‘यहाँ छ सरकार’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अब विकासको गति पक्रिएको बताएका छन् । उनले अब सबैले चाहेर पनि नचाहेर पनि सबैतिर सरकार देख्नुपर्ने अवस्था आउने ठोकुवा गरेका हुन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई देखिनँ भन्नेहरूका लागि यो गतिलो जवाफ भएको बताए । ‘कतिले भने– सरकार कहाँ छ देखिनँ’, प्रधानमन्त्री ओलीले भने, ‘सरकार खोज्नेहरूलाई सोध्न चाहन्छु अझै देख्नुभएन ?

अझै देख्नुभएन भने चस्मा लगाउनु वा त्यसमा पावर बढाउनुपर्दैन, देख्नुहुन्छ अब । तपाईंको बाध्यता हो देख्ने ।’ उनले पुनः भने, ‘मजदुरलाई सोध्नुस् सरकार कहाँ छ ? त्यहाँ तपार्इंले जवाफ पाउनुहुन्छ ।’ जता फर्कियो, त्यता सरकार देख्न थालेपछि विरोध गर्नेहरू आफैँ चुप लाग्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

केही दिन अघि नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दै सरकार नभएको जस्तो भनी टिप्पणी गरेपछि प्रधानमन्त्री ओलीले त्यसको पनि जवाफ दिएका हुन् । प्रधानमन्त्री ओलीले सरकारले सिन्का पनि भाँचेन भन्नेहरूप्रति कटाक्ष पनि गरे । ‘कतिले भने यो सरकारले सिन्का पनि भाँचेन, जुम्रा पनि मारेन ।

यो सरकार सिन्का भाँच्नका लागि होइन र जुम्रा मार्नका लागि पनि होइन । देशमा परिवर्तन ल्याउनका लागि हो, सरकारले गर्दै छ त्यो काम ।’ उनले केही दिनमा मेलम्ची आउने र त्यसले सरकार कहाँ छ भन्ने जवाफ दिने पनि बताए ।

सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा तामझाम बढी भएको भन्दै आलोचना भएको छ । तर, प्रधानमन्त्री ओलीले भने, ‘यो तामझाम मैले देखिनँ भन्नेहरूलाई देखाउन हो । थाहा पाउनु भनेर हो ।’

प्रधानमन्त्री ओलीले राष्ट्रपति–उपराष्ट्रपतिको पछिल्लो समय भएको आलोचनाप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्रपति, उपराष्ट्रपति जस्ता संस्था ‘विभत्स हत्याकाण्डका आकस्मिक उपज होइनन्’ भन्दै उनले आलोचकहरूलाई सभ्यताहीन र उच्छृखलको संज्ञा दिए ।

राजतन्त्र फर्काउन सकिन्छ कि भनेर गणतन्त्रका संस्थाहरूमाथि धावा बोल्न खोजिएको बताउँदै भने, ‘उनीहरूले बुझ्नुपर्ने हो । राष्ट्रपति, उपराष्ट्रपति जस्ता संस्था वीभत्स हत्याकाण्डका आकस्मिक उपज होइनन् । आफैँ सक्रिय नहुने सम्मानित संस्थाहरूमाथि लगातारको सभ्यताहीन आक्रमण विरोधीहरूको असहिष्णुताको उपज हो । चरम असहिष्णुता र राजनीतिक सभ्यताको अभाव हो ।’

विरोधका लागि विरोध गर्ने, हिंसात्मक विचार र व्यवहारको वकालत गर्ने उच्छृंखल तत्वहरू, राष्ट्रिय एकता कमजोर बनाउन तत्वहरूको क्रियाकलाप्रति सरकार सजग रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया