स्वर्गद्वारी एक, महिमा अनेक

पवित्र धार्मिकस्थल स्वर्गद्वारीको अझ प्रचारप्रसार र समरक्षणको खाँचो देखिन्छ । आश्रमको दाङलगायत तराईका बहुमूल्य उर्वर जमीनहरू हडप्ने तथा अतिक्रमणको कारण बाट आयश्रोत घटेकोले आश्रममा हुने गरेका कतिपय धार्मिक कार्यहरू सम्पन्न गर्न हम्मे–हम्मे परेको गुनासो पूजारीहरूबाट सुन्न सकिन्छ

प्युठान जिल्लामा अवस्थित स्वर्गद्वारी आश्रमको स्थापना बालतपस्वी महाप्रभु हंसानन्द गिरीबाट वि सं १९५२ मा भएको थियो । बाल ब्रह्मचारी महाप्रभुको जन्म पिता अनिरुद्ध गौतम र माता श्वेता कुमारीको कोखबाट वि सं १९१६ मा रोल्पाको रुम्टीमा भएको हो । वर्तमान रोल्पा जिल्लाको रुम्टी तथा सखीलेखको पर्वत गुफाहरूमा ध्यान एवं तपस्यालगायत विभिन्न चामत्कारिक लिलापश्चात् महाप्रभु स्वर्गद्वारी आउनुभएको ऐतिहासिक अभिलेख छ ।

स्वर्गद्वारी आएको पहिलो रात महाप्रभुले बांझको रुखमुनि वास बस्नु भएको थियो । जुन सांक्षीको रूपमा यज्ञमण्डपको दक्षिणतर्फ अहिलेसम्म खडा छ । उनै महाप्रभुको व्यक्तिगत प्रयासबाट संस्थापित स्वर्गद्वारी सनातन धर्मको अनुपम आश्रमहो । जनश्रुतिअनुसार यस तीर्थस्थल प्राचीन समयमा त्रीकालदर्शी वेदव्यासजस्ता महर्षिहरूको तपो तथा यज्ञ भूमिको रूपमा प्रयोग भएको पवित्र स्थल हो ।

पाँच पाण्डवले यसै ठाँउमा तपस्यागरी स्वर्ग प्रस्थान गरेको मात्रै नभएर ठुल्ठूला ऋषिमुनिजनहरूले समेत यही पुण्यभूमिमा तपस्या गरी स्र्वग प्रस्थान गर्ने भएकोले यस पवित्रस्थलको नाम स्वर्गद्वारी रहन गएको भनाइ छ । सत्ययुगमा प्रजापति ब्राह्मणले यसै भूमिमा यज्ञद्वारा शक्ति सञ्चय गरी सृष्टि गरेकोले यज्ञभूमिको रूपमा पनि परिचित छ ।

प्राचिन समयमा विकट तर मनोरम स्वर्गद्वारी शिखरलाई दिव्यताको खोजी गर्दै मानवजीवनको लक्ष्य प्राप्त गर्ने स्वपान भूमिको रूपमा परिणत भएको देखिन्छ । विश्वका हिन्दू धर्मावलम्बीहरूको प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारी आश्रम वैदिक सनातन धर्मको मूल खम्बा मियो हो । प्राकृतिक सम्पदाले शृंगारिएको पावन भूमि स्वर्गद्वारी आन्तरिक पर्यटन मात्र नभएर बाह्य पर्यटनको समेत प्रचुर सम्भावना बोकेको तीर्थस्थल हो । वनस्पति तथा जैविक विविधताको खानी पुग्दा स्वर्गद्वारी वास्तवमा स्वर्गीय आनन्दको अनुभूति गर्न सकिन्छ ।अनुपम स्वर्गद्वारी परिसर विभिन्न मन्दिर तथा कुण्डलगायत धार्मिक संस्कार संस्कृति एवं कलात्मक संरचनाबाट सुशोभित भएको पाइन्छ ।

आश्रमको अर्को आकर्षण अखण्ड महायज्ञको लागि यज्ञमण्डप वैदिक विधि अनुसार १०८ हात गोलाइको यज्ञकुण्ड निर्माण गरिएको छ । नौवटा गजुर भएको नौ मन्दिर बाहिरबाट देखिएता पनि भित्र पस्दा एउटै मन्दिरमा प्रवेश गरे जस्तो लाग्दछ । चार दिशामा चार पाञ्चायन तथा चार कुण्डसहितको मन्दिर आठ र मध्य भागमा मुख्य कुण्डको मूल मन्दिर शोभायमान छ ।

यसै भित्र अखण्ड महायज्ञको प्रारम्भ स्वर्गद्वारीमा वि सं १९५२ सालको वैशाखपूर्णिमाको दिन मन्त्रबाट अग्नि उत्पन्न गरी महाप्रभुको इच्छाअनुसार पण्डित टीकाराम गौतमले प्रारम्भ गरेको अभिलेखहरूमा उल्लेख छ । यस यज्ञमा आजसम्म निरन्तर आहुति हाल्ने काम भएको छ । यस्तो शयबर्ष भन्दा बढी निरन्तर अखण्ड रूपमा यज्ञ चलिराखेको विश्वमा आजसम्म अन्त पाइएको छैन । त्यस्तै, कुण्डको दियोमा बालिएको बत्ती पनि आजसम्म निभ्न नदिएको पुजारीबाट जानकारी भयो ।

