पर्सा । वीरगन्जमा खानेपानीको हाहाकार भएको छ । घरघरमा जडान गरिएका चापाकल सुकेसँगै वीरगन्ज महानगरवासी पानीको समस्यामा परेका हुन् । चापाकल सुकेपछि नेपाल खानेपानी संस्थान शाखा कार्यालयमा नयाँ धारा जडान गर्न अनुरोध गर्न आउनेको संख्या वृद्धि भएको छ । वडा कार्यालय र महानगरमा समेत खानेपानीको समस्या लिएर पुग्ने सर्वसाधारणको संख्या दैनिक १०० भन्दा बढी छन् ।
नेपाल खानेपानी संस्थान शाखा कार्यालयका प्रमुख प्रवीणकुमार साहले जिल्लाभरि नै खानेपानीको अभाव देखिएको जानकारी दिए । ‘यहाँका सर्वसाधारण चापाकल सुकेसँगै खानेपानीको लाइन जडान गर्न आउनेको संख्या बढेको छ,’ उनले भने ।
वीरगन्ज महानगर–१३ श्रीपुरका अब्दुल अहमद खानेपानी अभावका कारण दैनिकी अस्तव्यस्त भएको गुनासो गर्छन् । ‘महानगर क्षेत्रमा खानेपानीको चर्काे अभाव झेल्दै आइरहेका छौँ,’ उनले भने, ‘विगत ३ वर्षदेखि यहाँ खानेपानीको हाहाकार भइरहेको छ ।’
वीरगन्ज महानगर–२६ का वडाध्यक्ष शम्भु मिश्र पनि वडामा रहेका ९० प्रतिशत बढी चापाकल सुकेको बताउँछन् । ‘पानीको अभाव भन्दै सर्वसाधारणले गुनासो धेरै आइसक्यो,’ उनले भने, ‘वडा कार्यालयकै पहलमा यही वर्ष २ वटा बोरिङ खनेर पानी वितरण गरेका छौँ । तर, पर्याप्त छैन ।’
वडाध्यक्ष मिश्रले वडासँग सीमित स्रोतसाधन भएकाले जनताको आवश्यकताअनुसार ‘बोरिङ’ खन्न नसकिरहेको गुनासो गरे ।
वीरगन्ज महानगरका वन, वातावरण विपद् व्यवस्थापन शाखाका प्रमुख इन्जिनियर राकेश साहले जमिनमुनिको भूमिगत पानीको सतह घटेसँगै अधिकांश चापाकाल सुक्खायाममा सुक्ने गरेको बताए ।
वीरगन्ज महानगरका अनुसार अहिले यहाँको वडा–१, २, ११, १३, १६, २५, २६ लगायतका स्थानमा पानीको अभाव छ । शाखा प्रमुख साहले चालु आर्थिक वर्षमा वीरगन्ज महानगरले प्रदेश सरकारसँग समन्वय गरेर ७५ स्थानभन्दा धेरै ठाउँमा ‘डिप बोरिङ’ मार्फत पानी उपलब्ध गराउँदै आएको छ । ‘५ देखि ६ लाख रुपैयाँ लागतमा करिब ७५ वटाभन्दा धेरै बोरिङ खनेर सर्वसाधारणलाई पानी वितरण गर्दै आइरहेका छौँ,’ उनले भने, ‘वीरगन्जमा पानीको दीर्घकालीन समाधानका लागि संघीय सरकारले एसियाली विकास बैंकसँगको साझेदारीमा खानेपानी आयोजना अघि बढाउने प्रयास गरिरहेको छ ।’ खानेपानी संस्थानले दैनिक करिब १ करोड लिटर खानेपानी वितरण गर्ने गरेको जनाएको छ । तर, संस्थानको ४० प्रतिशत पानी चुहावट हुने गरेको बताइन्छ ।
शाखाका कार्यालय प्रमुख साहले पाइपलाइनको संरचनाको कारणले पनि अपेक्षाकृत ढंगले खानेपानी विस्तार गर्न नसकेको स्वीकारे । चालु आवमा मात्रै यहाँका करिब ६०० सर्वसाधारणले नयाँ धारा जडानको माग गरेका छन् । ३५० भन्दा धेरै खानेपानीको लाइन जडानको पर्खाइमा छन् । खानेपानी संस्थानका महानगरभित्र १२ हजार ग्राहक छन् । वडा कार्यालयको सिफारिसमा संस्थानले ६ हजार ३७० रुपैयाँ लिएर नयाँ धारा जडान गर्दै आएको छ ।
दीर्घकालीन समाधान खोज्न स्थानीयवासीको जोड
वीरगन्ज । वीरगन्ज महानगरमा लामो समयदेखि जारी खानेपानी संकटको दीर्घकालीन समाधानमा महानगरवासीले जोड दिएका छन् । खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुभन्दा तत्कालीन रूपमा केही दिन ट्यांकर तथा दमकलबाट पानी वितरण गरेर नहुने उनीहरूको भनाइ छ । वीरगन्ज महानगरले ट्यांकर र पर्साको सखुवाप्रसौनी गाउँपालिकाले दमकलबाट पानी ओसारेर आपूर्ति गर्न थालेपछि सर्वसाधारणले दिगो समाधानमा जोड दिएका हुन् ।
