सरकारले घाइतेको उपचार गर्ने

काठमाडौं । ललितपुरको नख्खुमा शुक्रबार साँझ भएको बम विस्फोटमा परी एक जनाको मृत्यु भएको छ । विस्फोटमा परी घाइते भएका सिंहप्रसाद गुरुङको उपचारका क्रममा मृत्यु भएको हो ।

लमजुङका गुरुङ सिंगापुरका लाहुरे हुन् । भैँसेपाटीमा बसोबास रहेका उनी घटना हुँदा एनसेल कार्यालय नजिकै गाडी पार्किङ गर्दै थिए । गाडी पार्किङ गरेर बाटो काट्दै गर्दा उनी विस्फोटमा परेको आफन्तहरूले जनाएका छन् । गोर्खा राइफल्स (जिआर) नम्बर १४०४८ उनी पाँच वर्षअघि सिंगापुर प्रहरीबाट अवकाश पाएर स्वदेश फर्केका थिए । उनका दुई छोरी र एक छोरा रहेको आफन्तले जनाएका छन् । विस्फोटमा परी घाइते भएका प्रतीक्षा खड्का र आयुषा मानन्धरको उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको र शनिबार नै सामान्य वार्डमा सारिएको अस्पतालले जानकारी दिएको छ ।

यसैबीच, गृहमन्त्री रामबहादुर थापाले बम विस्फोटबाट घाइते भएकाको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने बताएका छन् । बम विस्फोटबाट घाइते भएका व्यक्तिको उपचार भइरहेको भँैसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेर उनले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकसँग आग्रह पनि गरे । गृहमन्त्री थापाले विस्फोटको घटना निकै दुःखद् भएको उल्लेख गर्दै घटनामा संलग्न दोषीलाई नियन्त्रणमा लिई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘विस्फोटका घटना देशव्यापी रूपमा घटाइएको छ, दोषीलाई कानुनको कठघरामा ल्याउँछौँ, अपराधिक घटना नियन्त्रणमा सरकारले कठोर कदम उठाउँछ ।’ विस्फोटमा परी मृत्यु भएका व्यक्तिप्रति समवेदना प्रकट गर्दै उनले मृतकका परिवारलाई सरकारका तर्फबाट उचित क्षतिपूर्ति उपलब्ध गराइने प्रतिबद्धतासमेत व्यक्त गरे । विस्फोटका घाइतेलाई भेट्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेत अस्पताल पुगेका थिए । सो अवसरमा घाइतेका आफन्तले दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग आग्रह गरेका थिए ।

प्रतिक्रिया