माध्यमिक शिक्षा परीक्षा (एसइई) र मर्यादाका आयाम

मानवशास्त्री तथा अधिवक्ता हुन्

लेखकःमनाेहर कार्की

-मनोहर कार्की समकालिक शिक्षा ऐनको परिवेश र तत्जनित व्यवस्थाअनुसार माध्यमिक शिक्षा परीक्षा (एसइई) यहीँ ८ चैतबाट देशभर सञ्चालन भइराखेको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने यस वर्षको एसइई परीक्षामा नियमित तथा एक्जाम्टेड (ग्रेडिङ वृद्धि तथा अनुत्तीर्ण समूह) समेतमा गरी देशभरका विभिन्नविद्यालयका परीक्षार्थी सहभागी छन् ।

परीक्षालाई समयानुकूल अनुशासित, मर्यादित तथा व्यवस्थित बनाउने दिशामा शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड र अन्य सरोकारवाला निकायको भूमिका तथा व्यवस्थापनका सवालमा सहकार्यको निरन्तरता अपरिहार्य छ । यसका साथै विगत तीन वर्षदेखि लिइएको प्राविधिक धार अन्तर्गतको परीक्षामा यस वर्ष पनि विभिन्न विद्यालयका परीक्षार्थीको सहभागिता रहेको छ । यस वर्षको एसइई परीक्षामा देशभरका विद्यालयका ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागिता रही १ हजार ९ सय ५६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

नियमिततर्फ ४ लाख ५२ हजार ७ सय ८१, प्राविधिकतर्फ ८ हजार ७ सय ३४ तथा एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी सहभागी छन् । अक्षरांकन मूल्यांकन पद्धती (लेटर ग्रेडिङ्) का आधारमा नतिजा प्रकाशित गरिने व्यवस्थाको सुरुआतसँगै मूल्यांकन पद्धतीमा विश्वका कतिपय देशमा निकै अघिदेखि प्रचलनमा आएको यस पद्धतीलाई हाम्रो परीक्षाको मूल्यांकन प्रणालीमा स्थापित गराउने सम्बन्धित निकायको सक्रियता र नीतिगत थालनीलाई निकै हदसम्म सकारात्मक सुरुआत भनी विभिन्न क्षेत्रबाट लिइएको छ । प्राविधिक धार अन्तर्गतको परीक्षाको नतिजा भने विगतका वर्षदेखि नै अक्षरांकन मूल्यांकन विधिका (लेटर ग्रेडिङ) आधारमा प्रकाशित गर्ने परिपाटी थालनी भई नै सकेको हो ।

यसका साथै अक्षरांकन मूल्यांकन पद्धतीका आधारमा परीक्षा परिणाम प्रकाशन गर्ने पद्धतीका सकारात्मक र केही नकारात्मक पक्षका बारेमा पनि शिक्षाविद् तथा तत्सम्बन्धी क्षेत्रका क्रियाशील निकायबीच बहस पनि भई नै आएको छ । विशेषतः यस पद्धतीका कमजोर पक्षका रूपमा बहसको उठानका रूपमा परीक्षामा सम्मिलित हुने कोही पनि विद्यार्थीलाई लव्धांकपत्रमा अनुत्तीर्ण उल्लेख नहुने गरी परीक्षा परिणाम प्रकाशित गरिने हुनाले पढ्ने पढाउने परिपाटीमा कतै ह्रास पो आउँछ कि भन्ने औँल्याइएको छ । अर्कोतिर उत्तीर्ण हुने सबै विद्यार्थीले उच्चशिक्षामा सहज पहुँच कसरी प्राप्त गर्न सक्दछन् भन्ने कुराको बहस पनि निरन्तर रहने देखिन्छ ।

यस मानेमा उच्चशिक्षाको पहुँचमा सबै विद्यार्थीलाई समावेशीकरण गर्नुपर्ने आवश्यकताबोध तथा तत्जनित नीतिगत परिपाटीलाई कार्यान्वयन तहमा ल्याउने दिशामा परिणाममुखी कामको व्यग्र प्रतिक्षा पनि रहेकै छ । यस वर्षको एसइई परीक्षाका विशेषताका रूपमा माध्यमिक शिक्षा पाठ्यक्रम ०७१ अनुसार नयाँ पाठ्यक्रमको ढाँचामा तयारी गरिएको प्रश्नपत्रमा आधारित रहेर परीक्षार्थीले परीक्षा दिइराखेका छन् । साथै अनिवार्य विषय गणित बाहेकका बाँकी विषयमा निश्चित अंकभारको प्रयोगात्मक परीक्षाको व्यवस्था पनि गरिएको छ ।

