आज १९ माघ

इतिहासका कुनै दिनहरू यस्ता हुन्छन् जो चाहेर पनि बिर्सन सकिँदैन । चाहे सुखद् दिन हुन् या दुःखद् दिन हुन् इतिहासका त्यस्ता दिनले वर्तमान तथा भावी पुस्ताका लागि कुनै न कुनै सन्देश तथा प्रेरणा दिइरहेका हुन्छन् । १९ माघको दिनले पनि निश्चय नै नेपाली जनतालाई शासकको गतिविधिप्रति हर्दम सचेत भइरहनुपर्ने प्रेरणा दिएको छ । नेपालको इतिहासमा कोतपर्व, १ पुस ०१७, १९ माघ ०६१ को काण्ड राजनीतिक रूपमा अत्यन्त दुःखद घटनाका रूपमा अंकित छन् ।

यी तीन वटै काण्डले मुलुकको राजनीतिक घडीको सुईलाई उल्टो दिशामा घुमाएका थिए । कोतपर्वद्वारा स्थापित राणाशासनले मुलुकलाई १ सय ४ वर्ष अन्धकारमा राखेको थियो भने १ पुस ०१७ सालको काण्डले ३० वर्षसम्म मुलुकलाई अन्धकारमा राखेको थियो । तर, १९ माघ ०६१ को काण्डले भने मुलुकलाई लामो समयसम्म अन्धकारमा राख्न सकेन । सुरुको प्रतिगमन १ सय ४ वर्ष टिक्नु, दोस्रो प्रतिगमन ३० वर्ष टिक्नु र तेस्रो प्रतिगमनले दुई वर्षभित्रै घुँडा टेक्नु भनेको नेपालीजनता आफ्नो अधिकारप्रति निरन्तर सचेत हुँदै गएको प्रमाण हो ।

०४६ सालको जनआन्दोलन राजनीतिकदल र राजाबीच संझौतामा टुंगिएको थियो । राजतन्त्रले अब कहिल्यै बेइमान गर्दैन भन्ने मान्यताका साथ दलहरूले राजासँग सम्झौता गरी बहुदलीय संसदीय व्यवस्था पुनःस्थापना गरेका थिए । संसदीय अभ्यास अघि बढ्दै जाँदा कम्युनिस्ट आन्दोलनको एउटा तप्का माओवादीले जनवादी राज्यसत्ता स्थापना गर्ने भन्दै सशस्त्र विद्रोह आरम्भ ग¥यो भने यही मौका छोपेर राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित सरकार अपदस्थ गरी मुलुकको शासन व्यवस्था आफ्नो हातमा लिए । राजाद्वारा प्रत्यक्ष शासन गर्नसक्ने प्रावधान ०४७ सालको संविधानमा थिएन ।

राजाद्वारा १९ माघ ०६१ मा गरिएको घोषणाले ०४७ सालको संविधान च्यातिएको थियो । यो संविधान च्यातिनुको अर्थ थियो,‘‘राजाले अब कहिल्यै गल्ती गर्दैनन् भन्ने मान्यता पनि च्यातिनु ।’ राजाले अब गल्ती गर्दैनन् भन्ने विश्वास राजा ज्ञानेन्द्र स्वयंद्वारा च्यातिएपछि जनता गणतन्त्रको पक्षमा जान थाले । माओवादीले गणतन्त्रका लागि भन्दै सशस्त्र विद्रोह जारीराखेको अवस्थामा राजा स्वयंद्वारा गणतन्त्रको पक्षमा जान जनतालाई वाध्य पारिनु नेपाली इतिहासको निकै रोचक घटना थियो । यो घटनापछि कांग्रेस एमाले लगायतका संसद्वादीदलहरू पनि गणतन्त्रमा जान वाध्य भए । संसद्वादीदलहरू गणतन्त्रको एजेन्डामा समाहित भएपछि राजसंस्था समाप्तिको दिशातिर जानु स्वभाविकै थियो । राजा स्वयंको मुर्खताले ल्याएको परिणाम हो गणतन्त्र ।

१९ माघको यो कदमले शासकसँग हर्दम सचेत हुन जनतालाई जसरी प्रेरणा दिएको छ त्यसैगरी समयको पदचापलाई सदैव ख्याल गर्न शासकलाई प्रेरणा दिएको छ । जनता आफ्नो अधिकारप्रति निरन्तर सचेत भइरहेका हुन्छन् । जनताको चेतना अनुरूप जो अघि बढ्छ ऊ सफल हुन्छ । जंगबहादुर सफल भए भने म किन सफल नहुने ? भन्ने कुरा राजा महेन्द्रले सोचे । जंगबहादुर र महेन्द्र सफल भए भने म किन सफल नहुने ? भन्ने ज्ञानेन्द्रले सोचे । तर, जंगबहादुरले कोतपर्व रचना गर्दाको समयका जस्ता र महेन्द्रले पञ्चायती शासन लागू गर्दाको समयका जस्ता जनता अहिले छैनन्, अन्तर्राष्ट्रिय परिस्थिति पनि त्यो समयको जस्तो छैन भन्ने कुरा नबुझेका कारण नै राजा ज्ञानेन्द्रको १९ माघको कदमले राजसंस्थाको अन्त्य हुन पुगेको हो ।

कुनै पनि राजनीतिक संस्था बाह्य कारणभन्दा पनि आन्तरिक कारणले नै धरासायी हुन्छ भन्ने कुरा नेपालको इतिहासमा पटकपटक प्रमाणित भएको छ । अबको युगमा शासन सत्ता सञ्चालन गर्ने संस्था भनेका राजनीतिक दलहरू हुन् । जनचाहना र युगको आवश्यकताअनुसार चल्न नसक्ने दलहरू धरासायी हुन्छन् । यतिवेला नेपाली कांग्रेसले पनि केही हदसम्म यो हविगत बेहोरेको छ । तर, आफूलाई सच्याउने अवसर भने कांग्रेसले अझै गुमाएको छैन । भर्खर सम्पन्न निर्वाचनद्वारा जनताले एमाले र माओवादीलाई पार्टी एकीकरण गर्दै पाँच वर्ष स्थायी सरकार चलाउने म्यान्डेट दिएका छन् । यो म्यान्डेटलाई आत्मसाथ गर्न एमाले र माओवादी कुनै हालतमा नचुकुन् । यदी चुके भने समयको पदचापले यी दलहरूलाई पनि पछि छाडिदिनेछ । यो भौतिक संसारमा निर्विकल्प भन्ने कुराहरू सीमित छन् । त्यसमा पनि राजनीतिक संस्थाहरू त निर्विकल्प हुनै सक्दैनन् ।

 

प्रतिक्रिया