कांग्रेस महासमिति बैठक र लोकतान्त्रिक प्रणाली जोगाउने प्रयास

नेपाली कांग्रेसको बहुप्रतिक्षित महासमिति बैठक राजधानीमा सुरु भई सम्पन्न हुने तरखरमा पुगेको छ । नेपाली कांग्रेसको विधानमा प्रत्येक वर्ष गर्नुपर्ने व्यवस्था भए पनि ५ वर्ष ८ महिनापछि महासमिति बैठक भएको हो । सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछिको यो पहिलो महासमिति बैठक हो । महासमितिलाई पार्टीको नीति–निर्माण गर्ने शक्तिशाली वैचारिक थलोको रूपमा लिइन्छ ।

नेपाली कांग्रेसको जीवन मध्यमार्गमा सुनिश्चित रहने हो । हिजो एउटा शक्तिका रूपमा राजदरबार थियो, एकातिर वामपन्थी कम्युनिस्ट र अर्कोतिर परम्परावादी शक्तिको बीचमा नेपाली कांग्रेस थियो । संवैधानिक राजसंस्थासहितको बहुदलीय प्रजातन्त्र र परम्परागत मूल्य मान्यता जोगाउँदै समृद्धि र अधिकारको पक्षमा उभिने भएकाले कांग्रेस स्वतः मध्यमार्गी शक्तिको रूपमा स्थापित थियो । कांग्रेसको यही वैचारिक मान्यताका कारण राजा र कम्युनिस्टसँग सन्तुलित व्यवहार गर्दै कांग्रेस अड्किएको थियो ।

तर, अहिले नेपाली कांग्रेस वामपन्थीहरूलाई पाखा लगाउँदै अगाडि बढ्ने सोचमा लागेको छ । गणेशमान सिंहको निधन भएको, कृष्णप्रसाद भट्टराई आफ्नै पार्टीभित्र कमजोर भएको र गिरिजाप्रसाद कोइरालाजस्ता आत्मकेन्द्रित नेता बलवान् भएको मौका छोपी कम्युनिस्टहरू कांग्रेसलाई आफ्नो एजेन्डा बोकाउन सफल भएका हुन् । त्यसपछि सुशील कोइराला र शेरबहादुर देउवा पनि वीपीको विचारमा कांग्रेसलाई उभ्याउन असफल रहेपछि देश कम्युनिस्टमय बन्न पुगेको छ ।

कांग्रेसमा युवा कि नयाँ अनुहार ? भन्नेहरू पनि छन्, तर युवाहरूको भन्दा नयाँ अनुहारको अपरिहार्यता खड्किएको छ । यतिवेला कांग्रेस पात र हाँगाविनाको ठुटे रुखजस्तो बन्न पुगेको छ । विचार, दर्शन कि सामूहिक मुद्दाअन्तर्गत कांग्रेस हिन्दू राष्ट्रको एजेन्डामा फर्कनु अनिवार्य छ । मजबुत संगठन कि मासवेस पार्टीको रूपमा जनआधारित दलको अभ्यास गर्दै आएको हो । कम्युनिस्टहरूको देखासिकी गरेर कांग्रेस आफ्नो लक्ष्य पूरा गर्न समर्थ हुने आशा गर्न सकिंदैन । कांग्रेस यतिवेला एउटा त्रुटि नै त्रुटिको संग्रहझैँ नबनी मौलिक विचार–दर्शनमा फर्कन सक्नुपर्दछ । नत्र महासमिति बैठक पनि हात्ती आयो फुस्सा उखानमा परिणत हुन सक्नेछ ।

नेपाली कांग्रेसको महासमिति बैठकले के निर्णय ग¥यो भन्दा ०७ साल असोज, बैरगनियाँ सम्मेलनले सशस्त्र क्रान्ति गर्ने निर्णय गर्यो भने ०९ सालमा विशालनगर सम्मेलनले राणा शासनपछि गठित अन्तरिम सरकारका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई पार्टीबाटै हटाउने निर्णय गरेको थियो । ०१० सालमा नेपालगञ्ज सम्मेलनले नेपाली मुद्रा प्रचलनमा ल्याउनुपर्ने, संसदीय निर्वाचन स्वीकार गर्ने र ०१५ सालमा महामन्त्री विश्वबन्धु थापा र डा.तुलसी गिरीलाई पदबाट हटाउने, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्यायलाई महामन्त्री बनाउने निर्णय गर्यो ।

