चुरे संरक्षणमा किन बोल्दैन मधेस ?

हिउँद सकिएर वर्षा सुरु हुन लाग्दैछ । वर्षा लागेसँगै तराईमा डुबान र पहाडमा पैह्रोले जनधनको क्षति भएका समाचार आउनेछन् । गत वर्ष पनि तराईका अधिकांश भाग डुबानमा पर्यो । सीमाक्षेत्रका भारतीय बाँधका कारण नेपाली भूभाग डुबानमा परेको स्याल हुइँया चलायो काठमाडौंले । अघिल्ला वर्षहरूमा पनि यस्तै हुन्थ्यो, वर्षासँगै चर्चा र चासो पनि सेलाउथ्यो । तराई–मधेसमा डुबान भारतीय बाँधभन्दा चुरेक्षेत्रमा हुने अवैध उत्खननका कारण भएको भू–क्षले हो भन्ने न काठमाडौंले बुझ्यो, न त मधेसका हिमायती हौँ भन्नेहरूले नै बुझाउने चेष्टा गरे । बरु, उनीहरूले राहतस्वरूप दिइने चामलका बोरामा समेत राष्ट्रिय जनता पार्टीको चुनाव चिह्न अंकित गरे । मधेसी जनताको हिमायती आफू मात्र भएको देखाउँदै भोटको राजनीतिमा लिप्त देखिए । तराई–मधेस मरुभूमीकरण हुँदै गएको प्रति कसैको चिन्ता रहेन ।
चुरे संरक्षणका कुरा जति अन्य पार्टी वा स्वतन्त्र नागरिकले उठाउने गरेका छन्, तुलनात्मक रूपमा मधेसको हिमायती भएको देखाउने राजपा नेपाल मौन देखिन्छ । जब कि, चुरेमा हुने भू–क्षयकै कारण तराई–मधेस डुबानमा पर्ने गरेको विशेषज्ञहरूले बताउने गरेका छन् । ढुंगा, बालुवा र गेग्र्यानले बनेको अतिसंवेदनशील पहाड हो चुरे । यसको पिँधमा हुने सानो हलचलले पनि वर्षामा ठूलो भू–क्षय हुने गर्दछ, जसका कारण यी बालुवा र गेग्र्यान मधेसमा बग्ने नदी तथा खहरेको पिँधमा थेग्रिएर नदीको सतह उकासिँदो छ । धेरैजसो स्थानमा त नदीको सतहमाथि जमिनको सतह तल रहेको प्रस्टै देखिन्छ । जसका कारण, वर्षा लागेपछि नदीहरूमा आउने बाढी किसानका खेतबारी हुँदै बस्तीमा पस्ने गरेकाले महिनौँसम्म डुबानको स्थिति रहने गरेको छ । केही वर्ष पहिला नै गरिएको एक सर्वेक्षणमा तराई–मधेसमा नदीको सतह प्रतिवर्ष २० सेन्टिमिटरका दरले उकासिँदै गएको देखाइएको थियो ।
चुरेको फेदमा बनेको पूर्व–पश्चिम राजमार्गबाट यात्रा गर्ने जो कोहीले नदीका आसपास क्रसर उद्योग, ढुंगा, बालुवाका थुप्रा देख्न सक्छन् । यी उद्योगका अधिकांश उत्पादन भारततर्फ जाने गरेका छन् । जब कि, यस्ता उद्योग नदीका आसपास खोल्न नपाइने कानुनी व्यवस्था छ । तर, तराई–मधेसको एक मात्र हिमायती आफू भएको दाबी गर्नेहरूले यस्ता कुरामा चासो दिएको पाइएको छैन । कुरा प्रस्ट छ, चुरे संरक्षणको कुरा गर्दा चुरेक्षेत्रका भूभाग मधेस भनिएको प्रदेश–२ मा हाल्नुपर्ने हुन्छ । जुन क्षेत्रमा पहाडी मूलका मानिसको सघन बसोवास छ । यसले उनीहरूको सत्ता राजनीतिमा धक्का लाग्छ । त्यसैले, उनीहरू यता ध्यान नदिएर मधेसी जनताको ध्यान मोड्न आफू चढ्ने गाडी थोत्रो भएको गुनासो गर्छन् । संघीय सरकारले थोत्रा गाडी पठाएर मधेसीलाई हेपेको भन्दै जनता भड्काउ भाषण गर्छन् । तर, उनीहरूले तराई–मधेस रहे मात्र यसको हिमायतीका नाममा राजनीतिक रोटी सेक्न सकिन्छ भन्ने बुझ्न आवश्यक छ । चुरे संरक्षण भए मात्र तराई–मधेस सुरक्षित रहने भएकाले चुरे संरक्षणका लागि मधेसवादी भन्नेहरूले नेतृत्व लिन आवश्यक छ ।

प्रतिक्रिया