पाकिस्तानी प्रधानमन्त्रीको सन्देश

पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासी नेपालको दुई दिने भ्रमण गरी मंगलबार स्वदेश फर्केका छन् । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिने घोषित एजेन्डाका साथ उनले आकस्मिक रूपमा नेपाल भ्रमण गरेका हुन् । बधाई तथा शुभकामना दिन प्रधानमन्त्री स्वयं आइरहनुपर्ने आवश्यक थिएन । नेपाल र पाकिस्तानबीच त्यो स्तरको सम्बन्ध पनि होइन र परम्परा पनि होइन । पाकिस्तानका प्रधानमन्त्रीले नेपाल भ्रमण नगरेको १८ वर्ष बितिसकेको थियो । बधाई तथा शुभकामनाका लागि भनिए पनि पाकिस्तानी प्रधानमन्त्रीको यो भ्रमण सार्क संगठनको मामिलासँग जोडिएको छ । दुई वर्षअघि पाकिस्तानमा सम्पन्न हुने गरी तय भएको १९औँ सार्क शिखर सम्मेलन भारतका कारण अचानक रोकिएको थियो । पाकिस्तानी आतंककारीहरू काश्मिरको आफ्नो भूमीमा प्रवेश गरी आफ्ना १८ जना सैनिक मारेको भन्दै भारतले सार्क सम्मेलनमा सहभागिता नहुने जनाएको थियो । त्यसपछि सार्क शिखर सम्मेलनको विषयमा केही प्रगति भएको छैन, यतिवेला सार्क संगठन करिबकरिब मरेतुल्य छ । आँफू अध्यक्ष भएको वेला सार्क संगठनले गति लिन नसक्नु नेपालका लागि पनि प्रियकर होइन । यस सन्दर्भमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले अर्को विकल्पका लागि पनि आँफू तयार भएको वचन प्रधानमन्त्री ओलीलाई दिएका छन् । यदि भारतले पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनमा भाग लिँदैन भने अर्को मुलुकमा सम्मेलन गर्नेगरी विकल्प खोज्न आँफू तयार रहेको उनले बताएका छन् । पाकिस्तानी प्रधानमन्त्री अब्बासीको यो प्रस्तावले नेपाललाई निकै सहज भएको छ ।

पाकिस्तान नेपालप्रति यसरी लचिलो रूपमा प्रस्तुत हुनुको कारण भारतीय विदेशमन्त्री सुषमा स्वराजको डेढ महिनाअघिको नेपाल भ्रमणसमेत हो । ओली प्रधानमन्त्री हुनुभन्दा पहिले नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुईपटकसम्म टेलिफोन गरेरै बधाई दिएका थिए । नयाँ सरकार गठन नहुँदै उनले आफ्नो विशेषदूतका रूपमा विदेशमन्त्री स्वराजलाई नेपाल भ्रमणमा पठाएका थिए । नेपालमा ताजा जनादेशद्वारा निर्माण भएको करिब दुईतिहाइ बहुमत सहितको नयाँ सरकारसँग सम्बन्ध सुधार गर्न भारतद्वारा प्रयास सुरु भएको अवस्थामा पाकिस्तानद्वारा विशेष चासो दिइनु स्वभाविकै हो । ‘दक्षिणको छिमेकी मुलुक भारत सरहकै सम्बन्ध उत्तरको छिमेकी चीनसँग पनि राख्ने कूटनीति अघि सारेका ओली प्रधानमन्त्री बन्नु भनेको दक्षिण एसियाको शक्ति सन्तुलनमा परिवर्तन हुनु हो’ भन्ने विश्लेषण गरिएको थियो । ओलीको यो कूटनीतिलाई भारतीय प्रधानमन्त्री मोदीले पनि एक हदसम्म अनुमोदन गरेका छन् । यस्तो अवस्थामा नेपालको कूटनीतिक महत्व बढेको छ । पाकिस्तानी प्रधानमन्त्री अब्बासीको भ्रमण यसैको उपज हो । अन्तर्राष्ट्रिय जगतमा नेपालको शाख वृद्धि भइरहेको संकेत हो यो ।

भारत र चीनबीच सुमधुर सम्बन्ध छैन । धेरै भूभागमा सीमा विवाद छ । भारत र पाकिस्तान त अहिले पनि करिबकरिब युद्धकै अवस्थामा छन् । नेपालको तीनतिर भारतीय खुला सिमाना छ । नेपाल–भारतबीचको खुला सीमाको लाभ लिँदै चीन र पाकिस्तानले आफ्नो देशमाथि चलखेल गरिरहेको आरोप भारतले लगाउने गरेको छ । नेपालसँग हुने हरेक वार्तामा भारतले यो कुरा उठाउँदै नेपालमा आफ्नो सुरक्षा टोली तैनाथ गर्नुपर्ने माग राखिरहेको छ । यो माग निकै पुरानो हो । अहिलेसम्म नेपालको राजनीतिक व्यवस्था तथा सत्ता परिर्वतनमा भारतको यो मागको भूमिका रहँदै आएको छ । तर, पछिल्लो समयमा नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण आफ्नो गतिविधि परिर्वतन गर्न भारत वाध्य हुँदै छ कि जस्तो देखिएको छ । पाकिस्तानी प्रधानमन्त्री अब्बासीको यो भ्रमणले दक्षिण एसियामा भारतको प्रभुत्व कमजोर हुँदै गइरहेको संकेत गरेको छ ।

प्रतिक्रिया