राजधानीका होटल दूषित

काठमाडौं : राजधानीमा सञ्चालित अधिकांश होटलका भान्सा दूषित रहेको भेटिएको छ । वाणिज्य विभाग र नागरिक न्यायिक उपभोक्ता मञ्चको संयुक्त टोलीले बुधबार गरेको अनुगमनमा यस्तो भेटिएको हो । टोलीले वागबजारस्थित विमला स्विट् एन्ड चार्ट हाउस, बज्रयोगिनी भोजनालय तथा खाजा घर र महिमा मम सेन्टरमा अनुगमन गरेको थियो । ती होटलमा अनुगमनको क्रममा दूषित भान्सा, किचन र भाँडा धुने ठाउँसँगै राखेको भेटिएको थियो ।
बज्रयोगिनी भोजनालयमा लेबल नभएको सस, खानेकुरामा मरेको साङ्लो, माझेका भाँडामा जुत्ता भेटिएको, मासु र अन्य सामान एउटै फ्रिजमा राखिएको अनुगमन टोलीले बताएको छ । मम सेन्टरको छाप, बिलसमेत नभएको र उपभोक्तालाई अस्वस्थ खाद्य खुवाउने गरेको भेटिएपछि छाप, बिल बनाई उपभोक्तालाई बिल दिन विभागले निर्देशनसमेत दिएको छ । विमला स्विट्सको यसअघि पनि अनुगमन गरिएको थियो । त्यतिखेरको गल्ती र अहिलेको एउटै भएको विभागका अनुगमन संयोजक मोहनचन्द्र जोशीले बताए । तीनवटै होटललाई सात दिनभित्र विभागमा आउन निर्देशन दिएको उनले बताए । चार्ट हाउसको किचन साँघुरो र भाँडा माझेको पानी पकाएको ठाउँमा आउने भएको भन्दै एक महिनाभित्र किचन बढाउनसमेत विभागले निर्देशन दिएको छ ।
होटलले उपभोक्ताको स्वस्थ्यमा प्रतिकूल असर पार्ने काम गरेको मञ्चका महासचिव प्रकाश सुवेदीले बताए । ‘पैसा तिरेपछि उपभोक्ताले स्वस्थ र सफा खान पाउनु पर्छ,’ उनले भने, ‘ती होटलमा खाएको खानाले स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएको छ ।’ बजार अनुगमनलाई तीव्रता दिइने र कारबाही गरिने विभागले जनाएको छ । (सौस)

प्रतिक्रिया