बिहे नगरी सन्तान जन्माउन सकिन्न र ?

’महाभारतले दिएको एउटा सन्देश हो विशेष परिस्थितिमा महिलाले सन्तान जन्माउन श्रीमानको आवश्यक पर्दैन । धृतराष्ट्र, र पाण्डु एकल महिलाका सन्तान हुन् । कुन्तीले पनि विशेष परिस्थितिका कारण आफ्ना पाँच पुत्र (पाण्डव) को जन्म आफ्ना श्रीमान पाण्डुबाट दिएकी होइनन् । श्रीमद्भागवत गीतामा पनि अर्जुनको जिज्ञासामा श्रीकृष्णले एकल महिलाबाट हुने सन्तानको जन्मलाई स्वभाविक मानेका छन्’

-अञ्जु कार्की गर्भपतनले सर्त सहित कानुनी मान्यता पाएको केही वर्ष वितेको छ । तर कानुनी मन्यता दिलाउनका लागि मुलुकको प्रबुद्ध वर्गले झेल्नुपरेको सास्ती सानो छैन । करिब दुई दशकको प्रयासपछि यसले सार्थकता पाएको हो । करिब दुई दशकअघि नेपाल परिवार नियोजन संघले आफ्नो केन्द्रीय कार्यालय पुल्चोकमा सांसदहरूलाई बोलाएर यस विषयमा छलफल अघि बढाएको थियो ।

छलफलको प्रारम्भ गर्दै जनसंख्या विद् एवं अधिकार कर्मीहरूले परिवार नियोजनको सेवा प्रवाह घर घरसम्म पुर्याउँदा पनि नेपालमा जनसंख्याको वृद्धिदर नरोकिएको, इच्छाविपरीत रहन गएको गर्भपतन गराउन हुने खानेहरू भारत जाने गरेको तर नसक्नेहरूले ठूलो सास्ती बेहोर्नुपरेको आँकडा पेस गरेका थिए ।

साथै, अधिकार कर्मीहरूले गर्भधारण गर्ने या नगर्ने ? र गर्भ रहिहाल्यो भने त्यसलाई जन्म दिने वा नदिने भन्ने अधिकार महिलाको मौलिक तथा शारीरिक अधिकार भएको धारणा प्रस्तुत गरेका थिए । स्वास्थ्यकर्मीहरूले अपांग बच्चा जन्मन सक्ने अवस्थामा गर्भपतन जरूरी रहेको धारणा राखेका थिए । छलफलको सुरूमै आएका यी धारणाका बाबजुद सहभागी सांसदहरूबीच भने यस विषयमा ठूलै विवाद थियो ।

मानौँ उक्त कार्यक्रम निष्कर्ष निकाल्नका लागि गरिएको छलफल नभएर वादविवाद प्रतियोगिता हो । प्राय सबैजसो पुरूष सांसदहरूले तर्क राखे– गर्भपतनलाई कानुनी मान्यता दिइयो भने कुमारी आमाको बिगबिगी हुन्छ, समाजमा यौन स्वच्छन्दता बढ्छ, भ्रुण हत्या जघन्य पाप हो । गर्भपरीक्षणमा छोरी भएको पुष्टि भएपछि पतन गराउने क्रम बढ्ने भएकोले महिलाको संख्या घट्छ ।’

महिला सांसदहरू भने गर्भ पतनले कानूनी मान्यता पाउनुपर्ने पक्षमा देखिए तर अधिकांश महिला सांसदहरू खुलेर कुरा राख्न हच्किए । सांसदहरूमध्येबाट नेतृ सहाना प्रधानले मात्रै खुलेर कुरा राख्ने हिम्मत गरिन् । उनले प्रश्न राखिन– पुरूषले आनन्द लिने त्यसवापत महिलाले आजीवन सास्ती बेहोर्नुपर्ने ? एउटाको शरीरमा अर्काको अधिकार कसरी हुन्छ ?

