-अप्सरा गाैतम काठमाडौंको बागबजारमा बस्ने रमिता खड्काको हरेक साँझ छोराछोरीलाई पुस्तक समात्न आग्रह गर्दागर्दै बित्छ । पुस्तक समात्न, पढ्न, गृहकार्य गर्न सुझाउँदै गर्दा उनी थकित हुन्छिन्, तैपनि उनका छोराछोरी टिभी र मोबाइल फ्याँकेर पुस्तक समात्न मान्दैनन् । उनको मात्रै समस्या होइन यो । पछिल्लो समय थुप्रै बालबालिकाका अभिभावकलाई छोराछोरीको पढाइले चिन्तित तुल्याएको छ । समयको परिवर्तन र प्रविधिको विकास सँगसँगै हिजोआज बालबालिकामा पुस्तक पढ्ने बानी पनि परिवर्तन हुँदै गएको छ ।
फेसबुक, भिडियो गेम, यु्ट्युबजस्ता कुरामा घन्टौँसम्म अल्झने तर, पुस्तक पल्टाएरै नहेर्ने । सँगै गुगलमा खोजेर पढ्ने, यु्ट्युबमा हेरेर नयाँ कुरा सिक्न रुचाउने । बालबालिकाको यस्तो बानीले अबका नयाँ पुस्ता कस्ता बन्ने हुन् त भन्ने चिन्ताको बाटो कोरिदिएको छ । यो विषयले के विद्यालयको पाठ्यपुस्तकमा समावेश गरिएका विषय वस्तु मात्रै जीवनउपयोगी हुन् त भन्ने प्रश्न पनि तेस्र्याएको छ । सँगै प्रविधिसँगै विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्ने तथा बालबालिकालाई पढाइप्रति ध्यानाकर्षण गराउने हिसाबले मात्र पाठ्यक्रम तयार पार्ने हो कि भन्ने विषयमा गम्भीर हुने समय आएको छ ।
प्रविधिको सकारात्मक पाटोसँगै यसको नकरात्मक प्रभावले निक्कै ठाउँ ओगटेको छ । नयाँ पुस्ताको जीवनमा अपरिहार्य बनेको प्रविधिको असर स्कुले बालबालिकालाई सोझै परेको छ । बालरोग विशेषज्ञहरू सानै उमेरदेखि अत्याधिक मोबाइल, ल्यापटप, डेस्कटपमा झुन्डिरहने बालबालिकामा विभिन्न शारीरिक समस्या भेटिएको बताउँछन् ।
पुस्ता नै तार्किक र जिज्ञासु
शिक्षाविद् डा. भोलानाथ कोइराला भन्छन्, ‘जिज्ञासु हुनु बालबालिकाको प्राकृतिक स्वभाव हो ।’ त्यसमा पनि विज्ञान र प्रविधिको विकाससँगै हुर्किएका बालबालिकामा स्वभाविक रूपमा पुराना पुस्ताभन्दा बढी जिज्ञासा हुने गर्छ । उनी भन्छन्, ‘पुस्ता नै जिज्ञासु छु, हरेका विषयको तर्क खोज्छन्, तर्क अनुसार चित्तबुझ्दो जवाफ चाहान्छन्, अनि मात्र बुझाएको कुरा सम्झन्छन् । बालबालिकालाई पाठ्पुस्तकमा समावेश गरिएका विषयवस्तु मात्रै रटान गर्न लगाउनु गलत हो भन्छन् शिक्षाविद् डा. कोइराला । उनको बुझाइमा अनावश्यक रूपमा फेसबुक, भाइबर, युट्युब, जस्ता विषयमा झुन्डिनु गलत हो । तर, गुगल तथा युट्बबाट पाठ्यक्रममा समावेश गरिएका विषयलाई खोजी गरी पढ्नु अत्यन्तै राम्रो पक्ष हो ।
उनले अभिभावकले छोराछोरी पढेनन् भनेर गुनासो गर्नुभन्दा पनि कुन तरिकाले पढ्दा उचित हुन्छ र समयसापेक्ष हुन्छ भन्ने बुझ्नु आवश्यक भएको बताउँछन् ।अबको शिक्षा पाठ्यक्रम घोक्ने खालको भन्दा पनि सैद्धान्तिक रूपमा दिएका पाठलाईसमेत प्रयोगात्मक ढंगबाट अध्ययन गर्ने खालको हुनु आवश्यक छ । पाठ्यक्रममा समावेश भएका विषयलाई दृश्यात्मक तथा अडियो रूपमा एक साथ तयार गरि विद्यार्थीलाई पढाउने हो भने प्रभावकारी हुने उनको बुझाइ छ । यति मात्र होइन, यसले विद्यार्थीको पढाइप्रतिको आकर्षण नै बढाउने, उनी बताउँछन् ।
