जोखिममा साततले दरबार

देशकै मुख्य ऐतिहासिक सम्पदाको सूचीमा पर्छ, नुवाकोटको साततले दरबार क्षेत्र । विदुर नगरपालिका–२ मा पर्ने भूकम्पले भत्काएको यही सम्पदाको पुनर्निर्माणमा सरकारको चासो नपुग्दा यसको अस्तित्व नै मेटिने आशंका उब्जिएको छ ।  भूकम्पले भत्काएको ४१ महिनासम्म पनि सम्पदा पुनर्निर्माणमा सरकारको ध्यान नपुग्दा अलिअलि जोगिएका सम्पदाहरू पनि नाश हुन थालेका छन् ।

भूकम्पले नुवाकोट दरबार क्षेत्रको मुख्य आकर्षण मानिएको साततले दरबारलाई चिराचिरा बनाएर चर्काएको छ भने रंगमहल, गारद घर, भैरवी मन्दिर, तुलजा भवानीको मन्दिर, नारायण मन्दिर लगायतका सम्पदाहरू भत्काएका छन् । भूकम्पले भत्काएको वेलामा खासै क्षति नभएका संरचना पनि भूकम्पपछिका चार बर्खामा स्याहार्न नसक्दा भत्किँदै गएका विदुर नपा–२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले बताए ।

‘भूकम्पछि तत्काल नेपाल सरकारले चासो दिएर भएको सम्पदा जोगाउन मात्र ध्यान दिएको भए अहिलेको जति क्षति हुने थिएन,’ वडाध्यक्ष शाहीले भने, ‘भूकम्पले जीर्ण बनेको सम्पदालाई जोगाउन चासो नदिँदा वर्षात्को पानीले भत्कायो ।’ भूकम्पले माथिल्लो एक तला मात्र भत्किएको तुलजा भवानीको मन्दिर रहेको दरबार वर्षात्को पानीबाट जोगाउन नसक्दा पूरै भत्किएको छ ।

गतवर्ष साउनमा मन्दिरको उत्तरपट्टि पाखोको जगैसम्म भत्कियो । ‘तत्काल पुनर्निर्माण गर्न नसकेको भए पनि भूकम्पले भत्काएपछि मन्दिरभित्र वर्षात्को पानी मात्र रोक्न सकेको भए भत्किने थिएन,’ नुवाकोट सम्पदा मञ्चका अध्यक्ष पुष्कर शर्मा रिमालले भने ।

नुवाकोट दरबार क्षेत्रका ऐतिहासिक सम्पदाहरू भूकम्पले कम, सरकारको बेवास्ताका कारण बढी भत्किएको स्थानीय बासिन्दाको आरोप छ। भूकम्पले थोरै भत्काएका सम्पदाहरूलाई जोगाउन सरकारको वेलैमा ध्यान नपुग्दा बर्खाको पानीले भत्काउँदै माटोमै मिलाउन थालेको रिमालले बताए ।

भूकम्प गएको चार वर्ष पुग्न लाग्दा पनि नुवाकोटको पुरातात्विक महत्वको सम्पदा कहिले बन्छ भनेर कसैलाई थाहा छैन । वडाध्यक्ष शाहीले भने, ‘चीनले बनाइदिन्छ भन्ने सुनेका छौँ । पुरातत्व विभागका अधिकारीहरू आउँदा पनि चीनले बनाइदिन्छ भन्छन् । तर, कहिले बनाउन थाल्ने हो, उनीहरू नै थाहा नभएको बताउँछन् ।’

नुवाकोटका प्रमुख पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको पुनर्निर्माणले गति लिन नसक्दा अस्तित्व नै समाप्त हुने हो कि भन्ने भय सिर्जना भएको छ । भूकम्पपछिका चार बर्खा झेल्नुपर्दा सम्पदा संकटमा परेको हो । काष्ठकलामा अनुपम नमुना मानिएको दरबार र मन्दिरमा कुँदिएका कलात्मक टुँडालहरू कुहिइसकेका छन् ।