आफ्नो शरीरको अधिकार आफ्नै होइन ? सहानाले बोल्दै गर्दा सबै स्तब्ध भए । बिहान ८ बजेदेखि भएको छलफलले बेलुका ५ बजे निष्कर्ष निकाल्यो, ‘अनिच्छित, हाडनाता, बच्चा अपांग हुने, आमाको ज्यान असुरक्षित हुने अवस्थामा ३ महिनासम्मको गर्भ पतन गराउन पाइने गरी कानुनी मान्यता दिइनुपर्ने हो ।’

तर यो निष्कर्ष करिब १५ वर्ष दराजमा थान्को लाग्यो । केही वर्ष मात्रै भयो गर्भपतनलाई कानुनी मान्यता दिइएको । कानुनी मान्यता दिना साथ समाजमा ठूलो विरोध नभएको होइन तर, यसले सकारात्मक परिणाम दिन थालेपछि विस्तारै विरोध हराएको छ । केही अपवादलाई छाडेर समाज अग्रगामी परिर्वतनको विपक्षमै हुने गर्दछ । सकेसम्म परम्परागत मान्यतालाई अन्धानुकरण गर्ने चरित्र समाजले बोकेको हुन्छ ।

हामीले अँगालेको बौद्धिक सनातन धर्मशास्त्र जति वैज्ञानिक छ हाम्रो समाज त्यति नै पुरातन पन्थी छ । गर्भपतनलाई अपराध मान्दै आएको नेपाली समाजमा यसलाई वैधता दिने गरी कानुनको तर्जुमा गर्नु आफैँमा क्रान्ति हो । तर, यो क्रान्ति अधुरो भएको महसुस हुन थालेको छ । गर्भपतन समस्याको समाधान होइन । गर्भपतन गराउन महिला किन बाध्य हुन्छन् ? भन्ने पाटो पनि सोचनीय छ ।

हाम्रो समाज तथा कानुनले पुरूषबिना महिलाले सन्तान जन्माउन सक्ने कल्पनासमेत गरेको छैन । एकातिर कृत्रिम गर्भाधानबाट सन्तान जन्माउन सकिने प्रविधिको विकास भइसकेको छ । अर्कोतिर बाबुको नाम उल्लेख नगरेसम्म जन्मदर्ता नै गर्न नसकिने कानुनी प्रावधान यथावत छ । विद्यालयमा भर्ना गर्दा जन्मदर्ताको प्रमाणपत्र पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

बाबुको पहिचान नगरी सन्तान जन्माउन सामाजिक बाधाहरू त छँदैछन् ।सरकारले अविवाहित एवं एकल महिलाले सन्तान जन्माउन सक्ने गरी कानुन तर्जुमा गर्ने गृहकार्य सुरू गरेको छ । यो विधेयक संसदमा प्रवेश गरेपछि बहस सुरू होला । विधेयक पारित पनि होला । विधेयक पारित भएपछि समाजको एउटा तप्काबाट विरोध पनि सुरू होला । तर सकारात्मक परिणामले त्यस्ता विरोधलाई विस्तारै मत्थर बनाउँदै लैजाने छ ।

महिलाले सन्तान जन्माउन र हुर्काउन पुरूषको पहिचान अपरिहार्य भएको अवस्थाको मार्मिक पीडा महाभारतमा पनि वर्णन गरिएको छ । भागवान श्रीकृष्णपछि महाभारतका सबै भन्दा शक्तिवान पात्र कर्ण हुन् । तर उनलाई कुन्तीले विवाह गर्नुभन्दा पहिले जन्म दिएका कारण लुकाउन बाध्य भइन् । यदी लुकाउनु पर्ने बाध्यता नभएको भए त्यति ठूलो नोक्सान महाभारतको युद्धमा हुने थिएन । महाभारत त करिब ४ हजार वर्षअघिको रचना हो । महाभारतले धेरै सन्देश दिएको छ ।

यसमध्येको एउटा सन्देश हो विशेष परिस्थितिमा महिलाले सन्तान जन्माउन श्रीमानको आवश्यक पर्दैन ।उदाहरणका लागि धृतराष्ट्र, र पाण्डु एकल महिलाका सन्तान हुन् । कुन्तीले पनि विशेष परिस्थितिका कारण आफ्ना पाँच पुत्र (पाण्डव) को जन्म आफ्ना श्रीमान पाण्डुबाट दिएकी होइनन् । श्रीमद्भागवत गीतामा पनि अर्जुनको जिज्ञासामा श्रीकृष्णले यसबारे लामो व्याख्या गरेका छन् ।

एकल महिलाबाट हुने सन्तानको जन्मलाई श्रीकृष्णले पनि स्वभाविक मानेका छन् । २०१० सालमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले पापिनी आमा खण्ड काव्यको रचना गरे । एकल महिलाले सन्तान जन्माउनु पर्दाको पीडा वर्णन गरिएको उक्त खण्डकाव्य गहिरोसँग पढ्ने जो कोहीले पनि आँखाबाट आँसु थाम्न सक्दैन । महिलालाई त्यो अवस्थामा पुर्याउने समाज र कानुनको परिर्वतन जुरूरी छ ।

