मन्त्रिपरिषद् विस्तारपछिका प्रतिक्रिया


-डा. डिआर उपाध्याय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार आशालाग्दो छ । किनभने यो वर्तमान मन्त्रिपरिषद्मा सात जना मन्त्रीहरू सबैले रुचाएका र आशालाग्दा देखिन्छन् । जस्तै, लालबाबु पण्डित, मातृका यादव, गोकर्ण विष्ट, रामबहादुर थापा, प्रदीप ज्ञवाली, रविन्द्र अधिकारी, डा.युवराज खतिवडा लगायतका हुन् । वर्तमान सरकारका केही कमजोरी पनि छन् ।

पटकपटक सरकारमा गएका तर जनताको नाममा सिन्कोसमेत नभाँचेका मन्त्रीहरू दोहोरिनु राम्रो कुरा होइन । धेरै उर्जावान र राम्रा व्यक्तिहरूलाई मन्त्री नबनाइनु सरकारको कमजोरी हो । जस्तै माओवादीबाट जर्नादन शर्मा र एमालेबाट योगेश भटराई यो मन्त्री परिषद्मा सामेल हुनै पर्दथ्यो । किनभने देश बनाउने यो महान अभियानमा यी व्यक्ति छुट्नु भनेको राम्रो कुरा होइन ।

किनभने यी आशलाग्दा नेता हुन् । सबैबाट रुचाइएका पनि हुन । सकिन्छ भने अझै सामेल गराउँदा केही बिग्रँदैन । यो समय भनेको विकास र समृद्धिको यात्रा तय गर्ने हो । राम्रा राम्रा मन्त्रीको जरुरी छ । लोभ लालच र धन सम्पति आफ्नो व्यक्तिको नाममा थुपार्ने सोच भएका नेता र मन्त्री यो देशलाई चाहिएको छैन । देशले अपेक्षा गरिरहेको मार्गमा अघि बढ्ने सोचका नेता र मन्त्री हामीलाई चाहिएको छ । त्यो नै मुख्य विषय हो । समावेशी , समानुपातिकता, लैंगिक समावेशिता आदि कोणबाट हेर्दा सरकारमा धेरै क्षमतावान व्यक्ति छुट्नुभएको कुरा यति बेला टिका टिप्पणी हुन थालेको छ ।

जे भए पनि अब सरकारले गति दिनुपर्छ । जनताले आश गरेको काम पूरा हुनुपर्छ । यो सरकारबाट जनताले धेरै थोकको आशा गरेका छन् । देशको भाग्य र भविष्य निर्माणका लागि ओली सरकारलाई जनताले ठूलो आशा र भरोसाका रूपमा हेरेका छन् । भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिनु सरकारको प्रमुख कर्तव्य हो । सरकार त्यही दिशातर्फ लागिरहेको छ । सरकारले धेरै काम गर्नुपर्ने आवश्यकता देखिएको छ । चुनावमा प्रतिबद्धता गरेका कुराहरूको काम सबैभन्दा पहिला सरकारले पूरा गर्नुपर्छ ।

जनताले यो कुराको धेरै महत्वका साथ हेरेका छन् । नेपाली जनताको चाहना र आवश्यकतालाई हेर्नु पर्ने आवश्यकता रहेको छ । लामो समयको अन्तरालपछि मुलुकले इतिहासकै सबैभन्दा बलियो र शक्तिशाली सरकार पाएको छ ।मधेस केन्द्रित दलहरूको समर्थन वर्तमान सरकारले पाएको छ । लामो समयदेखि जनताले एउटा स्थिर सरकार खोजिरहेका थिए । अब वर्तमान सरकारले मुलुकलाई स्थिरता दिन्छ भन्ने सबैले आशा गरेका छन् । अहिले मुलुकले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाकाअध्यक्ष, उपाध्यक्ष, आदि पाएको छ ।

यो सरकारको शक्ति हो । यो सरकारका लागि अबका दिनमा राजनीतिक स्थिरताका लागि गर्नुपर्ने काम बाँकी छैन । देशमा सबै तहका निर्वाचन सम्पन्न भइसकेका छन् । अब राजनीतिक स्थिरताका लागि संविधानलाई सर्वस्वीकार्य बनाउनु हो । मधेस , जनजाति लगायतका दल समूहहरूको उचित खालको मागलाई सम्बोधन गर्दै सरकार अघि बढ्नुपर्छ । अहिले देशको आर्थिक अवस्था कमजोर छ । देशको आर्थिक अवस्थालाई सुधारेर जानुपर्ने आवश्यकता देखिएको छ ।

हामीभन्दा धेरै पछि अस्तित्वमा आएका मुलुक निकै समृद्धि र विकसित भइसकेका छन् । हामीसँग धेरै सम्भावना साधन र स्रोत हुँदा हुँदै पनि देशको विकास र समृद्धि हुन सकेन । यो भन्दा कमजोरी अरू के हुन सक्छ ? यो देशलाई आर्थिकरूपमा सम्पन्न बनाउन वर्तमान सरकार गम्भीररूपले लाग्नुपर्छ । सरकार सामु अवसर र चुनौती दुवै छन् । यसका लागि सरकारले चुनौतीलाई पार लगाउँदै अवसर खोज्नुपर्छ । अहिले अर्थमन्त्री सम्बन्धित मन्त्रालयको ज्ञाता हुनुहुन्छ । त्यसले पनि आश गर्ने ठाँउ छ ।