विगतका केही वर्षदेखि परीक्षामा सम्मिलित हुने परीक्षार्थीमा छात्रभन्दा छात्राको संख्या बढ्दो क्रममा छ । यस वर्षको नियमित परीक्षार्थी ४ लाख ५२ हजार ८ सय ८१ मध्ये २ लाख ३० हजार ९ सय ७६ छात्रा छन् । यो संख्या छात्रभन्दा छात्राको ९ हजार १ सय ७१ ले बढी हुन आउँछ । मध्यमस्तरीय तथा निम्न मध्यमस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने प्राविधिक शिक्षालयमा विद्यार्थीको रुचि, ल्याकत तथा आर्थिक भारवहनता समेतका आधारमा शिक्षा आर्जन गर्ने सहज वातावरण निर्माणका दिशामा परीणाममुखी काम हुन सकेमा यस्ता परीक्षाको मूल्यांकन तथा मर्यादाले थप उचाइ पाउन सक्ने थियो ।

पछिल्लो समयमा वर्तमान सरकारले प्रत्येक स्थानीय तहमा एक प्राविधिक विद्यालय सञ्चालन गर्ने नीतिगत कार्यक्रम अघि बढाउने दिशामा पहलकदमीलाई प्राथमिकताका आधारमा अघि बढाएमा अबका युवापुस्ता रोजगारमूलक तथा हातमा सीप भएको गरी खानसक्ने जनशक्तिका रूपमा रोजगार बजारमा आउन सक्ने थियो । जसले गर्दा भोलिको दिनमा श्रमबजारको मागअनुसार नेपाली युवा जनशक्तिले स्वदेश तथा विदेशमा पनि ज्ञान र सीप अनुसारको काम र काम अनुसारको दाम पाउन सक्ने थिए ।

साथै आजको प्रतिस्पर्धाको बजार अर्थतन्त्रले गाँजेको विश्वमञ्चमा नेपाली जनशक्ति पनि अब्बल श्रमशक्तिका रूपमा उभिने वातावरणको निर्माणमा सरकार तथा अन्य सरोकारवाला निकायको समन्वयकारी सहकार्य भएमा थप ऊर्जा मिल्ने थियो । वास्तविक रूपमा भन्ने हो भने एसइई परीक्षा विगत वर्षका एसएलसी परीक्षाकै रूपान्तरित नियमित परीक्षा भएकाले परीक्षामा सहभागी हुने हजारौँ विद्यार्थीको मिहिनेत तथा भाग्यको फैसला गर्नेछ, र उच्चशिक्षाको स्वर्णिम ढोका खोल्ने नै छ ।

परीक्षालाई विद्यालय शिक्षाको १० वर्ष अध्ययनको मूल्यांकन तथा उच्चशिक्षाको खुट्किलो तर्फको अग्रगमनका रूपमा लिन सकिन्छ । यो परीक्षा वास्तवमै हाम्रो विद्यालय शिक्षाको नितान्त नियमित तर महत्वपूर्ण परीक्षा हो । परीक्षाप्रति देशव्यापीरूपमा चासो र उत्साह रही आएकै छ । यो उत्साह र चासोको संस्कृति शिक्षाक्षेत्रमा केही लामो समयसम्म रही नै रहला । किनकी, यस परीक्षाले परीक्षामा सहभागी हुने विद्यार्थी, तिनका अभिभावक तथा परीक्षामा सम्मिलित गराउने विद्यालय तथा शिक्षाक्षेत्रमा सरोकार राख्ने सरकारी तथा अन्य निकायहरूको समेत उत्तिकै चासो र जिज्ञासाको विषय रही आएको छ ।

हालको प्रचलित विद्यालय शिक्षासम्बन्धी नीतिगत अवधारणाअनुसार विद्यालय शिक्षालाई दुई तहमा विभाजन गरी कक्षा १ देखि ८ सम्म आधारभूत तह र कक्षा ९ देखि १२ सम्म माध्यमिक तह कायम गरी पठनपाठनका कार्यक्रमहरू सञ्चालन भइआएको सन्दर्भमा यस परीक्षाप्रति चासो र सरोकारमा खास मानेमा तात्विक भिन्नता नआउने अनुमान गर्न सकिन्छ । किनकी विद्यालय शिक्षाको १० वर्षको अध्ययन पश्चात्को माथिल्लो तहको ११÷१२ कक्षाको अध्ययनमा कुन विषय तथा धारमा अध्ययन गर्ने हो विद्यार्थीले आफूलाई अब्बल विद्यार्थीका रूपमा उभ्याउनुपर्ने भएकोले पनि यस परीक्षाको महत्व र उपादेयता रहेकोमा कसैको दुई मत नरहला ।

