माेदी भ्रमण: उच्च सम्मान, राष्ट्रहितमा परिणाम

‘समग्रमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण दुई देशबीचको सम्बन्ध मजबुत बनाउन सफल भएको छ । छिमेकी मित्रराष्ट्र भारतसँगको उच्चस्तरको सम्बन्ध कायम रहँदा नै नेपालको राष्ट्रियता बलियो हुन्छ । भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने हो भने नेपाल भारत सम्बन्ध कहिल्यै बिग्रन दिनु हुँदैन् भन्ने यथार्थबोध यस भ्रमणले गराएको छ । भारतीय प्रधानमन्त्रीवाट आएको अखण्ड, समृद्ध र सुदृढ नेपालको चाहनामा साथ भन्ने अभिव्यक्तिले नेपालको यो चाहना पूरा गर्नेछ‘  

-गणेश बस्नेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर राम्रै बहस भयो यसपटक । नेपालको संविधान निर्माणको क्रममा चार वर्षअघि पहिलोपटक नेपाल भ्रमणमा आउँदा मोदीको स्वागतमा नेपाली जनताको उत्साह जति थियो, यसपटक सामाजिक सञ्जालमा विरोधको स्वरहरू त्यत्ति नै देखियो ।

छिमेकी मित्रराष्ट्रका कार्यकारी प्रमुखको नेपाल भ्रमणलाई फलदायी बनाउन नेपाल सरकारले सकेसम्मको प्रयास गर्यो । स्वागत र सत्कारमा कुनै कसर बाँकी राखेन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारतको राजकीय भ्रमणका क्रममा भएका भारत सरकारको सत्कार र उच्च सम्मान जसरी नै मोदीको स्वागत सत्कार गर्नुभयो ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणमा मोदीले आफूपछिको वरिष्ठतामा रहेका गृहमन्त्री राजनाथ सिंहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पठाएका थिए ।  प्रधानमन्त्री ओलीले पनि आफूपछिको वरिष्ठतम मर्यादामा रहेका रक्षामन्त्री ईश्वर पोखरेललाई जनकपुर विमानस्थलमा स्वागत गर्न लगाए । पाहुनाको स्वागतमा आफैँ रामजानकी मन्दिर पुगे । तराई मधेशका नागरिकलाई छिमेकीसँग सहकार्य गर्दै विकासमा केन्द्र सरकारले कुनै कसर बाँकी नराख्ने सन्देश प्रवाह गरे ।

संविधान जारी भएपछि तराई मधेशमा ओली नै सबैभन्दा ठूला शत्रु हुन् भन्ने भ्रम फैलाइएको थियो ।पहिलोपटक सरकारको नेतृत्व गर्दा ओलीले तराई मधेशमा सबैभन्दा बढी बजेट विनियोजन गरेर विकाश अघि बढाउने काम गरे, तर संविधान जारी भएपछि उनैलाई तराई मधेशको शत्रुका रूपमा चित्रित गरियो । यथार्थबाट टाढै रहेका तराई मधेशका जनताले झुटलाई सत्यमा रूपमा बुझे । उनीहरूमा अहिलेसम्म पनि त्यो झुट जबर्जस्त रूपमा मनमा गढेको थियो ।

भारत देखाएर तराई मधेशमा ओली र उनको दल एमालेविरूद्ध फैलाइएको भ्रम चिर्न र समग्र नेपालको विकाश नै आफ्नो योजना हो भन्ने सत्य स्थापित गर्न मोदी भ्रमणकै क्रममा प्रधानमन्त्री ओली सफल भएका छन् । जनकपुरको बाह्रबिघा मैदानमा प्रदेश–२ का नेपाली नागरिकबीच ओलीले गरेको सम्बोधन र भारतीय प्रधानमन्त्री मोदीको अभिव्यक्तिपछि तराई मधेशको विकासमा सबैभन्दा बढी चिन्तित नेता ओली नै हुन् भन्ने देखिएको छ ।

मोदीको नेपाल भ्रमणको क्रममा राष्ट्रघाट भएको कुरा कहीँ कतै आएन । राजनीति गर्नका लागि केही दलले आफ्नो कार्यालयमा कालो ब्यानर राखेर प्रहरी बोलाई निकाल्न लगाएर राजनीति गरे । विशिष्ट पाहुनाको सवारीमा सडक बन्द भयो । हवाइ सेवा प्रभावित भए, सडक बन्द गर्दा नागरिकलाई सास्ती भयो ।

त्यसैलाई क्यास गर्दै नेपाल भारत सम्बन्ध सुमधुर बनाउन सरकारले गरेको प्रयासविरूद्ध अभियान चलाइयो । नेपालको संविधान जारी भएपछि भारतले जनाएको असन्तुष्टि जनाएर नाकाबन्दी लगाएको कारण मोदीप्रति नेपाली नागरिकमा आक्रोश पैदा हुनु स्वभाविक हो । मोदीको नेपाल भ्रमणकै क्रममा नेपाली नागरिकले नाकाबन्दीप्रति आफ्नो आपत्ति जनाउँदै आगामी दिनमा त्यस्तो व्यवहार नहोस् भन्नेतर्फ सजग गराए ।

