केन्याको एक होटलमा आतंककारी हमला

नैरोबी । केन्याको राजधानी नैरोबीमा रहेको एक होटलमा आतंककारीद्वारा आक्रमण भएको छ । रिभरसाइडमा रहेको पाँचतारे दुशित डी २ होटलमा सो आक्रमण भएको हो । प्रत्यक्षदर्शीका अनुसार स्थानीय समयअनुसार मंगलबार दिउँसो ३ बजे केही हतियारधारीहरू होटलमा प्रवेश गरेका थिए ।

उनीहरूका अनुसार कारहरू जलेर आएको धुवाँ जताततै फैलिएको छ । प्रहरी र एम्बुलेन्सले सो क्षेत्र घेरेको अवस्था रहेको जनाइएको छ । चारवटा लाससमेत त्यहाँ देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । सो क्षेत्रमा बन्दुक प्रहार गरिएको आवाज सुनिएको समेत जनाइएको छ । ‘मैले भर्खर बन्दुक प्रहार गरेको सुनेँ ।

त्यसपछि मानिसहरू हात उठाउँदै बाहिर कुदिरहेका थिए । उनीहरू मध्ये केही नजिकैको बैंकमा प्रवेश गरेका थिए’’ छिमेकमा काम गर्ने एक महिलाले रोयटर्सलाई बताएकी छन् । उनले दुई वटा विस्फोट सुनेको बताइन् । उक्त आक्रमणमा थुप्रै मानिस घाइते भएका छन् । सो होटलमा १०० वटा कोठा रहेको बताइएको छ । सोमालियाको चरमपन्थी समूह अल शबाबले हमलाको जिम्बेवारी लिएको छ ।

प्रतिक्रिया