नयाँ पुस्ता पुरानो डर्राको शैक्षिक पद्धतीलाई दोहो¥याउने भन्दा पनि प्रयोगात्मक, खोजमूलक तथा व्यावहारिक शिक्षा प्रणाली, विषयवस्तु तथा पाठ्क्रमलाई अबलम्बन गर्न चाहान्छन् । हरेक विषयमा तार्किक प्रश्न गर्ने आजका पुस्तालाई बुझ्नु नसक्नु विद्यालय, अभिभावक तथा स्वयं हाम्रै कमजोरी हो । नैतिकता, चरित्र, सामाजिक सांस्कृतिक लगायतका हरेका विषयमा तर्क खोज्ने आजका बालबालिकालाई परिणाममुखी सिकाइ दिन आवश्यक भएको उनी बताउँछन् । सरकारी तथा निजी दुवै विद्यालयमा पावरप्वाइन्ट, कम्प्युटर, इन्टरनेट, ल्यापटप, मोबाइलजस्ता प्रविधि जरुरी छ ।
यस्ता प्रविधिका बारेमा मात्र नभई हाम्रा पुराना साधन कुटो कोदालो, खुर्पा, हँसिया, खुर्पानीजस्ता विषयको उपयोगिता बारे पढाउनेभन्दा तिनको प्रयोगमार्फत अध्यापन गराउनु आवश्यक देखिन्छ । उनी भन्छन्, ‘बालबालिकाको जिज्ञासाकाकोे सही सत्य जवाफ दिने तथा व्यावहारिक, सीपमूलक, प्रयोगात्मक तथा उपलब्धीमूलक सिकाइलाई जोड दिए पाठ्यपुस्तक मात्रै पढ्नै पर्छ भन्ने छैन ।’ उनको बुझाइमा बालबालिकाले पढेन भन्दा पनि विद्यालाय तथा अभिभावकले कुन हिसाबाट सिकाउँदा बुझ्छन् भन्ने बुझ्नु आवश्यक छ ।
प्रविधि नै सिकाइको माध्यम हो
त्रिचन्द्र कलेजका मानवशास्त्रका संकायका उपप्रध्यापक तथा मनोसामाजिक परामर्शदाता नारायणप्रसाद शर्मा बालबालिकाको उचित सिकाइका लागि विद्यालय र घरको वातावरणले ठूलो असर पार्ने बताउँछन् । विद्यालयमा कुन तरिकाले सिकाइन्छ, कस्तो प्रविधि प्रयोग गरिन्छ तथा घरपरिवारमा कस्तो वातावरण रहन्छ, भन्ने कुराले बालमनोविज्ञनलाई ठुलो असर पार्ने गर्छ । बालबालिकामा पुस्तक पढ्ने भन्दा पनि गुगल, फेसबुक, युट्युबजस्ता माध्यमबाट अध्ययन गर्ने जाने बानीको विस्तारै विकास भएको छ ।
उनी भन्छन्, अब किताबी सीमित ज्ञानले मात्रै पर्याप्त हुँदैन, खोजमुलक अध्ययन सँगै सिकाइलाई पनि जोड दिनु आवश्यक छ । ज्ञान, सीप र प्रविधिको प्रयोग आजको अनिवार्यता हो । प्रविधिलाई सिकाइसँग हरपल जोड्नु आवश्यक छ । बालबालिका आनावश्यक रूपमा इन्टरनेट, गुगल तथा युट्युमा झुन्डिने बानी गलत हो तर, किताबमा समावेश भएका विषयमा मात्रै सीमित नरही अुनसन्धानात्मक तथा खोजमूलक विषयमा जोड दिनु राम्रो पक्ष हो । पाठ्यक्रममा समावेश गरिएका विषयलाई युट्युब तथा गुगलमा उनीहरूले बुझ्ने हिसाबमा दिइएको हुन्छ ।
प्रयोगात्मक शिक्षालाई जोड दिन सिकाइन्छ । त्यसैले उनीहरू इन्टनेटरमा बढी झुन्डिने गर्छन् । अब बालबालिकाहरूलाई उनीहरूको इच्छाअनुरूप अनुकूल सिकाइको वातावरणमा पढाउनु आवश्यक छ । शिक्षाविद् मनप्रसाद वाग्ले बालबालिकालाई निर्बाध रूपमा कक्षाकोठामा नै ल्यापटप वा मोबाइल बोकेर इन्टरनेट चलाउन पाउने व्यवस्था मिलाउनुपर्ने बताउँछन् । उनी विद्यार्थीलाई सकेसम्म प्रविधिको उपयोगितासहित प्रयोगात्मक शिक्षालाई जोड दिए सीमित किताबी ज्ञान तथा पाठ्यक्रमभन्दा हजारौँ गुणा राम्रो हुन सक्ने बताउँछन् ।
प्रविधिको अँध्यारो पक्ष