नागरिकको यो आवाज सायद सामाजिक सञ्जालमा अत्यन्त सक्रिय भारतका प्रधानमन्त्री मोदीले जानकारी पाइसकेका छन् । नेपाली नागरिकबाट व्यक्त भावना र असन्तुष्टिलाई प्रधानमन्त्री ओली आफैँले वार्ताका क्रममा नाकाबन्दीपछि नेपाली नागरिक अलिक बढी नै रूष्ट बनेको र त्यसलाई कुटनीतिक ढंगबाट सम्बोधन गर्न सुझाव दिए ।

‘नेपालका नागरिक भारतको विरूद्धमा कहिल्यै छैनन्, छिमेकी मित्रराष्ट्रप्रति सम्मान र सद्भाव नै राख्छन तर नेपालको संविधान जारी भएपछिको नाकाबन्दीले आक्रोश पैदा गरेको छ, नेपाल भारत सम्बन्ध सुमधुर बनाउन र नागरिक तहमा उच्चस्तरको एकता भाव पैदा गर्न अब विगतको जस्तो व्यवहार हुन्न भन्ने आस्वस्त पार्नुपर्ने देखिन्छ,’ मोदीसँगको वार्तामा प्रधानमन्त्री ओलीले नेपाली नागरिकको आवाज राख्नुभयो । जुन आवाज सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

आफ्नो देशको पक्षमा कसरी सहमत गराउन सकिन्छ भन्ने सोचमा रहेका प्रधानमन्त्री ओलीले बढो कुशलतापूर्वक राखेको यो विषय भारतीय प्रधानमन्त्री मोदीको मनमा गढ्यो । उहाँले वार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा घोषणा गर्नुभयो, ‘अखण्ड, समृद्ध र सुदृढ नेपालको आकांक्षामा भारतको भरपुर साथ र सहयोग रहन्छ ।’ भारतका प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमा आएको मोदीको यो अभिव्यक्ति नेपालको संविधान जारी हुनुअघि र जारी भएपछि भारतको तर्फबाट भएका सबै काम सच्याउने घोषणा हो ।

जननिर्वाचित संविधानसभाले बनाएको विश्वकै सबैभन्दा समावेशी संविधानप्रति असन्तुष्टि जनाउनु र नेपालको आन्तरिक मामिलामा हस्तक्षेपको नीति लिन गलत थियो भन्ने स्वीकारोक्ति हो ।नेपाल छाडनुअघि भारतीय प्रधानमन्त्री मोदीले गरेको ट्विटले पनि विगतको कामप्रति आत्मआलोचित बनेको र आगामी दिनमा नेपाल सरकारमार्फत समृद्धिको यात्रामा सहयोग गर्ने अठोट देखाएको छ ।

‘यस भ्रमणमार्फत भारत–नेपाल सम्बन्धमा नयाँ उर्जा थपिएको छ, म नेपाली जनता तथा नेपाल सरकारले देखाउनुभएको न्यायोपनको लागि आभार प्रकट गर्दछु,’ विगतमा भएको सहमतिलाई असोजभित्र सम्बोधन गर्ने सहमति जनाएर स्वदेश फर्किनु भएका मोदीले नेपाली भूमि छाड्नु अगावै ट्विट गर्दै अबको नेपाल भारत सम्बन्ध थप उचाइमा पुग्ने संकेत दिनुभएको छ ।

शनिबार जारी दुई देशको संयुक्त वक्तव्यमा सन् २०१८ को सेप्टेम्बरसम्मको समय सीमाभित्र काम गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिइएको छ । नेपालले मागेको थप हवाई रूटका विषयमा भारतले सकारात्मक चासो देखाएको छ । हवाई रूटका लागि अध्ययन गर्न दुवै देशको प्राविधिक टिमले टुंग्याउने सहमति भएको छ । नेपालको लागि हवाइ रूट अवरोध गर्न नहुने अडान प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमै राख्दै आएका थिए ।

सोहीअनुसार जमिन मात्रै होइन, हवाई मार्ग पनि नेपालको अधिकार हो भन्ने यथार्थबोध प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई गराएका छन् । यसअघि नेपालले जनकपुर, भैरहवा र नेपालगञ्ज हुँदै भित्रिने वा बाहिरिने मार्गका लागि प्रस्ताव गरेको थियो । तर, भारतीय पक्षले त्यसबारे सकारात्मक प्रतिक्रिया दिएको थिएन । यसपटक मोदी भ्रमणमा त्यो मुद्दाले प्राथमिकता पाउनुका साथै सकारात्मक प्रतिक्रिया आएको छ ।

