कांग्रेस/एमाले सहितका १९ दल सडकमा

काठमाडौं, १९ जेठ । कांग्रेस/एमाले सहित १९ राजनीतिक दलहरुले कुनै परामर्श नगरी एकलौटीरुपमा निर्वाचनको घोषणा गर्नु संविधान र राजनीतिक दलहरुका बीच भएको सहमति विरुद्ध रहेको निर्णय गरेका छन् ।
एमाले पार्टी मुख्यालय बल्खुमा आज बसेको कांग्रेस/एमाले सहितका १९ दलको बैठकले एमाओवादीले राष्ट्रिय राजनीतिलाई सहमतिको मार्गबाट द्वन्द्व र मुठभेडको कुमार्गतर्फ धकेलेको आरोप लगाएको छ ।
‘पूर्णरुपले बेवास्ता गर्दै सर्वसत्तावादी सोंच र शैलीका साथ अनेकौं छलकपटमा रहेको यस सरकारका विरुद्ध निरंकुशता र सत्ताकब्जा रोकी लोकतन्त्रको रक्षा गर्न देशव्यापीरुपमा शान्तिपूर्ण संघर्षमा उत्रिन आम जनमुदायमा आव्हान गर्छौ,’ विज्ञप्तीमा भनिएको छ ।
उनीहरुले लोकतन्त्रको रक्षा र नयाँ संविधानसभाका लागि संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेका छन् । यसै सिलसिलामा जेठ–२६ गते काठमाडौंको खुलामञ्चमा विशाल विरोधसभा राखेको बैठक पछि जारी विज्ञप्तीमा उल्लेख छ ।
विभिन्न विकल्पहरु हुँदाहुँदै प्रधानमन्त्री बाबुराम भट्टराईले सत्ताकब्जाको गलत मनसाय एवम् संविधान, कानून, प्रक्रिया र सहमतिको राजनीति विपरित स्वेच्छाचारी किसिमले संविधानसभाको निर्वाचन घोषणा गरेको आरोप उनीहरुले लगाएका छन् ।
कांग्रेस/एमाले लगायतका १९ दलले तत्काल मुलुकमा यथास्थितिमा निर्वाचन हुने कुनै सम्भावना नरहेको जनाएका छन् ।
संवैधानिक प्रावधानलाई समेत ध्यान दिदै वर्तमान सरकारलाई हटाउनु पर्ने भन्दै दलहरुले राष्ट्रिय सहमतिको सरकार गठन गरी देशमा उत्पन्न संवैधानिक र राजनीतिक समस्यालाई सहमतिका साथ समाधान गर्नुपर्ने समेत जनाएका छन् ।

 

 
संयुक्त वक्तव्य
नेकपा (एमाले) केन्द्रीय कार्यालय, मदननगर बल्खुमा आज बसेको विभिन्न १९ राजनीतिक दलहरुको बैठकले संविधान घोषणा नगरी संविधानसभाको विघटन र निर्वाचनको घोषणापश्चात् उत्पन्न राजनीतिक स्थितिको गम्भीररुपमा समीक्षा ग¥यो । संविधानसभामा भएका महत्वपूर्ण कामहरुलाई सुरक्षित राख्दै राजनीतिक सहमतिको आधारमा संवैधानिक रिक्तता र राजनीतिक संकट आउन नदिई अगाडि बढ्न सकिने विभिन्न विकल्पहरु हुँदाहुँदै प्रधानमन्त्रीले सत्ताकब्जाको गलत मनसाय एवम् संविधान, कानून, प्रक्रिया र सहमतिको राजनीति विपरित स्वेच्छाचारी किसिमले गर्नुभएको संविधानसभाको निर्वाचन हुनसक्ने अवस्था नै छैन । राजनीतिक दलहरुसँग कुनै परामर्श नगरी तथा संविधानसभाका अध्यक्ष एवम् राजनीतिक दलहरुले संविधानसभामा भएका उपलब्धिहरुको रक्षा गर्दै देशलाई रिक्ततामा जान नदिन गरेको प्रस्तावलाई समेत अस्वीकार गरी एकलौटीरुपमा निर्वाचनको घोषणा गर्नु संविधान र राजनीतिक दलहरुका बीच भएका सहमतिको विरुद्ध रहेको छ र यसले राष्ट्रिय राजनीतिलाई सहमतिको मार्गबाट द्वन्द्व र मुठभेडको कुमार्गतर्फ धकेलेको छ । निर्वाचनको लागि आवश्यक संवैधानिक व्यवस्था तथा कानूनीलगायतका व्यवस्थापन पक्षप्रति पनि पूर्ण बेवास्ता गर्दै संविधानसभाको निर्वाचन घोषणामार्फत सत्तामा टाँसिरहने चालबाजी गरिएको छ । यसबाट विभिन्न आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम, थारु, अल्पसंख्यक, पछि पारिएका वर्ग, क्षेत्र र समुदायको संविधानसभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी गरी आफ्नो हक–अधिकार सुरक्षित गर्ने आकांक्षामाथि तुषरापात भएको छ । प्रधानमन्त्री र एनेकपा (माओवादी) को नेतृत्वबाट भएको यस्तो गैरजिम्मेवार निर्णयको हामीले भत्र्सना गरिसकेका छौं ।
प्रधानमन्त्री केबल कामचलाउ अवस्थामा रहेको तथ्य स्पष्ट भइसकेको अवस्थामा देशलाई अझ संकटतर्फ नधकेल्न राष्ट्रिय सहमतिका साथ सरकार संचालन गर्नुपर्ने संवैधानिक प्रावधानलाई समेत ध्यान दिदै वर्तमान सरकारलाई हटाई अन्तरिम सरकारको मर्म र भावनाअनुरुप नयाँ राष्ट्रिय सहमतिको सरकार गठन गरी देशमा उत्पन्न संवैधानिक र राजनीतिक समस्यालाई राजनीतिक सहमतिका साथ समाधान गर्नुपर्छ । संविधान तथा राजनीतिक दलहरुका बीच विगतमा भएका सहमतिहरुअनुरुप राष्ट्रिय सहमतिको आधारमा मात्र राजनीतिक गतिरोधको अन्त्य गरी देशलाई निकास दिन सकिने कुरा स्पष्ट छ । यसतर्फ पूर्णरुपले बेवास्ता गर्दै सर्वसत्तावादी सोंच र शैलीका साथ अनेकौं छलकपटमा रहेको यस सरकारका विरुद्ध हामी निरंकुशता र सत्ताकब्जा रोकी लोकतन्त्रको रक्षा गर्न, नयाँ संविधान निमार्णको संवैधानिक निकास दिन र राष्ट्रिय राजनीतिलाई सहमतिको दिशामा फर्काउने गरी अघि बढ्न देशव्यापीरुपमा शान्तिपूर्ण संघर्षमा उत्रिन आम जनमुदायमा हामी हार्दिक आव्हान गर्दछौं । यसै सिलसिलामा यही जेठ २६ गते काठमाडौं खुलामञ्चमा हुने विशाल विरोधसभामा सहभागी हुन सम्पूर्ण जनसमुदायमा हार्दिक अनुरोध गर्दछौं ।
संघर्षका अन्य कार्यक्रमहरु क्रमिकरुपमा अगाडि सार्न सहमत भएका छौं ।

 

क्र.सं. राजनीतिक पार्टी नाम पद हस्ताक्षर
१ नेपाली काँग्रेस सुशील कोइराला सभापति

२ नेकपा (एमाले) झलनाथ खनाल अध्यक्ष
३ राष्ट्रिय जनशक्ति पार्टी सूर्यबहादुर थापा अध्यक्ष

४ राष्ट्रिय प्रजातन्त्र पार्टी पशुपतिशम्शेर ज.ब.रा अध्यक्ष

५. नेकपा (माले) सी.पी. मैनाली महासचिव
६ जनमोर्चा, नेपाल साध्यबहादुर भण्डारी महासचिव

७. चुरेभावर राष्ट्रिय पार्टी केशव प्रसाद मैनाली अध्यक्ष
८ समाजवादी जनता पार्टी हिक्मतबहादुर देउवा प्रवक्ता

१० नेपाल सद्भावना पार्टी (आनन्दी देवी) देवेन्द्र मिश्र अध्यक्ष
११ राष्ट्रिय जनवादी मोर्चा नेपाल कुलबहादुर मोक्तान महासचिव
१२ नेपाल लोकतान्त्रिक समाजवादी उपेन्द्र गच्छदार अध्यक्ष
१३ नेकपा (संयुक्त माक्र्सवादी) लोकनारायण सुवेदी अध्यक्ष
१४ संयुक्त जनमोर्चा नेपाल डा. भरत लामिछाने अध्यक्ष
१५ नेकपा (एकीकृत क्रान्तिकारी) हिमलाल पुरी प्रवक्ता
१६ नेकपा (माक्र्सवादी) माधव ज्ञवाली अध्यक्ष
१७ नेकपा (माले जनसमाजवादी) विष्णुराज अर्याल अध्यक्ष
१८ नेपाल सुकुम्वासी पार्टी (लोकतान्त्रिक) हुकुम बहादुर लामा अध्यक्ष
१९ चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल भूमिराज निरौला महासचिव

१९जेठ २०६९

प्रतिक्रिया