शिक्षाविद् कोइराला भन्छन्, ‘प्रविधिको प्रयोगसँगै विकृति पनि बढेको छ । हामी जुनसुकै उमेरसमूहका भए पनि घन्टौँसम्म इन्टरनेटमा झुन्डिछौँ । अभिभावक नै बालबालिकाका प्रथम शिक्षक हुन् । बालबालिकालाई जस्तो वातावरण हुर्कायो उस्तै सिक्छन् । विद्यालयमा कस्तो वातावरण हुन्छ भन्ने कुराले भने बालमनोविज्ञानमा ठूलै असर पार्ने गर्छ । समयअनुसार इलेक्ट्रोनिक ग्याजेटहरूको प्रयोग भएता पनि लामोसमयसम्म इन्टरनेटमा झुन्डिरहने बानीले बालबालिकालाई निक्कै असर पु¥याएको छ ।
उनीहरू यस्तो बानी आफ्नै अभिभावकबाट सिक्ने हुन् । उनी भन्छन्, त्यति मात्रै होइन शारीरिक रूपमा समेत असर पर्ने गरी ग्याजेट चलाइन्छ, त्यो गलत हो । बालबालिकाले अध्ययनका लागि इन्टरनेट चलाएता पनि अश्लील भिडियो तथा फोटा, लागुऔषधको प्रयोग लगायतका कुराहरू छरपस्ट राखिएको हुन्छ । बाल मस्तिष्कका लागि यस्ता कुराले नकरात्मक असर पु¥याउँछ । तसर्थ, अध्यापन, सिकाइलाई प्राविधिक बनाउने योजनासहित बनाएका यस्ता नीतिले गलत परिणाम पनि दिन सक्छन् ।
बालबालिकालाई प्रविधिको प्रयोग गर्न सिकाउँदा विद्यालय तथा अभिभावकले निश्चित मापदण्ड बनाउन आवश्यक छ ।सँगै सकेसम्म बालबालिकालाई आफ्नो काम अाफैँ गर्न लगाउने तथा पढाइका अतिरिक्त खाली रहने समयमा अन्य कार्यमा व्यस्त गराई राख्ने हो भने यस्ता विकृतिबाट बच्न सक्छन् । प्रविधिको प्रयोगसँगै दुरूप्रयोग पनि बढेका छ । यसले विशेषतः किशोरअवस्थामा रहेका बालबालिकालाई निक्कै असर परेको छ ।
घर तथा विद्यालयमा निश्चित नीति निर्माण गरी अभिभावक तथा शिक्षक शिक्षिकाकै रोहबरहमा इन्टरनेटको प्रयोग प्राविधिक शिक्षालाई जोड दिन आवश्यक छ ।कान्ति अस्पतालका बालरोग विशेषज्ञ डाक्टर अजित रायमाझी पछिल्लो समय आँखा, कानमा समस्या बढेका बालबालिका उपचारका लागि आउने बालबालिकाको संख्या निक्कै बढेको बताउँछन् । उनले प्रविधिको प्रयोग बढेसँगै यसको नकरात्मक प्रभाव बढेको निष्कर्ष निकालेका छन् ।
सरकारले के गर्न सक्छ ?
सरकारले प्राविधिक तथा प्रयोगात्मक सिकाइलाई जोड दिनु आवश्यक छ । अबका बालबालिकाको छनोटमा छापिएका पुस्तकभन्दा पनि कम्प्युटर, ल्यापटप, इन्टरनेटजस्ता प्रविधिप्रति आकर्षण बढेकाले सरकारले प्रत्येक सरकारी विद्यालयमा ग्याजेट, नेट तथा बिजुलीको व्यवस्था मिलाउनु आवश्यक छ । विदेशी शैक्षिक प्रणाली तथा सिकाइको प्रक्रियालाई अंगिकार गर्दै व्यावहारिक ज्ञानको पाटो पहिल्याउन जरुरी देखिएको बताउँछन्, नेपालका शिक्षाविद् तथा मानवशास्त्रीहरू ।
बालबालिकाकाले नयाँ प्रविधिमा झुन्डिनुको अर्थ उनीहरू फरक तरिकामा खोजमुलक हिसाबबाट पढ्न चाहन्छौँ भन्ने प्रष्ट्याउन चाहान्छन् । उनीहरूको मनोविज्ञानलाई बुझेर इन्टरनेट किन चलाइसभन्दा पनि इन्टरनेटको सदुप्रयोगको तरिका सिकाउन जरुरी देखिन्छ । नेपालको पुरानो शैक्षिक पद्धती, वार्षिक परीक्षा आइसक्दा पनि विद्यालयमा पुस्तक नपुग्ने वातावरण तथा विद्यालय शिक्षामा अत्याधुनिक साधनको न्यून प्रयोगले हाम्रो सिकाइमा निक्कै ठूलो असर परिरहेको छ ।
साथै विद्यालयका शिक्षकले समेत यसबारे जानकारी लिने तथा सिक्न आवश्यक भएको शिक्षाविद् कोइराला बताउँछन् । अभिभावक, शिक्षक, विद्यार्थी तथा शैक्षिक प्रशासनले पनि यसप्रति ध्यानदिनु आवश्यक छ ।
प्रतिक्रिया