यस्तै, गत महिना अन्तर सरकारी कमिटीमा वाणिज्य सचिवको बैठकमा भएको सहमतिअनुसार व्यापार र पारवहन सम्झौताको पुनरावलोकन गर्ने प्रधानमन्त्रीको तहमा समझदारी बनेको छ । बाढीग्रस्त क्षेत्रमा दुई देशको संयुक्त टोलीले भ्रमण गर्दै त्यसको दीर्घकालीन समाधानका लागि उचित विकल्प खोज्ने सहमति पनि दुई देशको प्रधानमन्त्रीबीच भएको छ । यस्तै, क्षेत्रीय र अन्तरदेशीय संंगठनको महत्व अघि बढाउँदै लैजाने सहमति भएको छ ।

यस्ता सबै सहमति नेपालको हितमा रहेको छ भन्नेमा कुनै दुईमत छैन । समग्रमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण दुई देशबीचको सम्बन्ध मजबुत बनाउन सफल भएको छ । छिमेकी मित्रराष्ट्र भारतसँगको उच्चस्तरको सम्बन्ध कायम रहँदा नै नेपालको राष्ट्रियता बलियो हुन्छ । भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने हो भने नेपाल भारत सम्बन्ध कहिल्यै बिग्रदैन भन्ने यथार्थबोध यस भ्रमणले गराएको छ ।

भारतीय प्रधानमन्त्रीबाट आएको अखण्ड, समृद्ध र सुदृढ नेपालको चाहनामा साथ भन्ने अभिव्यक्तिले नेपालको यो चाहना पूरा गर्नेछ । यस्तै खुला सीमाका कारण हुने आतंकवाद नियन्त्रणदेखि नेपाली जनतामा रहेको आशंका मेटाउन भारतले हालसम्म भएको सहमतिको इमान्दारिपूर्वक कार्यान्वयन गर्न जरूरी छ । जहाँसम्म नेपालको सवाल छ, भारतीय प्रधानमन्त्रीको भ्रमणलाई पहिलोपटक नेपालले आफ्नो देशको हितअनुकुल बनाएको छ ।

नाकाबन्दीको आक्रोश स्वरूप आएको नागरिकको आवाजलाई सरकारको बलियो हतियारका रूपमा ग्रहण गर्दै अब भारतले नेपालमाथि गलत नजर लगाउने छैन, धार्मिक पर्यटनको विकाशदेखि आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन, नेपाल सरकारलाई बाइपास गर्दै कुनैपनि प्रदेशमा हात हाल्दैन भन्ने प्रष्ट प्रतिबद्धता भारतको तर्फबाट आएको छ । यो सफलता प्रधानमन्त्री ओलीले अवलम्बन गरेको कुटनीतिक रणनीतिकै परिणाम हो ।

उनले छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको भ्रमणमा पाहुनाको उच्च सम्मान गरे, आफ्नो देशको नागरिकको आक्रोशलाई कुटनीतिक दायराभित्र राखे, र समकक्षीलाई सहमत गराए । नेपालका लागि जे कुरा आवश्यक छन, ती विषयमा सहमत गराए । अर्थात् भारतीय प्रधानमन्त्री मोदीलाई उच्च सम्मान र स्वागत गर्नुभयो, राष्ट्रहितमा परिणाम निकाल्न पनि सफल भए ।

दुई देशबीचको सम्बन्ध सुमधुर बनाउने अभियान अघि बढाउँदा नेपालको आवश्यकता, चाहना र भावना जे थियो, त्यसैलाई भारतसामु राखेर सहमति जुटाउने सफलता ओलीले गरेका छन् । राजनीतिक फाइदा वा बेफाइदाका हिसाब गर्नेहरूले नाकाबन्दी देखाएर सरकारले बढी सम्मान गर्यो भन्ने अफवाह फैलाउन सक्लान्, तर विगतबाट पाठ सिकेर गल्ती सच्याउन लगाउने काम ओली सरकारले गरेको छ । यो सफलता दुई कुस्तीवाजको लडाइजस्तो शत्रुतापूर्ण सम्बन्धबाट सम्भव थिएन ।

प्रधानमन्त्री ओलीले नेपालको हितमा विगतमा भएका सबै अपमान सहेर देशको हितमा भारतसँग सुमधुर सम्बन्ध कायम गराउन सफल भएका छन् । यही नै मोदी भ्रमणको उपलब्धि हो । नेपालको हितमा काम भएको देख्न नसक्नेहरूका लागि भने यो सबैभन्दा ठूलो अपराध बन्न सक्छ । किनकि नेपाल जिन्दावादभन्दा भारतविरूद्ध अभियान छेडेको देख्ने जमात नेपालमै रहेको तथ्य विगत नाकाबन्दीको समयमै सतहमा आइसकेका छन् ।

प्रतिक्रिया