सयौँ वर्षअघि कुँदिएका यी काष्ठकलालाई जोगाएर भावी पुस्तालाई हस्तान्तरण गर्न नसके आउँदो पुस्ताले पक्कै धिक्कार्नेछ भन्छन्, स्थानीय इन्द्रबहादुर पण्डित। भूकम्पले माथिल्लो तला मात्र भत्काएको तुलजा भवानीको मन्दिर भत्किइसकेको छ । यस्तै, साततले दरबारको प्रांगणमा रहेको गारद घर पनि भूकम्पले माथिल्लो तला मात्र भत्काएको थियो।

बर्खामा जोगाउन नसक्दा गारद घरको अस्तित्व अब माटोमा मिल्न मात्र बाँकी छ । हाम्रा आफ्ना ऐतिहासिक सम्पदा हामी आफैँले पुनर्निर्माण गर्न नसक्ने भए विदेशीलाई दिने हो । विदेशीलाई दिने भनिए पनि वेलैमा सरकारले पहल गर्नुपथ्र्यो, तर त्यसो हुन सकेको छैन । भूकम्पले जीर्ण बनाएको साततले दरबार टेकोले धानेर अड्याइएको छ ।

लगातारको झरीका कारण दरबारको छानाका झिँगटी मात्र नभई माथिल्लो तलाका इँटाहरूसमेत खस्न थालेका छन् । चीन सरकारले बनाइदिने भने पनि कहिलेदेखि यसको काम सुरु हुने हो भन्ने थाहा नभएको पुरातत्व विभागको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुयालले बताए।

‘चीनले दसैँपछि पुनर्निर्माण थाल्ने भनेको जानकारी आएको छ । तर, दसैँपछि साँच्चै सुरुआत होला भन्ने यकिन जानकारी मलाई पनि छैन,’ उनले भने, ‘यहाँको अवस्थाको बारेमा पटकपटक विभागमा जानकारी गराएको छु ।

मेरो काम नै जानकारी गराउने र यहाँको भत्किँदै गएको सम्पदाहरू टुलुटुलु हेरेर बस्ने मात्र भएको छ ।’ चीनका प्रविधिज्ञहरूले गतवर्ष नुवाकोट दरबार क्षेत्रमा आएर एक सातासम्म सर्भे गरेका थिए । त्यो सर्भेपछि तत्काल दरबारको पुनर्निर्माण हुने आशा पलाएको थियो ।

भूकम्प गएको केही महिनापछि नै नुवाकोट दरबार क्षेत्रको पुनर्निर्माणमा चीनले सघाउने सार्वजनिक भएको थियो । यो समाचार पढेर दंग भएका स्थानीय बासिन्दा अहिले निराश बनेका छन्। ‘चाँडै दरबार क्षेत्र भूकम्पप्रतिरोधी संरचनाको रूपमा निर्माण हुने भो भनेर खुसी भएका थियौँ ।

तर अहिलेसम्म पुनर्निर्माणको चालचुल केही छैन,’ वडाध्यक्ष शाहीले भने । विदुर नगरपालिकाका उपप्रमुख गीता दाहालले सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण तथा संरक्षणका लागि जुनसुकै संस्था जिल्लामा भित्रिए पनि नगरपालिकासँग समन्वय हुन नसकेको दुःखेसो पोखिन् ।

दाहालले पुरातत्व विभाग र चीन सरकारले साततले दरबार तथा भैरवी मन्दिरको अवलोकन गरी पुनर्निर्माण गर्ने चासो देखाएको जानकारी आफूलाई भए पनि संस्थागत रूपमा कुनै जानकारी नभएको र दरबार क्षेत्रका पुनर्निर्माणको कुनै काम सुरु नभएको बताइन् ।

पृथ्वीनारायण शाहको पालामा निर्मित पुरातात्विक सम्पदा साततले दरबारलाई छिटोभन्दा छिटो पुरातत्व विभागसँग समन्वय गरी पुरानैशैलीमा पुनर्निर्माण गरिदिन स्थानीयवासीले आग्रह गरेका छन् । साततले दरबारभन्दा कैयौँ वर्ष पुराना तुलजा मन्दिर लगायतका सम्पदाको पनि तत्काल पुनर्निर्माण हुनुपर्ने उनीहरूको माग छ ।

