राजसंस्था पुनर्वहालीका लागि लोकतान्त्रिक गठबन्धन

मुलुक वाम र प्रजातान्त्रिक ध्रुवीकरणमा विभक्त भइरहेको अवस्थामा अब मुलुकको भविष्य कुन मोड वा गन्तव्यतर्फ उन्मुख हुन्छ भन्ने कुतूहल र प्रश्न सर्वत्र छाइरहेको छ । विश्वका नेपालभन्दा पछि मानचित्रमा देखिएका देशहरू आज समृद्धशाली भइरहँदा एसियाको यो कहिले उपनिवेश नभएको शुन्दर, शान्त मुलुक किन गरिबी, भोक, अशिक्षाको दुष्चक्रसँग सिँगौरी खेल्दै अझै विकाश, सुशासन, समृद्धिको लागि घिस्रिरहेको छ भन्ने यक्ष प्रश्न खडा भएको छ ।

शासन व्यवस्था परिवर्तनको नाममा हामीले राणाशासन त फाल्यौँ तर आफूभित्रको राणालाई कहिल्यै फालेनौँ, पञ्चायत ढाल्यौँ, राजा फाल्यौँ तर अझै विनाश्रीपेचका थुप्रै राजा बेहोर्न मुलुक वाध्य भयो, नेपालमा आएका सबै परिवर्तन छिमेकीको परोक्ष वा प्रत्यक्ष सहयोग र सद्भावविना संभव भएन वा नेपाली जनताको चहाना आकांक्षा मात्र नभई देशीविदेशी शक्ति केन्द्रले नेपालको प्राकृतिक श्रोत साधनमा हैकम जमाउन, आफ्नो देशको धर्म संस्कृति नेपाल भित्र्याउन समग्रमा परिवर्तनको नाममा र जनताको नाममा देशीविदेशी दलालहरूको स्वार्थ र आवश्यकता पूरा गर्न पनि परिवर्तनलाई साथ दिने तर मुलुकमा सुशासन, विकास र स्थिरता कहिल्यै हुन नदिने पात्र र प्रवृत्ति हावी हुन थाल्यो ।

मलुकलाई यो अवस्थाबाट बाहिर ल्याउन राप्रपाले देशभक्त, राष्ट्रवादी प्रजातान्त्रिक गठबन्धनतर्फ आफ्नो समर्थन जनाएर सशक्त उपस्थिति जनाएको हो ।वाम गठबन्धनको नाममा मुलुकलाई एकदलीय अधिनायकवादतर्फ उन्मुख गराइएको छ । मुलुकको समग्र राज्य व्यवस्थामाथि एकाधिकार जमाएर मुलुकलाई कुनै न कुनै रूपको निरंकुशतातर्फ अघि बढाउनु नै वाम गठबन्धनको अन्तिम अभिष्ट हो ।यो सफल भएमा मुलुक उल्टो यात्रातर्फ हिँडने मात्र होइन अझै मुलुक विश्व मानचित्रमा विकास र सुशासनबाट ५०औँ वर्षपछि धकेलिने निश्चित छ । त्यसैले मुलुकले लोकतान्त्रिक शक्तिहरूको एकता र सहकार्य अझै टड्कारो रूपमा खडकिएको महसुस गरेको छ ।

मुलतः राष्ट्रिय प्रजातन्त्र पार्टी एउटा सम्वर्धनवादी शक्ति हो, यसले धर्म संस्कृति, परम्परा, निरन्तरता सहितको परिवर्तनमा विश्वास राख्छ ।वामशक्तिको उद्देश्य पुराना शक्ति र संरचनालाई ध्वस्त पार्दै नवनिर्माणतर्फ अगाडि बढने हो । लोकतान्त्रिक गठबन्धनको मुख्य दल कांग्रेस मध्यमार्गी पार्टी हो । राप्रपालाई आफ्नो संगठन विस्तार गर्न र सहकार्य गर्न हरेक प्रकारले मध्यमार्गी कांग्रेससँग नै सहज, सरल र स्वभाविक हुन्छ, कुनै बेला हिन्दूराष्ट्र र राजतन्त्र पनि कांग्रेसको विधानभित्र रहेको थियो । कांग्रेसका संस्थापक बिपी कोइरालाले पनि संवैधानिक राजतन्त्र सिद्धान्त समेतको कांग्रेस जन्माउनु भएकोले र कांग्रेसमा धेरै कार्यकर्ता र समर्थकले हिन्दू अधिराज्य र राजसंस्था पुनर्वहाली गर्ने राप्रपाको एजेन्डालाई स्वागत गर्छन् ।