परीक्षालाई अनुशासित, मर्यादित तथा मूल्यको विषयवस्तुका रूपमा यसको गरिमा र शाखलाई कायम गर्ने दिशामा सम्बन्धित सरकारी निकाय, विद्यालय, अभिभावक तथा स्वयं परीक्षार्थीको दायित्व र भूमिका महत्वपूर्ण रही आएको छ । परीक्षा सञ्चालक निकायको नेतृत्वदायी तथा समन्वयकारी भूमिकाको जति आवश्यकता महसुस गरिएको छ, त्योभन्दा महत्वपूर्ण कुरा यस परीक्षालाई व्यवस्थित तथा उच्च मर्यादित वनाउने दिशामा सबै सरोकारवाला निकायहरूको आ–आफ्नो स्थान र क्षेत्रमा दायित्वबोध हुनुपर्दछ ।

यस मानेमा सबैभन्दा पहिलो दायित्व परीक्षामा सम्मिलित हुने परीक्षार्थी आफैँले परीक्षालाई आफ्नो १० कक्षासम्मको विद्यालय शिक्षाको मूल्यांकनको वास्तविक घडीका रूपमा लिएर आफ्नो मिहिनेत र परिश्रमको प्रतिफल प्राप्तितर्फको अभियानको रूपमा लिई परीक्षामा सहभागी हुनुपर्ने देखिन्छ । यसका साथै परीक्षालाई कुनै अदृश्य हाउगुजी वा कठिनतम परीक्षाको मापनका रूपमा नलिएर यसलाई आफ्नो मिहिनेत र सम्बन्धित तहको शिक्षामा हासिल गरेको ज्ञानलाई परीक्षाका माध्यमबाट रूपान्तरण गर्ने अवसरका रूपमा लिन सकेको खण्डमा उच्च अंकका साथ परीक्षामा उत्तीर्ण हुन सकिन्छ नै ।

परीक्षार्थीले कुनै पनि खालको डर र भयको नकारात्मक मनोविज्ञानबाट आफूलाई टाढा राखेर सकारात्मक सोचका साथ परीक्षालाई लिन सकेको खण्डमा सफलताको पाइला अवश्य पनि पाउन सकिन्छ । भोलिका दिनमा ११ कक्षाको शिक्षामा विज्ञान, व्यवस्थापन, मानविकी वा शिक्षाशास्त्र अनि प्राविधिक धारतर्फको विधामा अध्ययनलाई निरन्तरता दिने दिशामा यस एसइई परीक्षा परिणामले नै निर्धारण गर्ने भएकाले परीक्षामा सहभागी विद्यार्थीले अझ मिहिनेत र परिश्रमका साथ परीक्षामा सफलता पाउने दिशामा आफूलाई क्रियाशील बनाउनु आवश्यक छ । परीक्षालाई उच्च विश्वस्त तथा मर्यादित वनाउने सवालमा राष्ट्रिय परीक्षा बोर्डले अघि बढाउने एकीकृत आचारसंहिता कार्यान्वयनको विशेष महत्व छ ।

आचार संहिताका भावना र सारको सम्बन्धित सरोकारवालाहरूले अक्षरशः पालना गरिएको खण्डमा अवश्य पनि एसइई परीक्षालाई मर्यादित, अनुशासित तथा विश्वसनीय बनाउने दिशामा नयाँ आयाम थपिने नै छ भन्ने कुरामा आशावादी हुन सकिन्छ । वास्तविक रूपमा एसइई परीक्षालाई व्यवस्थापन र सञ्चालनका हिसाबले उच्चकोटीको बनाउने दिशामा प्रत्येक जिल्लामा परीक्षाको समन्वयकारी तथा नेतृत्वदायी भूमिका निर्वाह गरी आएको जिल्ला स्तरीय परीक्षा समन्वय समितिको दायित्व अझ प्रखररूपमा कार्यान्वयन तहमा आउनु आवश्यक छ ।

विशेषतः नेपालका तराईका विभिन्न परीक्षा केन्द्रहरूमा परीक्षामा अनियमितता र चिट चोराउने गलत संस्कृति नछुटेको अवस्थामा त्यसमा कडाइका साथ अनुगमन तथा नियन्त्रणका उपायहरू तदारुकताका साथ अवलम्बन गरिनु पर्दछ । परीक्षा सञ्चालन तथा उच्च व्यवस्थापनका सन्दर्भमा जिल्लास्तरीय परीक्षा समन्वय समिति, परीक्षा सञ्चालनका लागि तोकिएका परीक्षा केन्द्र रहने विद्यालय तथा परीक्षाका केन्द्राध्यक्षहरूको नै महत्वपूर्ण भूमिका र नैतिक दायित्व रहेको हुन्छ । परीक्षा केन्द्रको आन्तरिक वातावरण तथा परीक्षा केन्द्रभन्दा बाहिरको आसपासको वाह्य वातावरणले परीक्षालाई शान्तिपूर्ण, मर्यादित तथा अनुशासित बनाउने दिशामा महत्व राख्दछ ।