गौमाताको स्याहार पूजा आजा तथा यज्ञमा आहुति हाल्न गाईको दूध ,घ्यू तथा लिपपोत सरसफाइका लागि गोवर एवं विभिन्न समयमा पूजाआजा समेत गर्न स्वर्गद्वारी आश्रममा उपलब्ध सिमित साधन र स्रोतको बाबजुद ३ सय ५० भन्दा बढी गाईको स्याहार सुसार र संरक्षण गर्नु व्यवस्थापनको आफैँमा अनुपम उदाहरण हो । आश्रम परिवेशमा शिवालय, गुफा मन्दिरको आग्नेय कोणमा शिवालय मन्दिर मा अविच्छिन्न रूपमा एकजना ब्राह्मण व्दारा नित्य पूजा रुद्राभिषेक हुने गर्दछ ।

स्वर्गद्वारीको यज्ञमा हुने मानवीय त्रुटिलाई सिद्धले पूर्ण गर्ने विश्वासका साथ पूजा गर्ने परम्परा कायम छ । आश्रमबाट १५ मिनेटको दूरीमा आकर्षक गुफा छ । जहाँ रुद्राभिषेकद्वारा पूजा अर्चना गर्नाले भक्तको अभिष्ट सिद्ध हुने विश्वास गरिन्छ । वैदिक विधि र धर्मसंस्कार संस्कृतिको जगेर्ना गर्दै शिक्षा प्रदान गर्ने पवित्र उद्देश्यका साथ वि सं १९५२ सालमा बालतपसी वेदविद्यालय स्थापना भएको र अहिलेसम्म १०० जना भन्दा बढी विद्यार्थीले माध्यमिक तहको निःशुल्क शिक्षा आश्रमको निजी व्यवस्थापनमा हाँसिल गर्ने अवसर प्राप्त गरेका छन। यसप्रकार स्वर्गव्दारी आश्रममा नित्य गरिने धार्मिक अनुष्ठान तथा त्यहाँक अवस्थित दैवी पिठहरूको मानव कल्याणका चमत्कारिक लिलालगायत घट्ना एवं महिमाको अनुभुति गर्न पनि दर्शनीय स्वर्गद्वारी आश्रमको भ्रमण अपरिहार्य हुन्छ ।

कसरी पुगिन्छ स्वर्गद्वारी

स्वर्गद्वारी दाङ र प्यूठान जिल्लाको सिमानामा पर्दछ । यहाँ पुग्ने विभिन्न बाटा तथा माध्यमहरू छन् । काठमाडौंबाट जान चाहने ले रोल्पाको लिवाङ जाने सार्वजनिक बस बाट प्यूठानको भृंङ्गीमा ओर्लनु पर्दछ । त्यहांबाट लगातार करिब ३ घण्टाको उकालो चढेपछि स्वर्गद्वारी पुगिन्छ । अर्थात् भृङ्गीबाट १३ किलो मिटर कच्ची मोटर बाटो निर्माण भएकोले मोटरबाट पनि जान सकिन्छ । प्यूठानको खलंगाबाट आउने बसबाट आधा घण्टाको सामान्य उकालो हिँडेपछि स्वर्गद्वारी पुग्न सकिन्छ ।

तर, अचेल एउटा बस मात्र दिनमा चल्ने व्यवस्था भएकोले बस भेट्ने गरी समय मिलाउनु पर्दछ । दाङतर्फको बाटो भएर स्वर्गद्वारी जान घोराहीबाट होलरी हुँदै स्वर्गद्वारी जाने बसमा चढी धरमपानीमा ओर्लन पर्छ र आधी घण्टाको प्राकृतिक मनोरम दृश्य हेर्दै उकालो चढेपछि आश्रम पुगिन्छ । दाङबाट पैदल जानेहरूले दाङको मसिनाबाट छरे खोलाको बाटो उकालो ओरालो पार गर्दै डाडागाऊँ, त्रिवेणी , टारा, बाक्सिङ भञ्ज्याङ आदि हुँदै दिनभरीको हिंडाइमा स्वर्गद्वारी पुगिन्छ । हेलिकप्टरबाट जानेहरूका लागि पनि आश्रममा हेलिप्याडको व्यवस्था गरिएको छ । आश्रमले तिर्थालुहरूको लागि बढीमा दुई रात बस्न र खानाको लागि सुपथ मूल्यमा व्यवस्था गरेको छ ।

पवित्र धार्मिकस्थल स्वर्गद्वारीको अझ प्रचारप्रसार र समरक्षणको खाँचो देखिन्छ । आश्रमको दाङलगायत तराईका बहुमूल्य उर्वर जमिनहरू हडप्ने तथा अतिक्रमणको कारणबाट आयश्रोत घटेकोले आश्रममा हुने गरेका कतिपय धार्मिक कार्यहरू सम्पन्न गर्न हम्मे–हम्मे परेको गुनासो पूजारीहरूबाट सुन्न सकिन्छ । आन्तरिक एवं बाह्य पर्यटनको आकर्षक गन्तव्य पुण्यभूमि स्वर्गद्वारीको विकास विस्तार एवं प्रवर्धन तथा समरक्षण र सम्बर्धन गर्न सरकारी, गैर सरकारी सामाजिक संघ–संस्थालगायत दानवीर धर्मात्माको सदभाव, सहयोग र सहकार्यको आवश्यकताको पर्खाइ टड्कारो देखिन्छ ।

प्रतिक्रिया