लाइसेन्स बेच्ने सरकारी कर्मचारी

काठमाडौं । यातायात व्यवस्था कार्यालयबाट लिखित परिक्षा र ट्रायलबिना नै ८० हजार रुपैयामा सवारी चालक अनुमती (लाइसेन्स) बिक्रि हुँदै आएको रहस्य खुलेको छ । विदेशीबाट लिएको लाइसेन्स नेपालीकरण गर्ने नाममा लाइसेन्स बिक्रि हुँदै आएको हो ।

लाइसेन्स बिक्रीको धन्दामा संलग्न यातायात व्यवस्था कार्यालय सुकेधाराका दुई कर्मचारी आइतबार पक्राउ परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३२ हजार घुससहित नायब सुब्बा यादब पौडेल र खरिदार सुमन पोख्रेललाई पक्राउ गरेको थियो । उनीहरुले विदेशी लाइसेन्स नेपालीकरणको नाममा सयौं व्यक्तिहरुलाई लाइसेन्स बिक्रि गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अख्तियार स्रोतको दाबी छ ।

विदेशमा बस्ने नेपालीले लाइसेन्स लिएको भए नेपालमा लाइसेन्स लिन परिक्षा र ट्रायल दिइरहनु नपर्ने प्रावधान यातायात व्यवस्था नियमावलीमा छ । खासगरी नेपालमा काम गर्ने विदेशीहरुलाई लक्षित गरी यो प्रावधान राखिएको हो । तर, उक्त प्रावधानका विपरीत सरकारी कार्यालयबाट लाइसेन्स बिक्रिको धन्दा चल्दै आएको छ बताइएको छ ।

विदेशी लाइसेन्सलाई नेपालीकरण गर्दा सम्बन्धित देशस्थित नेपाली दुतावासको पत्राचार अनिवार्य छ । तर, लाइसेन्स व्यापारीहरुले लाइसेन्सदेखि दुतावासको पत्र समेत नक्कली बनाउदै आएका खुलेको छ । कार्यालय भित्रकै कर्मचारीसँग सेटिङ हुने भएकाले यातायात व्यवस्था विभागका कर्मचारीले त्यसलाई प्रमाणित नगरीकनै लाइसेन्स जारी गर्दै आएका छन् ।

नयाँ लाइसेन्स लिनेहरुले उक्त चोरबाटो प्रयोग गर्दै सवारी साधन चलाउँन नजान्नेलाई पनि लाइसेन्स दिँदै आउने गरेका छन् । अख्तियारका अधिकारीका अनुसार आइतबार बरामद गरिएको दुतावासको पत्र समेत नक्कली भएको पुष्टि भएको छ । उनीहरुले साउदी अरेबियास्थित नेपाली दुतावासको पत्रका आधारमा नविकरण प्रक्रिया अघि बढाएका थिए । तर, साउदी दुतावासको पत्र नक्कली स्थानीय लेखापढी व्यवसायीले बनाएको प्रमाणित भएको छ ।

नक्कली कागजातका आधारमा एक व्यक्तिलाई ३२ हजार घुस लिएर लाइसेन्स दिन लागिएको अवस्थामा उनीहरु पक्राउ परेका थिए । सो मुद्दामा अख्तियारले सरकारी कागजपत्र कीर्ते मुद्दामा अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गर्ने तयारी गरेको अख्तिायारका प्रवक्ता विष्णुप्रसाद पोख्रेलले बताए ।

सुकेधारामा रहेको यातायात कार्यालयमा लाइसेन्सको किनबेच हुने गरेको सूचनाका आधारमा तीन महिनाअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छापामारी दुई बिचौलियालाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा उनीहरुले सबै नक्कली कागजपत्रमार्फत लाइसेन्स नेपालीकरणको नाममा नयाँ लाइसेन्स बनाइदिने खुलेको थियो । त्यतिबेला एक व्यक्तिसँग ८० हजार रुपैयाँसम्म लिने गरेको पक्राउ पर्नेले बताएका थिए ।

त्यति बेला पक्राउ परेका बिचौलियाले नासु पौडेललाई पैसा बुझाउने गरेको स्वीकार गरे पनि प्रहरीले पौडेललाई त्यत्तिकै छोडेको थियो । उक्त घटनामा मुख्य बिचौलिया राज लामा अहिलेसम्म फरार छन् । स्रोतका अनुसार सुकेधारामा यातायात व्यवस्था कार्यालय नेपालीकरणका नाममा परिक्षा नदिई पैसाका भरमा लाइसेन्स लिने अखडा बनेको छ । उक्त कार्यालयबाट एउटा लाइसेन्स बनाएको २५ हजारदेखि ८० हजार रुपैयाँसम्म कर्मचारीले लिने गरेका थिए ।

नेपालीकरणको नाममा लाइसेन्सको बिक्रि गरी भ्रष्टचार गरेको भन्दै यातायात व्यवस्थाल विभागले एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयबाट नेपालीकरण बन्द गराइ सुकेधारास्थित कार्यालयबाट गराउन थालेको थियो । सुकेधारा कार्यालयमा समेत अनियमितता भएको सूचना पाएपछि विभागले त्यहाँ पनि छानबिन सुरु गरेको थियो । कार्यलय प्रमुख सुन्दर शर्मा लगायत कर्मचारीलाई विभागले सचेत गराए पनि कार्यालयका कर्मचारी घुस खानबाट टाढा हुन सकेनन् ।

 

प्रतिक्रिया