बिपी कोइरालाको समाजवादलाई राप्रपाले अंगीकार गरिसकेको अवस्थामा राजासहितको लोकतन्त्रलाई कांग्रेसले अंगीकार गर्न असहज छैन । त्यसैले मुलुकलाई कम्युनिस्ट अधिनायकवादको खतराबाट मुक्त गर्न राप्रपा र कांग्रेस एक ठाउँमा उभिएका हुन् । यो गठबन्धन समयको माग हो । संवैधानिक राजतन्त्रलाई मुख्य आदर्श मान्दै ०३ सालमा स्थापना भएको नेपाली कांग्रेस करिव ६ दशकसम्म अविचलित भयो । नेपाली कांग्रेस एक्कासि गणतन्त्रमा जानु उसको वाध्यता थियो । त्यतिबेलाको राजनीतिक परिवेश पनि त्यस्तै थियो ।

कार्यकर्ताको चाहनाभन्दा पनि नेतृत्वको वाध्यताका कारण कांग्रेसले गणतन्त्रलाई समर्थन गरेको हो । कांग्रेसको यो वाध्यता राप्रपाले बुझेको छ । मुलुकको परिस्थिति संलग्ने बित्तिकै नेपाली कांग्रेसलाई संवैधानिक राजसंस्थाको पक्षमा आउन कार्यकर्ताहरूले नै दबाब दिने निश्चित जस्तै छ । तत्कालीन राप्रपा नेपाल र यसका संस्थापक कमल थापाबाट राजा र हिन्दूराज्यको मुद्दालाई अत्यन्त प्रतिकूल र असहज परिस्थितिमा स्थापित गराइएको हो । यो मुद्दालाई लिएर जनताबीच जान कम्युनिस्टहरूले ठूलो अवरोध गरेका थिए । संस्थापक अध्यक्ष रविन्द्रनाथ शर्मालाई पोखरामा हातपातसमेत गरिएको थियो ।

हिन्दू अधिराज्य र राजसंस्थाको मुद्दालाई जनताबीच लैजाने क्रममा राप्रपामाथि कम्युनिस्टहरूद्वारा भौतिक आक्रमण गरिएको थियो । कांग्रेसका कार्यकर्ताबाट अवरोध पु¥याइएको एउटा पनि उदाहरण छैन । यस्तो प्रतिकूल अवस्थाबाट हालका दिनसम्म यो मुद्दालाई जिउँदो राख्न वर्तमान अध्यक्षबाट यथासम्भव प्रयास भएको छ । सडक र संसद्मा सशक्त आवाज उठाउँदै आन्दोलन गरिएको छ । जनताले साथ दिएका छन् । संसद्मा कम संख्या भए पनि राप्रपाको हैसियत ठूला पार्टीसरह पुगेको छ । मुलुकमा ९४ प्रतिशत जनता ओमकार परिवारका छन् ।

यस्तो अवस्थामा हिन्दू अधिराज्यको मुद्दा ज्यादै उर्वर छ । भारतमा भारतीय जनता पार्टीले लामो प्रयासद्वारा जसरी सफलता हात पा¥यो त्यसरी नै राप्रपाले सफलता हात पार्नेछ । भारतमा भाजपालाई जस्तो लामो समय नेपालमा राप्रपालाई लाग्दैन । अबका दिनमा कम्युनिस्ट सर्वसत्तावादको विरूद्ध राजा र हिन्दूराष्ट्रको पुनस्र्थापनाको मुद्दा लोकतान्त्रिक गठबन्धनका लागि एउटा सञ्जीवनी बुट्टी भएर आएको छ । यो मुद्दालाई सशक्त र इमानदारीका साथ जनताको माझ लाने हो भने नेपाल एउटा भरपर्दाे, सुरक्षित, सम्मुन्नत प्रजातान्त्रिक मुलुकको रूपमा विश्वसामु पुनः प्रकट हुनेछ ।

अन्यथा लोकतन्त्र र यस्को अहंकारवादलाई वाम सुनामीले निमेट पार्नेछ । यो अवसर राप्रपाका लागि मात्रै नभएर नेपाली कांग्रेसका लागि पनि हो । नेपाली कांग्रेसका मार्गद्रष्टा बिपी कोइरालाले भन्नुभएकै छ, ‘राजा र कांग्रेसको गर्धन एउटै हो, एउटाको गर्धन काटिएपछि अर्काको गर्धन बाँकी रहँदैन, राजा नरहे देश रहँदैन, देश नै रहेन भने हामीले कहाँ गएर राजनीति गर्ने ?’ नेपाली कांग्रेसको वर्तमान पुस्ता बिपीकै आदर्शमा हुर्किएको छ । अहिलेको वामगठबन्धन लोकतन्त्रलाई समाप्त पार्न उद्धत छ भन्ने कुरा कांग्रेसले पनि बुझ्नुपर्छ ।  (खड्का राप्रपाका प्रवास विभाग प्रमुख हुन्)

प्रतिक्रिया