डिआर उपाध्याय प्रधानमन्त्री केपी शर्मा ओलीले यही २३ देखि २५ चैतसम्म तीन दिने राजकीय भारत भ्रमण गर्न लागेका छन् । यो नै अहिलेको चर्चाको विषय हो । भारत भ्रमणबाट नेपालले के उपलब्धि र फाइदा लिन सक्छ भन्र्ने कुरामा पनि चासो राखिएको छ । ओली राष्ट्रवादी नेताको रूपमा चिनिन्छन् । भारत भ्रमणपछि राष्ट्रवादी विचार के हुन्छ त्यो नै परीक्षाको घडी बनेको छ ।
नाकाबन्दीका वेला ओलीले राखेको अडानका कारण नै वाम गठबन्धनको बहुमत आएको हो । यो कुरा कसैले पनि बिर्सन मिल्दैन । सात मध्ये ६ प्रदेशमा वाम गठबन्धनको सरकार छ । मुलुकको इतिहासमै ओली शक्तिशाली प्रधानमन्त्री हुन् । त्यसकारण पनि भारत नेपालसामु झुकेको संकेत बुझ्न सकिन्छ । हाम्रो प्रधानमन्त्री अडानको पक्का हुनुन्छ । यो आशन्न भारत भ्रमण फलदायी र सफल हुनेमा कुनै द्विविधा छैन ।
मुलुकको शक्तिशाली प्रधानमन्त्रीको हैसियतले भारत भ्रमणको क्रममा राष्ट्रवादी अडान राख्छन् होला भन्ने धेरैको आशा छ । मुलुकको इतिहासमा जननिर्वाचित प्रधानमन्त्रीको रूपमा बिपी कोइरालाले १५ महिनासम्म शाक्तिशाली कार्यकारीका रूपमा सरकार चलाएको इतिहास छ । त्यसपछिका प्रधानमन्त्री मध्ये केपी ओली नै शाक्तिशाली प्रधानमन्त्री हुन् । अरू सबै प्रधानमन्त्रीले अस्थिर सरकारको बहानामा शासन सत्ता चलाए । मुलुकमा लोकतन्त्र स्थापनापछि प्रधानमन्त्रीले पूर्ण अवधि सरकार चलाउन नपाउँदा मुलुक झन् कमजोर अवस्थामा पुगेको टीकाटिप्पणी हुने गरेको छ ।
बास्तवमा हो पनि त्यो कुरा । अहिले आएको यो अवसर मुलुकभित्र मात्र होइन, अन्तर्राष्ट्रिय सम्बन्धका हिसाबले पनि महत्वपूर्ण छ । नेपाल–भारतबीचको सम्बन्धलाई सुधारेर जानुपर्ने आवश्यकता देखिएको छ । भारत नेपालको असल मित्र राष्ट्रशक्ति हो । सम्बन्ध सुमधुर र विस्तार गरेर जानुपर्छ । अर्को छिमेकी देश चीनसँग पनि सम्बन्ध विस्तार गरेर जानुपर्छ । दुई देशलाई सन्तुलित रूपमा कूटनीतिक तरिकाले डिल गरेर नेपाल अघि बढ्नुपर्छ । नेपाल सरकारले आशन्न भारत भ्रमणलाई नेपालको हित र राष्ट्रको स्वार्थमा फाइदा लिन सक्नुपर्छ ।
त्यसो भयो भने मात्र भारत भ्रमण सफल र फलदायी हुनेछ । प्रधानमन्त्री ओलीले यो भ्रमण केही माग्नभन्दा पनि सम्बन्ध विस्तारका लागि बढी केन्द्रित हुने बताइ सकेका छन् । भारतको आसन्न भ्रमणको उद्देश्य सद्भाव मात्र भएको प्रधानमन्त्री ओलीले प्रष्ट पारेका छन् । लामो समयसम्म चिसिँदै गएको सम्बन्ध विस्तार गर्नु पनि ठूलै उपलब्धि हो । भ्रमणमा कुनै सन्धिसम्झौता नहुने कुरा पनि बाहिर आएको छ । लिपुलेक, कालापानी, सुस्ता, पञ्चेश्वर लगायतका मुद्दामा भारतसँग नेपालले राम्रोसँग डिल गर्नुपर्छ ।