वीरगन्ज महानगरप्रमुख राजेशमान सिंह २०७९ सालको स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुँदा पनि वीरगन्जमा खानेपानीको समस्या समाधान गर्न लागिपर्ने घोषणा पनि गरेका थिए । उनको चुनावी सभामा पर्साका प्रतिनिधिसभाका सांसद तथा खानेपानीमन्त्री प्रदीप यादवले पनि खानेपानीको दीर्घकालीन समाधान गर्ने घोषणा गरेका थिए । तर उनी नगरप्रमुखमा निर्वाचित भएको ३ वर्ष बित्दा पनि समस्या यथावत छ । वीरगन्ज महानगर–१३ श्रीपुरका कैफुल मियाँ खानेपानीको संकट समाधान गर्न महानगर अग्रसर नभएकामा खिन्न छन् । ‘चापाकलमा १ थोपा पनि पानी आउँदैन यस्तै हो भने हाम्रो उठिबास हुनेछ ।’
वीरगन्जस्थित नेपाल खानेपानी संस्थानका प्रमुख प्रवीणकुमार साहले महानगरको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्नेतर्फ ध्यान दिन जरुरी भएको बताए ।
‘यहाँको खानेपानी संकट चापाकल वा बोरिङ गरेर हुँदैन’, उनले भने, ‘ओभरहेड ट्यांकी निर्माणदेखि पाइपलाइन विस्तारसम्मका काम गर्न आवश्यक छ । खानेपानीको लाइन भएकै ठाउँमा टोलटोलमा बोरिङ गरेर पानी वितरण पनि भइरहेको छ । एकीकृत रूपमा आपूर्ति व्यवस्थित हुनुपर्छ ।’
महानगरप्रमुख सिंह मंगलबार साँझ वडा–११ अन्तर्गत विद्यापति नगर, श्रीपुर, रानीघाटलगायत प्रभावित टोलमा ट्यांकर लिएर पुगेका थिए । ‘नगरवासीलाई पानीको अभावमा राखिन्न, जहाँ समस्या छ, त्यहाँ समाधानको प्रयास गर्नेछौँ’, उनले भने, ‘पानीको समस्या ३२ वटै वडामा रहेको र सबै वडामा समान रूपमा पानी पु¥याउने गरी संयन्त्र बनाएका छौँ ।’
सबै निकायलाई सहयोग गर्न मन्त्री यादवको आग्रह
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा, बारासहित मधेसका जिल्लामा चापाकल सुकेर खानेपानीको संकट बढेकाले उक्त समस्या समाधानका लागि सबैले आ–आफ्नो तर्फबाट सहयोग र समन्वय गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत मन्त्री यादवले जलवायु परिवर्तनका कारण परेको खडेरीले पर्सा, बारा, रौतहटलगायत मधेसका जिल्लामा चापाकल सुकेर खानेपानीको संकट सृजना भई जनजीवन प्रभावित भएको भन्दै सबैको सहयोग र समन्वयबाट समस्या समाधान गर्न सकिने धारणा राखेका छन् ।
‘यस प्राकृतिक विपत्तिमा पीडित नागरिकसँग सहानुभूति राख्दै म वीरगन्जका विभिन्न प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन गरिरहेको छु’, उनले भने, ‘खानेपानी समस्याको तत्कालीन समाधानका लागि बारा, पर्सालगायत जिल्लासहित वीरगन्ज महानगरपालिकाका विभिन्न वडामा हालसम्म २३७ भन्दा बढीको संख्यामा डिपबोरिङ गाडिसकिएको छ । समस्या समाधानका लागि थप पहल भइरहेका छन् ।’
यादवले आगामी आर्थिक वर्षको सुरुआतसँगै यसकार्यलाई अझ द्रुतगतिमा अगाडि बढाइने बताउँदै यसले खानेपानीका लागि शीघ्र राहत दिने विश्वास लिएको बताएका छन् । ‘यो कठिन परिस्थितिमा धैर्यता र संयमता अपनाउन सबैलाई आग्रह गर्दछु । सबैको सहयोग र समन्वयले समस्या समाधानको विकल्प निकाल्न सकिने छ’, उनले भनेका छन् । उनले प्रदेश र स्थानीय सरकार, खानेपानी र सरसफाइ क्षेत्रमा संलग्न सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायलाई सहकार्य र सहयोगका लागि आग्रह गरेका छन् ।
प्रतिक्रिया