घाँटी रेटेर महिलाको हत्या

सल्यान । शारदा नगरपालिका–८ मार्केको सीमखर्कमा एक महिलाको घाँटी रेटेर हत्या भएको भेटिएको छ ।

५५ वर्षीया केवली सुनारको आफ्नै घरमा सुतिरहेको अवस्थामा बिहीबार राती धारिलो हतियार प्रयोग गरेर घाँटी रेटेर हत्या भएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

पतिको मृत्युपश्चात् मृतक सुनार लामो समयदेखि तीन छोराछोरीसँग भारतमा बस्दै आएकी स्थानीयले बताएका छन् । दसैँ मनाउन भनी चार दिनअघि मात्र उनी घर फर्किएकी थिइन् । घटना कसले र किन गराएको भन्नेबारे अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनास्थलमा सल्यान प्रहरी प्रमुख डिएसपीको नेतृत्वमा टोली अनुसन्धानमा खटिएको छ ।

हत्यारा पत्ता लगाउन घटनास्थलमा कोहलपुरबाट कुकुर ल्याएर प्रयोग गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हत्या गर्न प्रयोग गरिएको धारिलो हतियार (छुरी) सुनारको घाँटीमै भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकृत प्रहरी निरीक्षक गिरीराज भण्डारीले बताए । मृतकलाई पोस्ट मार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको र घटनाको थप विवरण आउन भने बाँकी रहेको छ ।

प्रतिक्रिया