यस आलेखमा उक्त खण्डकाव्यले उठाएका केही प्रसंगहरू उल्लेख गर्नु सान्दर्भीक हुन्छ । पापिनी आमा’ काव्य नेपाली समाजमा देखा परेको भूण हत्याको सम्भावित दुर्घटना र त्यसबाट उत्पन्न हुनसक्ने प्रभावको धरातलमा रचिएको छ । काव्यको मूल सन्दर्भ बालविवाहसँग सम्बन्धित देखिन्छ । कतिपय केटाकेटी बालककालमै वा विवाहबारे नबुझ्दै विधुर तथा विधुवा बन्न बाध्य हुन्थे ।

पुरूष जातिले पुनः विवाह गरे पनि स्त्रीलाई विवाह गर्न दिइँदैनथ्यो वा उमेर पुगेपछि पनि तिनीहरूमा विवाहको सोच र आँट समेत हुँदैनथ्यो । उनीहरू जीवनभर अनेक सामाजिक लाञ्छना तथा आरोप खपेर बाँच्न विवश हुन्थे । केहीकेहीले मात्र गोप्यरूपमा यौनसम्पर्क गरी जवानीको सन्तुष्टि प्राप्त गर्थे ।

यौनचाहनाको तृप्ति गर्न खोज्नु युवायुवतीको नैसर्गिक अधिकार हो र पनि जब त्यो परपुरूष वा परस्त्रीसँग हुन्छ वा अवैध रूपमा हुन्छ त्यो समाजका निम्ति स्वीकार्य हुँदैन । संगीसाथी काखमा सन्तान च्यापेर आफ्ना लोग्नेसित घुम्न गएको तथा एक आपसमा मस्कामस्की गरेको देख्दा स्वाभाविक रूपमा यौनोत्तेजना हुन र युवकका फकाइफुल्याईमा परिन्छ ।

यसलाई चारित्रिक रूपमा दोष मानिहाल्नु हुँदैन । दोष त त्यसलाई मान्नुपर्छ जुन युवती घरमा आफ्ना दरसन्तान र लोग्ने हुँदाहुँदै परपुरूषगमन गर्दछे । खण्डकाव्यमा स्मरणीय कुरा के छ भने युवतीलाई गर्भवती बनाउने युवक फरार छ । उसले एकातिर अर्काकी विधुवा पत्नीको सतीत्व हरण गर्ने गल्ती गरेको छ भने अर्कोतिर गर्भवती भएको जानकारी पाएपछि गैरजिम्मेवार भई फरार भएको छ ।

आफूले जन्म दिएको बालकलाई पालीताली वा हुर्काएबढाएर असल मान्छे बनाई वा धेरै पढाइ त्यसैका माध्यमबाट आफ्ना कठीन दुःखहरू हर्ने तथा समाजमा विद्यमान समस्त विकृति हटाउने तर्फ युवतीको ध्यान जानसक्ने अवस्था नरहनु दुःखद पक्ष हो । समाजले विधवा नारीलाई सिर्जनाको अधिकार दिँदैन र पनि काव्यमा विधवा नारीले बालकको सिर्जना गरेकी छन् ।

नारीभित्रको सिर्जनात्मकताले जितेको अवस्था काव्यमा छ । सधवा युवतीको जस्तै विधवा युवतीको पनि सिर्जनाको आकांक्षा तीव्र हुन्छ । पापिनी आमा खण्डकाव्यले सन्देश दिएको छ, ‘विधवा विवाहलाई पनि वैधानिक मान्यता दिइनुपर्छ । सन्तान अवैध हुँदैन । जन्मेको कुनै पनि शिशुलाई बाँच्न पाउने मानवाधिकारबाट वञ्चित गरिनु हुँदैन ।

नारी सिर्जनाकी प्रबल मुहान भएकाले उनमा सिर्जनाशक्ति कहिल्यै हार्दैन । सामाजिक मूल्य, मान्यता र परिधिलाई ध्यानमा नराखी स्वच्छन्दरूपमा आफ्ना क्रियाकलाप गर्ने जो कोहीले पनि मानसिक सास्ती पाएकै हुन्छ । कसैको सतीत्वहरण गर्नु वा वैद्यव्यताको फाइदा उठाउन खोज्नु स्वयंममा अपराध हो । मातृशक्ति सबैभन्दा बलियो शक्ति हो ।

प्रतिक्रिया