नुवाकोट दरबार क्षेत्र वरपरको बस्तीलाई पुरातात्विक शैलीमा पुनर्निर्माण गर्ने अभियान नै चलाइएको छ । निजी आवाससमेत पुरातात्विक शैलीमा पुनर्निर्माण भइरहेका वेलामा आफ्नो ठाउँका सम्पदाहरू भने असरल्ल परेको स्थानीयवासी आनन्द श्रेष्ठले बताए ।

दरबार क्षेत्र वरपरका पाँच दर्जन घरहरू पुरातात्विक शैलीमा निर्माण भइरहेको सम्पदा गाउँका सदस्य ध्रुव थापाले बताए । ‘स्थानीयवासीले थप रकम लगानी गरेर सम्पदा क्षेत्रको स्वरूप झल्कने गरी घरहरू बनाइरहेका छन्,’ थापाले भने, ‘सरकारको बेवास्ताका कारण सम्पदा नै सकिने खतरा बढेको छ ।’

दरबार क्षेत्रका घरहरू सम्पदा शैलीमा पुनर्निर्माण गर्दा सरकारले दिने तीन लाख अनुदानमा थप ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराइनेछ । यस्ता घर निर्माण गरेका विदुर नगरपालिकाले पनि थप ४० हजार अनुदान दिने भएको छ । नुवाकोट दरबार क्षेत्र चीनले पुनर्निर्माण गरिदिने भने पनि भैरवी मन्दिर भने पुरातत्व विभागले नै पुनर्निर्माण गरिरहेको छ ।

जिल्लाको प्रमुख मन्दिर तथा प्रमुख मेला लाग्ने थलो भैरवी मन्दिरको पुनर्निर्माण पनि गत असारमै सकिने गरी ठेकेदारसँग सम्झौता भएको हो, तर पुनर्निर्माण अझै सकिएको छैन । भूकम्पले भत्काएको मन्दिरको पुनर्निर्माण ४ करोड ६० लाख लागतमा हुँदै छ ।

पुरातत्व विभागका सब–इन्जिनियर गोविन्द अधिकारीले भूकम्पलगत्तै झेल्नुपरेको नाकाबन्दी, आकार मिलेका काठ तथा प्राचीन शैलीका इँटा उपलब्ध गराउन असहजता र ठेकेदारको ढिलासुस्तीका कारण पनि दरबार र दरबार आसपासका मन्दिर निर्माणले गति लिन नसकेको बताए ।

अहिले पुरातत्व विभागले नुवाकोट क्षेत्रको इन्द्रायणी मन्दिर, बुढी देवता, सरस्वती मन्दिर, गणेशस्थानलगायत साना मन्दिरहरू पुनर्निर्माण गरिरहेको छ । नुवाकोट आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटकहरू एकपटक साततले दरबार क्षेत्रमा पुग्ने गरेका थिए ।

भूकम्पले दरबार क्षेत्र तहसनहस बनाएपछि पर्यटकको आगमन निकै घटेको छ । साततले दरबारलाई संग्रहालयमा रूपान्तरण गरी पर्यटकका लागि खुला गरिएपछि दरबारको सातौँ तलाबाट नुवाकोट र रसुवाका हिमाल, डाँडाकाँडा र फाँटहरू अवलोकन गर्न सकिन्थ्यो, तर अहिले दरबारमा प्रवेश रोकिएको छ ।

दरबार अवलोकनका लागि अहिले कोही पर्यटक नआउने गरेको साततले दरबार संग्रहालयकी कर्मचारी रोजिना श्रेष्ठले बताइन् ।  भूकम्पअघि दरबार अवलोकन गर्न मात्रै वर्षमा २० हजारभन्दा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्थे । त्यसमा कतिपय रसुवाको लाङटाङ क्षेत्रमा घुमेर आउने विदेशी पर्यटक हुन्थे ।

प्रतिक्रिया