यो नै महत्वपूर्ण कुरा हो । सीमा विवादले दुई देशबीच धेरै खटपट हुने गरेको छ । यो भ्रमणबाट समस्याको समाधान हुन जरुरी छ । लामो समयदेखि सुल्झिन नसकेका यी विषयले उचित निष्कर्ष पायो भने मात्र भ्रमण सार्थक भएको ठहरिने छ । वर्तमान सरकारको सफलता पनि त्यो हुनेछ, सरकार वास्तविक रूपमा अडानका साथ भारतसँग प्रस्तुत हुने हो भने यी समस्या समाधान भएर जानेछन् । विगतमा बंगलादेशसँग रहेका समस्याहरूलाई भारतले समाधान गरेर अघि बढिसकेको स्थिति छ ।
त्यसैले समस्याको समाधान गरेर अघि बढ्दा धेरै राम्रो नै हुनेछ । अहिलेको समय भनेको समस्या समाधान गरेर छिमेकी देशसँग हातेमालो गरेर समृद्धिको यात्रामा अघि बढ्ने समय हो । समृद्धिविना देश अघि बढ्न सक्दैन । सरकार भारत भ्रमणको क्रममा तयारीका साथ प्रस्तुत हुनुपर्छ । विना तयारीको भ्रमण सार्थक नहुन सक्छ । त्यसैले गृहकार्य गरेर विज्ञसँग सल्लाह सुझाव लिएर मात्र भ्रमणमा निस्कनु पर्छ । विगतमा १९५० को सन्धि पुनरावलोकन वा परिमार्जनका विषयलाई भारतले सुन्नै नचाहेको स्थिति पनि परिवर्तन भइसकेको छ ।
दुइ देशबीच गठन भएको प्रवुद्ध व्यक्ति समूहलेसमेत सम्बन्धलाई सुमधुर र राम्रो बनाउन लागेको बताएका छन् । नेपाल–भारत सम्बन्ध विस्तार गरेर जानुपर्नेछ । त्यतातिर दुई राष्ट्रका सरकार नै गम्भीर हुनुपर्ने आवश्यकता देखिन्छ । दुई देशमा एकअर्का देशका नागरिकहरूले बसोवास गर्ने र व्यापार व्यवसाय सञ्चालन गर्दै आएको सर्वविदितै छ । खुला सीमाका कारण यो सबै सम्भव भएको हो । नेपालका नागरिक भारतमा गएर व्यापार व्यवसाय सञ्चालन गरेका छन् भने भारतका नागरिक नेपालमा आएर व्यापार व्यवसाय गर्दै आएका छन् ।
दुई देशबीच नै सम्बन्ध विस्तारको खाँचो छ । नेपालीले भारतबाट मात्र कमाई गरेर ल्याएका छैनन् कि भारतले पनि नेपालबाट धेरै पैसा आफ्नो देशमा भित्र्याएको छ । भारत सरकारले यो बीचमा विकास र समृद्धिलाई धेरै नै जोड दिँदै आएको छ । नेपालले आफ्नो फाइदाका लागि लाभान्वित हुन भारतसँग डिल गर्न सक्नुपर्छ । विगतका समस्या समाधान गरी दुइ देशको सम्बन्धलाई नयाँ उचाइतर्फ लानुपर्छ । यो नै अहिलेको आवश्यकता हो । भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको यो भ्रमणका निम्ति भारतले बढी नै उत्सुकता देखाएको महसुस गरिएको छ ।
विशेष गरी यो भ्रमणलाई भारतीय सञ्चार माध्यमले धेरै महत्व र चासो दिएको छ । विगतमा प्रधानमन्त्रीको भ्रमणलाई भारतले त्यति चासो र महत्वका साथ नहेरेको बुझ्न सकिन्छ । तर, अहिले हाम्रो देशको शक्तिशाली प्रधानमन्त्रीको भ्रमणलाई धेरै महत्व र चासो भारतले दिइरहेको छ । त्यसले गर्दा पनि यो आशन्न भारत भ्रमण धेरै महत्वपूर्ण छ । खास गरी मुलुकमा संविधान जारी भएपछि ०७२ सालमा करिब पाँच महिना भारतले गरेको नाकाबन्दीपछि नेपालसँगको विशेष सम्बन्ध बिग्रिएको कुरा यथार्थ हो । अहिले भारत सरकारले यो कुरालाई गम्भीर रूपले महसुस गरेको छ ।
