केराउ नियन्त्रण गरेको विरोधमा व्यापारीद्वारा प्रदर्शन

वीरगञ्ज । भारततर्फ लगिरहेको केराउ प्रहरीले नियन्त्रणमा लिएको बिरोधमा व्यापारीहरूले वीरगञ्जको तिलावे पुलमा बाटो नै अवरोध गरी बिहीबार प्रदर्शन गरेका छन् । पर्सा प्रहरीले प्रदर्शन गर्नेमाथि बल प्रयोग गर्दै आधी दर्जनलाई नियन्त्रणमासमेत लिएको छ ।

प्रहरीले बरामद गरेको केराउसहितको ट्रक छोड्न माग गर्दै व्यापारीले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरी सात जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा विन्ध्यवासिनी गाउँपालिका–४ का उत्तम तिवारी, शंकर पुकार तिवारी, सोनालाल साह, रवी गुप्ता, दामोदर तिवारी, संतोष गुप्ता रहेका छन् ।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टायर बालेर सडक अवरुद्ध गरेका व्यापारीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै उनीहरूलाई लछारपछार पनि गरेको थियो ।

वीरगञ्जको रामगढवाबाट ना ४ ख १२२ नम्बरको ट्रकमा २५ मेट्रिक टन केराउ लोड गरी तिलावे पुल हुँदै अमरपट्टी नाकाबाट भारततिर तस्करी गर्न लागेको भन्दै प्रहरीले उक्त केराउ सहितको ट्रक बुधबार राती तिलावे पुलबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा राखेको छ । केराउ सहितको ट्रक छुटाउन भन्दै प्रहरीलाई दबाब दिन तिलावे पुलमा केराउको कारोबार गर्दै आएका विन्ध्यवासिनी गाउँपालिका उत्तम तिवारी लगायतका व्यापारीले टायर बालेर प्रदर्शन गरेका थिए ।

तिलावे पुलमा प्रदर्शनको रिपोर्टिङ गर्न पुगेका पत्रकारलाई प्रहरीले कुटपिटसमेत गरेको छ भने कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न नेपाल पत्रकार महासंघ २४ घन्टे अल्टिमेटम दिएको छ । सडकमा प्रदर्शन गरिरहेका कारोबारीलाई प्रहरीले लाठी चार्ज गर्नुका साथै लछारपछार गरिरहेको दृश्यको तस्बिर खिच्ने क्रममा प्रहरीले पत्रकारलाई पनि दुव्र्यवहार गरेको हो । प्रहरीको लाठी चार्जबाट पर्सेली पत्रकार श्याम कुशवाहा, विकास साह, उमेश दुवे र दीपक चौरसिया सामान्य घाइते भएका छन् ।

भिडियो किन खिचेको भन्दै प्रहरीले अन्धाधुन्द लाठी चार्ज गरेपछि पत्रकारहरू घाइते भएका थिए । पत्रकारमाथि दुव्र्यवहार र कुटपिट गर्ने प्रहरी हवल्दार जयराम महत्तोलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघले पर्सा प्रहरीलाई २४ घन्टे अल्टिमेटम दिएको छ ।

घटनापछि जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जराको नेतृत्वमा पुगेको टोलीले प्रहरी नायव उपरीक्षक अनन्तराम शर्मालाई भेटेर घटनाका बारे जानकारी गराएका थिए । पत्रकारलाई दुव्र्यवहार र कुटपिट गर्ने प्रहरी हवल्दार महत्तोलाई शुक्रबार बिहान १० बजेसम्म पर्सा प्रहरीले कारबाही नगरेको खण्डमा शुक्रबार मध्याह्न १२ बजेदेखि जिल्ला प्रहरी कार्यालय अगाडि नै पर्साका पत्रकारले धर्नामा बस्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया