यस्तो हुनुपर्छ अबको विकास पत्रकारिता

विकास पत्रकारिता भनेको फगत पुल शिलान्यास, बाटो उद्घाटन, मन्दिर निर्माण मात्र होइन । यी भौतिक सामग्री निर्माणका लागि सरकारले बनाएको हरेक वर्षको योजना र नीति पनि विकास पत्रकारिताको दायरामा पर्छ ।

फणिन्द्र फुयाल ज्वाला
हिजोआज विकासका नाममा चिल्ला सडक बनाउने, वन विनास गर्ने, कंक्रिटका भवन बनाउने, चाहिनेभन्दा बढी मात्रामा यातायातका साधन उत्पादन गर्ने र तिनको धूवाँ, धूलो र कार्बनडाइअक्साइड मानव जातिले फोक्सोमा हुल्ने कार्य भइरहेको छ । विज्ञान र विकासका नाममा एटम बम, आणविक भट्टी र अत्याधुनिक हतियार बनाउने होडबाजी संसारमा चलिरहेको छ । ध्वंसको यस्तो क्रियाकलापलाई विकास भन्नै मिल्दैन ।

विश्वका तेस्रो दर्जाका भनिएका (अल्पविकसित) मुलुकहरू कथित विकसिक मुलुकहरूका लागि समस्याका विषय बन्दै गएका छन् (उनीहरूको भाषामा) । अल्पविकसित मुलुकले वन, जंगल, जडिबुटी, जल, हिमालय, विश्वबाटै लोप हुँदै गएका जनावर, किरामिरा आदि नजोगाइदिने हो भने विकसित भनिएका मुलुकका मानिसहरू एक वर्ष त के एक महिना पनि धर्तिमा टिक्न सक्दैनन् ।

त्यसैले विकास भनेको भौतिक वस्तु मात्र होइन । यो त स्वच्छ हावा हो, पानी हो । विकास भनेको धर्तिका सबै जीवहरूको जिउन पाउने अधिकार पनि हो । विकासका नाममा क्लोरोफ्लोरोकार्बनडाइअक्साइडलगायत घातक तथा विषाक्त ग्यास र विकिरणहरू उत्पादन गरेर सेता हिमाल पगाल्न, जीवहरूको नाश गर्न हामी कसैलाई पनि छुट छैन । अबको विकास पत्रकारिताले यस्ता एजेन्डाहरूको उठान गर्नुपर्छ जसले मानव जातिको मात्र नभई समग्र ब्रह्माण्डको र यस ब्रह्माण्डमा बसोबास गर्ने सबै जीवहरूको रक्षा गर्न सकोस्, भलो गर्न सकोस् ।

यस पृथ्वीमा पानीको भागभन्दा माटोको भाग न्यून छ । तर पनि धर्तिमा बसोबास गर्ने जीवहरूका लागि पानीको हाहाकार मच्चिन थालेको छ । अफ्रिका मात्र होइन कतिपय युरोपेली, अमेरिकी, र एसियाली मुलुकमा पनि पानीको चरम समस्या छ । नेपालको पनि सहरी क्षेत्रमा पिउने पानीको समस्या ज्वलन्त छ भने देशका विभिन्न ग्रामिण भेगमा खाने पानी, सिँचाइका लागि चाहिने पानीको अभाव नै छ ।

पानीका मुहानहरू विस्तारै सुक्दै जान थालेका छन् भने जमिन मुनिको पानी पनि काठमाडौं उपत्यका लगायतका सहरी क्षेत्रमा सुक्दै जान थालेको विभिन्न खोज तथा अनुसन्धानहरूले देखाएका छन् । यी सबै समस्या देखा पार्नुमा मानव जातिको सुखी र आनन्दिपनाको जीवनशैली भोग्न चाहनुको परिणाम हो । विकासको नाममा सहरीया खानपान र जीवनशैलीले मानिसको स्वास्थ्यमा प्रतिकूल समस्या देखापर्न थालेको छ ।

विकास पत्रकारिता भनेको फगत पुल शिलान्यास, बाटो उद्घाटन, मन्दिर निर्माण मात्र होइन । यी भौतिक सामग्री निर्माणका लागि सरकारले बनाएको हरेक वर्षको योजना र नीति पनि विकास पत्रकारिताको दायरामा पर्छ । विकास पत्रकारिताले सरकारले हरेक क्षेत्रमा छुट्याएको बजेट कति सदुपयोग भयो र बजेट सिध्याउने नाममा कति बजेट टालटुले काममा खर्च ग¥यो ? त्यसका बारेमा खोजिनीति गरेर खबरदारी गर्न सक्नुपर्छ । विकास पत्रकारिता सुशासनसँग जोडिनै पर्छ ।

जसरी विकास भन्ने शब्द गहन, फराकिलो र भेग छ विकास पत्रकारिता पनि त्यस्तै, छ । पञ्चायतकालको विकासको कुरा गर्ने हो भने त्यतिवेला राजा वीरेन्द्र देशका विभिन्न स्थानमा भ्रमण गर्न हवाईजहाज चढेर जान्थे । उनी मुगु, मन्थली, डोल्पा, हुम्ला लगायतका जिल्लाको भ्रमण गर्दा सरकारी कर्मचारीले विकासको नमुना देखाउन र राजाको अगाडि यहाँ विकास भएको छ भन्ने भान पार्न नजिकैका खेतमा रातारात साग र टिप्ने वेला भएका काउलीका बोट गाडेका हुन्थे । त्यो ‘कस्मेटिक कृषि’ देखेर राजा पनि मख्ख पर्थे र नेपाल कृषि प्रधान देश भएको र यो कुरा प्रमाणित भएकोमा खुसी हुँदै राजदरबार फर्किन्थे ।
राजा राजधानी फर्किएपछि उनको भ्रमणका बारेमा सरकारी सञ्चारमाध्यममा सामाचार, तस्बिर छापिन्थे । यस्तो विकास र विकास पत्रकारिता देखेर राजा खुसीले गद्गद् हुन्थे । यसैगरी, दशकौँ बिते ।

यथार्थ, एउटा र धरातल अर्कै भएपछि विकासको मूल फुट्न सकेन । त्यतिवेलाको पत्रकारिता पनि फलानोले यसो भन्नुभो, उसो गर्नुभो, … आदिमै सीमित भयो । विकास पत्रकारिताको अर्थ जानिए बुझिए पनि यसको अभ्यास नै बसेन उ वेला । विकास पत्रकारितका लागि गोरखापत्रले तत्कालिन संवाददता किशोर नेपाललाई देशका विभिन्न स्थानका ग्रामिण इलाकामा गएर समाचार संकलन गर्न खटाउनुलाई भने प्रशंसनीय कार्य मान्नुपर्छ ।

हिजोका दिनमा देशको पत्रकारिता क्षेत्रमा दक्ष जनशक्तिको अभाव थियो । पत्रकारिता बारे ज्ञानको कमी थियो । पत्रकारिताका कलेजहरू आजका जस्ता छ्याछ्याप्ती थिएनन् र आजका जस्ता तालिम केन्द्रहरू पनि जताततै थिएनन् । त्यही भएर पनि विकास पत्रकारिताले उत्तिसारो विकास हुन पाएन, फड्को मार्न सकेन । ज्ञानको कमिले गर्दा पनि यसको दायरा फराकिलो हुन सकेन ।

तर, आज न्यु मिडिया र सोसल मिडियाले गर्दा हरेक नागरिक पत्रकार बनिरहेका छन् । उनीहरू विकासका नाममा भएका र हुने गरेका हरेक गतिविधिहरू स्वयं अध्ययन, अनुसन्धान र अनुगमन गरी सञ्चारमाध्यमहरूलाई समाचार कन्टेन्टहरू उत्पादन मात्र गरिरहेका छैनन्, आफैँ पनि ति विषयका बारेमा आलेख, समाचार तथा विचारहरू लेखेर पोष्ट गर्ने र सञ्चारमाध्यमलाई उपलब्ध गराउने समेत गरिरहेका छन् ।

अबको विकास पत्रकारिताले सडक बन्यो मात्र होइन उक्त सडक बनाउँदा कति वटा रूख कटान भए ? बिजुलीका तार टाँगिए मात्र होइन त्यसले कति घरलाई लाभान्वित ग¥र्यो ? सरकारले यति खर्बको बजेट भाषण ग¥र्यो मात्र होइन बजेटमा लोपोन्मुख, अल्पसंख्यक जातजाति, महिला, बालबालिका, टुहुरा, तथा विधुवाहरूलाई के कस्तो अवसर, व्यवस्था र सुविधी दिने नीति तथा कार्यक्रम ल्यायो ? यो प्रमुख सरोकार हुनुपर्छ ।

त्यसैले विकास पत्रकारिताको दायरा निकै फराकिलो बन्दै गएको आजको यस सन्दर्भमा कम्तिमा पनि नेपाल सरकारको स्वामित्वमा रहेका चार सञ्चारमाध्यमहरू गोरखापत्र, रेडियो नेपाल, रासस र नेपाल नेपाल टेलिभिजनले यस खालका समस्या र समाचारलाई प्रमुखताका साथ स्थान दिएर अन्य सञ्चारगृहलाई पनि यसतर्फ लाग्न अभिप्रेरित गर्नुपर्छ ।

प्रतिक्रिया