०३४ साल असोजमा, पटना र भारतले सुवर्णशमशेर राणाले पार्टी सभापतिको जिम्मेवारी बिपी कोइरालालाई सुम्पने, तानाशाही पञ्चायतविरुद्ध प्रतिकार गर्ने, ०४६ सालको माघ महिनामा चाक्सीबारीले गणेशमान सिंहको नेतृत्वमा जनआन्दोलन गर्ने, ०४९ सालमा चितवनमा भएको सम्मेलनले सरकारको कामको समीक्षा र पार्टी विधानमा समसामयिक परिवर्तन गर्ने र ०५१ सालमा भएको पोखरा सम्मेलनले कास्कीले पहिलोपटक पाँच विकास क्षेत्रबाट एक–एकजना केन्द्रीय सदस्य निर्वाचित गर्ने व्यवस्था विधानमा समावेश गर्ने निर्णय गरेको थियो ।

०५४ सालमा नेपालगञ्जमा भएको तत्कालीन केन्द्रीय कार्यसमिति विघटन गरेर नयाँ कार्यसमिति बनाउने, तरुण दलको पुनः स्थापना गर्ने, भ्रष्टाचार गर्नेमाथि छानविन गरी कारवाही गर्ने, ०६४ साल असोज महिनामा भएको बिपीनगर गोष्ठीले संवैधानिक राजतन्त्र विधानबाटै हटाउने र गणतन्त्रमा जाने, नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) का बीच एकीकरण गर्ने, ०६६ सालमा कार्तिक, कमलादी, काठमाडौंले केन्द्रीय कार्यसमिति समावेशीसहित ८८ सदस्यीय बनाउने गरी विधानमा संशोधन गर्ने, पार्टी सामूहिक नेतृत्वमा चलाउने त्यस्तै, ०६९ सालको चैतमा, त्रिवेणीधाम, नवलपरासीले ७, ५ र ९ प्रदेशको विकल्प खोज्ने, संविधानसभाद्वारा संविधान बनाउने क्रममा लोकतान्त्रिक मूल्य–मान्यतामा अडिग रहने, मधेशी समुदायको मुद्दालाई सम्बोधन गर्ने निर्णय गर्यो ।

अंकगणितीय हिसाबले भन्ने हो भने कम्युनिस्ट पार्टीहरू एक भएको भए कांग्रेसलाई पहिल्यै हराउन सक्थे । ०१५ सालको निर्वाचनमा कांग्रेसले ३७ दशमलव २२ प्रतिशत मत प्राप्त गर्दा कम्युनिस्टले ७ दशमलव २ प्रतिशत पाएका थिए भने ०४८ सालमा कांग्रेसले ३७ दशमलव ७५ र कम्युनिस्ट ३४ दशमलव ६ प्रतिशत एवं ०५१ सालको निर्वाचनमा कांग्रेस र कम्युनिस्टले ३३ दशमलव ३३ प्रतिशत पाएका थिए । ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले ३३ प्रतिशत पाउँदा कम्युनस्टिले ४९ प्रतिशत पाएका थिए ।

०४८ सालपछि लगातार कम्युनिस्टको मत बढेको छ, मधेस र सहरी इलाकामा कांग्रेसको मतदर किन खस्कँदै छ ? आज के गर्ने, भोलि के गर्ने भन्नेतर्फ हाम्रो ध्यान किन जान सकेन ? नेपाली कांग्रेसका लागि अबको सबैभन्दा महत्वपूर्ण राष्ट्रिय जिम्मेवारी नै लोकतान्त्रिक प्रणालीलाई जोगाउनु हो । नेपाली समाजमा रहेको जातीय, भाषिक, र सांस्कृतिक विविधताभित्र एकता छ र एकताभित्रै विविधता छ । नेपाली कांग्रेसले जातजाति, आस्था, बासस्थान, वेशभूषा र आर्थिक हैसियतका आधारमा हुने सबै प्रकारको उँच–नीच र भेद्भाव समाप्त भएको परिकल्पना गर्नुपर्दछ ।

पूर्वीय दर्शन, विचार र परम्परामाथि कांग्रेसले विश्वास गर्नुपर्दछ । हाम्रो राष्ट्रिय पहिचान, स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डता कांग्रेसको स्वाभिमानको स्रोतको मार्गचित्र कोर्नै पर्दछ, त्यसैले, नेपाली कांग्रेस अब एक ढिक्का भएर नेपाली जनताको भावनामा ठेस् लाग्न नदिने गरी अगाडि बढ्न सक्नुपर्दछ । कांग्रेस खुला, सहज र पारदर्शी सदस्यता सहितको पार्टी बनेर अग्रसर हुनुपर्दछ ।

प्रतिक्रिया