जसका लागि जिल्ला स्तरीय परीक्षा समन्वय समितिले आफ्नो नेतृत्वदायी तथा समन्वयकारी भूमिका निर्वाह गर्ने दिशामा कुनै किसिमको मुलाहिजा तथा कन्जुस्याइँ गर्नु हँुदैन् । यस दिशामा सुरक्षा निकायको उपस्थिति तथा दायित्वलाई महत्व दिएर आवश्यक समन्वयकारी भूमिका निर्वाह गरिएको खण्डमा परीक्षाकेन्द्रको शान्ति, सुव्यवस्था कायम भई परीक्षार्थीले सबै खालका मनोवैज्ञानिक त्रास र भयबाट मुक्त रहने थिए । परीक्षामा सहभागी हुने विद्यार्थीलाई मनोवैज्ञानिक रूपमा परीक्षाप्रति सकारात्मक भावनाको सोचको विकास गर्ने दिशामा अभिभावक, विद्यालय तथा पठनपाठन गराउने शिक्षक शिक्षिकाहरूको पनि अहं भूमिका रहेको हुन्छ ।

परीक्षालाई सहज र नियमित प्रक्रियाको रूपमा लिन अनि परीक्षा हलमा आफूले अध्ययन गरेको ज्ञान र सीपलाई रूपान्तरण गर्ने माध्यमका रूपमा लिन सकेको खण्डमा परीक्षामा अवश्य पनि राम्रो नतिजा ल्याउन सकिन्छ । यसका लागि परीक्षा हलभित्रको वातावरण निकै हदसम्म सकारात्मक प्रभाव पार्ने खालको बनाउनका लागि परीक्षाका केन्द्राध्यक्ष तथा निरीक्षकको अहं भूमिका रहन्छ । जसको फलस्वरूप परीक्षामा सम्मिलित विद्यार्थीले शान्तिपूर्ण तथा सहज वातावरणको अनुभूति गर्न पाउन सक्नेछन् ।

परीक्षाको निम्नतम मर्यादा र आचार संहितालाई पालना नगर्ने जो–कोही सरोकारवाला तथा परीक्षाका केन्द्राध्यक्ष र निरीक्षकहरूलाई आचरणअनुसार पुरस्कार र दण्ड जरिवानाको कडाइका साथ कार्यान्वयन गरिएको खण्डमा अवश्य पनि उत्साहजनक परिणाम पाउन सकिन्छ । विशेषतः विगतका लामो अनुभवको आधारमा मूल्यांकन र विश्लेषण गरिएको खण्डमा नेपालका दक्षिणी तराई क्षेत्र तथा दुर्गम पहाडी भेगका परीक्षा केन्द्रहरूमा परीक्षाको मर्यादा तथा निम्नतम मान्यताभन्दा तल गएर परीक्षामा अनियमितता र गैरजिम्मेवारीपूर्ण कार्यकलाप भई आएको सन्र्दभमा यस वर्षको एसइई परीक्षामा यस्ता अमर्यादा तथा अनियमितता निमिट्यान्न पार्ने दिशामा सम्बन्धित सबै सरोकारवाला निकायहरूको गम्भीर ध्यानाकर्षण बेलैमा हुनसक्नु पर्दछ ।

फलस्वरूप परीक्षाको गरिमा र मर्यादालाई कायम गर्न अवश्य पनि सकिन्छ । परीक्षा विद्यार्थीहरूले उच्च शिक्षाको सुनौलो ढोका खोल्ने माध्ममका रूपमा लिने वातावरण सिर्जना गर्ने दिशामा हामी सबैको चासो र सरोकार हुनुपर्दछ । साथै परीक्षालाई मर्यादित, अनुशासित तथा भयरहित बनाई हजारौँ विद्यार्थीले यसलाई आफ्नो मिहिनेतको कसी तथा उज्ज्वल भविष्यको आरम्भका रूपमा लिन सक्ने थिए । हामी पूर्णतः आशावादी छौँ कि यस वर्षको एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापनमा चुस्त आयाम रहने नै छ, जसका लागि सरोकारवाला निकायहरूले इमानदारीका साथ कार्यान्वयन तहमा खरो रूपमा उत्रिन सक्नुपर्दछ । (लेखक मानवशास्त्री तथा अधिवक्ता हुन्)

प्रतिक्रिया