भाजपाको सरकारले नेपाललाई नाकाबन्दी लगाएपछि नेपाल चीनतर्फ ढल्कियो भन्ने नै भारतको लागि टाउको दुःखाइ हो । भारत सरकारले नेपाल चीनसँग नजिक नहोस् भन्ने चाहेको छ । नाकाबन्दी कै वेला केपी ओली प्रधानमन्त्री थिए । ओलीले नाकाबन्दी नखुली भारत भ्रमण जान्न भन्ने अडान राखेका थिए । राष्ट्रवादी नेता ओलीले अडान लिएकै कारण भारतले नाकाबन्दी खोल्न बाध्य भएको थियो । त्यो कुरा अझै ताजै छ । पछिल्लोपटक ओली सरकार नबन्दै भारतीय विदेशमन्त्री सुस्मा स्वराजले नेपाल भ्रमण गरेर सम्बन्धलाई सुधार तर्फको बाटोमा लगेको संकेत गर्न सकिन्छ ।
भौगोलिक, सांस्कृतिक र सामाजिक रूपमा नेपाल भारतसँग नजिक छ । नेपाल–भारतबीच खुला सिमाना छ । जसको कारणले भारतले नेपालमाथि हेपाहा प्रवृत्ति र प्रभुत्व लाद्न खोज्छ । त्यो नै भारतको कमजोरी हो । वेलावेलामा भारत सरकारले सीमा मिचेर चर्चामा आउने गर्छ । यो राम्रो कुरा होइन । सीमाको विषयमा नेपाल सरकारले आसन्न भारत भ्रमणका क्रममा प्रस्ट विचार राख्नुपर्छ । अहिलेसम्मको घटनाक्रमले भारत सरकारलाई पनि ठूलो पाठ सिकाएको बुझ्न सकिन्छ ।
ओलीले नेपालका प्रमुख नेताहरू मध्ये भारतलाई राम्रोसँग बुझेका छन् । भारतीय नेतादेखि कर्मचारीतन्त्रसँग सिधा सम्बन्ध छ प्रधानमन्त्री ओलीको । सिधा र प्रस्ट कुरा राख्न सक्ने ओलीको बानीको कारण पनि भारत सरकार नेपालप्रति लचिलो बन्दै गएको छ । संविधान संशोधनका लागि भारतीय पक्षले देखाएको चासोमा ओली सकारात्मक भएनन् । भारतले अझै खुलेर संविधानको स्वागत गरेको छैन ।
यसपटकको भ्रमणमा ओलीले भारतीय पक्षबाट संविधानको स्वागत गर्ने अवस्था निर्माण गरेर स्वदेश फर्किन्छन् कि के गर्छन् ? सबैलाई चासो लागेको छ । ओलीको भारत भ्रमण परम्परागत कर्मकाण्डमै सीमित हुने हो कि केही नयाँ छलाङ मार्ने हो, चर्चा चलेको छ । नेपाल–भारत सम्बन्ध के कसरी सुधारको बाटोमा जान्छ भन्ने कुरा महत्वपूर्ण हो । नेपाल र भारत बीचको सम्बन्ध बिगारेर होइन, सपारेर जानुपर्ने आवश्यकता देखिएको छ । आशन्न भारत भ्रमणबाट नेपालले धेरै लाभ लिन सक्नुपर्छ ।
मुलुकको भाग्य र भविष्य निर्माणका लागि छिमेकी राष्ट्रसँग सहकार्यमा जानु नै राम्रो कुरा हो । हाम्रा छिमेकी राष्ट्र चीन र भारत असल मित्र राष्ट्र हुन् । दुबै देशलाई सन्तुलितमा राखेर नेपाल अगाडि बढ्नुपर्छ । सन्तुलित कूटनीतिक पहल नेपाल सरकारले गर्नुपर्छ । दुबै देशलाई चिढाएर होइन, रिजाएर नेपाल सरकार विकास र समृद्धिको मार्गमा जानुपर्छ । हाम्रो देशका प्रधानमन्त्री ओलीको भारत भ्रमण सार्थक र सफल बनोस् हाम्रो शुभकामना ।
प्रतिक्रिया