गर्न सकेको छैन ।

अव्यवस्थित सहरीकरणको कारण यहाँवायु प्रदूषण दिनप्रतिदिन बढिरहेको छ । हालसालै एक अन्तर्राष्ट्रिय संस्थाद्वारा प्रकाशित एक प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी मात्रामा वायु प्रदूषण हुने सहरहरूमा काठमाडौं पाँचौँ स्थानमा छ । विगतको कुनै पनि सरकारले वायु प्रदूषण कम गर्न कुनै ठोस काम गर्न नसक्नाले यस्तो अवस्था सिर्जना भएको हो ।

वस्तुतः वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रलाई पनि असर पार्छ । त्यसैले यहाँको वातावरण स्वच्छ राख्न दिगो विकासको अवधारणा, वातावरणीय प्रभाव मूल्यांकन, पूर्व सावधानी, सार्वजनिक न्यायलगायतका विषयहरूमा विशेष ध्यान दिन आवश्यक छ । योबाहेक आमसरोकारवाला एकजुट एवं जागरुक हुन पनि उत्तिकै जरुरी छ ।

प्रतिक्रिया