उहाँसँग राष्ट्रिय योजना आयोगदेखि राष्ट्र बैंकको गभर्नरसम्मको अनुभव छ । त्यसैले देशको आर्थिक अवस्था राम्रो हुन्छ की भन्ने जनताको आश छ । त्यही अनुसार अर्थमन्त्रीज्यूले कामलाई अगाडी बढाउनुपर्छ । सरकारले गर्नुपर्ने काम धेरै छन् । यो देशमा सडक सञ्जाल विस्तार हुनु अति आवश्यक छ ।  हिमाल, पहाड, तराई, मधेश लगायतका ठाँउको गाउँगाउँसम्म बाटो पु¥याउनुपर्ने जरुरी देखिन्छ । सबै ठाउँमा विकास हुनुपर्छ । अनि मात्र देशको विकास हुन्छ । धनी गरिबबीचको खाडल छिटो पुरिनुपर्छ ।

धनी , धनी बन्दै जाने , गरिबको अवस्था नाजुक बन्दै जाने हो भने देशले प्रगति गर्न सक्दैन । यो कुरामा सरकारको ध्यान जान जरुरी छ । देश रेमिट्यान्सको भरमा चलेको छ । यसरी देशको विकास गर्न सकिँदैन । हाम्रा युवाहरूलाई स्वदेशमैे रोजगार दिने काम गर्नुपर्छ । रेमिट्यान्सको लोभ गरेर देश बर्बाद गर्नुहुँदैन । देश बनाउने कुरामा सबैले सोच्नुपर्छ । देशका युवाहरूलाई विदेश निर्यात गर्ने होइन, स्वदेशमा काम दिएर राख्ने वातावरण निर्माण गर्नुपर्छ । यो सरकारको काम हो । हामी जल स्रोतमा सम्पन्न छौँ । तर, केही गर्न सकिरहेका छैनाैँ ।

हाम्रो देशमा खानी छ, त्यसको उत्खननतर्फ हाम्रो ध्यान नै गएन । पर्यटनको अत्याधिक सम्भावना बोकेको देश हो । तर हामीले प्रशस्त मात्रमा पर्यटकहरू भित्र्याउन सकेका छैनाैँ । कृषि पेसालाई पनि वैज्ञानिक बनाउन सकेका छैनाैँ । परम्परागत तरिकाले खेतीपाती गर्दा प्रगति गर्न सकिँदैन । यी हरेक क्षेत्रलाई गम्भीर गृहकार्य गरेर सरकारले काम थालनी गर्नुपर्छ । यो देशमा झण्डै दुईतिहाइ बहुमतसहितको कम्युनिस्ट सरकार बनिसकेको छ । दक्षिण एसियामा हुँदै नभएको कम्युनिस्ट सरकार नेपालमा दुईतिहाइ बहुमतका साथ हुनु दुनियाँलाई आश्चर्यको विषय हो ।

त्यसैले के यो सरकारले साँच्चैको साम्यवाद ल्याउँछ की भन्ने त्रास पनि छ । यो सरकारले संसारका अन्य कम्युनिस्ट सरकार भएका देशमा जस्तै शासन सत्ता चलाउँछ कि भन्ने कुराले केहि तत्वहरू अतालिएका छन् । आत्तिनुपर्ने आवश्यकता छैन । किनभने यो सरकार चुनावको माध्यमबाट आएको सरकार हो । अब यो सरकारको अर्जुन दृष्टि विकास समृद्धि र सुशासनमा हुनुपर्छ । विगतमा स्थिर सरकार नभएकै कारण विकास र समृद्धिले बाटो लिन सकेन । अब सरकार स्थिर बन्नुपर्छ ।

कर्मचारीहरू पनि राजनीति गर्न छोडेर जनतालाई सेवा दिने कुरामा दत्तचित्त भएर लाग्नुपर्छ । सबै मिलेर नै देशको विकास हुने हो , एक्लै विकास गर्न सम्भव छैन । अब सामूहिक सहकार्यको खाँचो छ । देशले खोजेको बाटोमा जान तयार हुनुपर्छ । देश काल परिस्थितिअनुसार देशलाई अगाडि बढाउनुपर्छ । हामी सधैँ यहि अवस्थामा रहिरहन सक्दैनाैँ ।अरू देशको तुलनामा प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ । त्यसो भयो भने मात्र देश बन्छ । जनताका समस्या समाधान गर्ने किसिमले सरकार अघि बढनुपर्छ ।

अब देशले एउटा बाटो लिएको छ । सरकारदेखि बाहिर रहेका दलहरूलाई पनि चित्त बुझाएर जानुपर्छ ।सबै दलहरूलाई मिलाएर जान सकियो भने मात्र लक्ष्य हासिल गर्न सकिन्छ । अब कुरा मात्र होइन , सरकार एक्सनमा आउनुपर्छ । अहिलेसम्म केहि प्रगति हुन सकेको छैन । जनताको मन नै छुने गरी प्रगति गर्नुपर्छ । जनताले यो सरकारबाट राम्रो काम होस भन्ने चाहेका छन् । सरकारले गर्नुपर्ने काम योजनाबद्ध रूपले अगाडि बढाउनुपर्छ । अनि मात्र सरकार सफल हुन्छ ।

प्रतिक्रिया