लिलामीको सेयरमा संस्थागत लगानीकर्ताहरूको वर्चश्व

-नरेन्द्रमान श्रेष्ठ पछिलो समयमा लिलामीको सेयर संस्थागत लगानीकर्ताहरूको लागि मात्र हो भन्न चर्चा चलिरहेका छन् । सर्वसाधारण लगानीकर्ताहरूले लिलामीको सेयर पार्न कठिनजस्तै भइसकेको छ । सर्वसाधारणहरूले लिलामीको सेयर हात पार्न बजारको मूल्यभन्दा बढी वा बजार मूल्यको हाराहारीमा कोट गरेमा मात्र पाउन सकिने अवस्था छ । लिलामीमा रहेका अधिकांश सेयरहरू संस्थागत र म्युचिअल फन्डहरूले बजार मूल्य बराबर कोट गरी आफ्नो पोल्टामा पार्ने गरेका छन् । लिलामीको सेयर कम मूल्यमा पाउँछन् भनेर लिलामीको सेयरमा आवेदन दिने सर्वसाधारण लगानीकर्ताहरू सबै जिल पर्छन् ।

यसकारणले पछिल्लो समयमा लिलामीको सेयरमा संस्थागत लगानीकर्ताहरूले आइपिओमा जस्तै आवेदन दिन नपाउने वा निश्चित कित्तामा मात्र आवेदन दिन पाउन एउटा मात्र आवेदन दिन पाउने व्यवस्था गर्नु पर्दछ भन्ने लगानीकर्ताहरूको भनाइ रहको छ । सम्बन्धित सरोकारवालाहरूले यसमा ध्यान दिनपर्ने देखिन्छ । पछिल्लो समयमा लिलामीमा रहेको एभरेस्ट बैंकका सबै सेयरहरू बिकेन भने सनराइज बैंकको लिलामीमा रहेको सेयरमा अध्यादिक मात्रमा आवेदन परेको देखिन्छ । सनराइज बैंकको लिलामीको सेयरमा ११ हजार ३ सय ३१ आवेदन परेको बताइन्छ ।

त्यसो त सनराइज बैंकको लिलामीको अधिकांश सेयर पनि एउटा बिमा कम्पनिले बजार मूल्य बराबर कोट गरी आफ्नो पोल्टामा पारेको थियो । सर्वसाधारण लगानीकर्ता सबैले जिल खानु प¥यो । त्यसैगरी विगतमा निःशुल्क पाउने लिलामीको आवेदन फाराम पनि पछिल्लो समयमा प्रतिफाराम १ सय रुपैयाँ लिने गरिएको छ । प्रतिफारामको सय रुपैयाँ पनि बढी भएको लगानीकर्ताहरू बताउँछन् । पछिल्लो समयमा लिलामीको सेयरहरूमा लगानीकर्ताहरूको आकर्षण बढी रहेको देखिन्छ । विभिन्न कम्पनीहरूको हकप्रदमा नबिकेको सेयरहरू लिलामीमा बिक्री गरिने गरेका छन् ।

त्यस्ता लिलामीका सेयरमा लगानीकर्ताहरूको आकर्षण रहेको देखिन्छ । पछिल्लो समयमा विभिन्न बैंक तथा वित्त कम्पनीहरूको सेयर लिलामीमा रहेका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरूलाई कम समयमा ४ गुणाले पुँजी वृद्वि गर्न निर्देशन दिएपछि कम्पनीहरूले धमाधम हकप्रद सेयरहरू जारी गरे । थुप्रै बंैक तथा वित्त कम्पनीहरूले हकप्रद सेयर जारीगरेको कारणले कतिपय लगानीकर्ताहरूले हकप्रद सेयर नै खरिद गरेनन् । यसकारणले थुप्रै हकप्रदमा नबिकेका सेयरहरू कम्पनीहरूले लिलामीमा बिक्री गर्ने गरिरहेका छन ।

लिलामीका सेयरहरूमा साना ठूला लगानीकर्ताहरूदेखि विभिन्न कम्पनीहरूको समेत आकर्षण रहेको देखिन्छ । कतिपय लगानीकर्ताहरूले लिलामीको सेयरहरू बजार मूल्यभन्दा बढी मूल्यमा खरिद गर्ने पनि गरिरहेका छन् । लिलामीका धेरैजसो सेयरहरू संगठित संस्थाहरू कम्पनीहरूले बजार मूल्यको हाराहारीमा खरिद गर्ने गरिरहेका छन् । कृषि विकास बैंकको लिलामीको सेयरको चर्चा गर्दा पछिल्लो समयमा कृषि विकास बैंकको १९ लाखभन्दा बढीको लिलामीको सेयरमा ९ हजार २ सयभन्दा बढीको आवेदन परेको थियो ।

त्यसबेला कृषि विकास बैंकको लिलामीको सेयर आवेदन दिन लगभग आइपिओको जस्तै भएको थियो भने पछिल्लो समयमा सनराइज बैंकको लिलामीमा कृषि विकास बैंकको भन्दा बढी आवेदन परेको थियो भने सनराइज बैंकको आवेदन दिने संकलन केद्रमा मेला जस्तै लागेको थियो । एकातिर विभिन्न कम्पनीहरूको हकप्रद सेयरको बाडि नै आयो भने अर्काे तर्फ थुप्रै सेयरहरू लिलामीमा रहेको कारणले सेयर बजारमा पनि यसले प्रभाव पारेको बताइन्छ । लिलामीको सेयरमा लगानीकर्ताहरूको आकर्षण रहेता पनि कतिपय लगानीकर्ताहरूले लिलामीको सेयरमा बजार मूल्यभन्दा बढी तिरेर खरिद गर्ने पनि गरिरहेका छन् । त्यसो त लगानीकर्ताहरूले जानेर वा नजानेर बजार मूल्यभन्दा बढी तिरेर लिलामीका सेयरहरू खरिद गर्ने गरेको पनि देखिन्छ ।

कृषि विकास बैंकको लिलामको सेयर खरिद गर्नको लागि न्यूनतम सयदेखि ६ सय १ रुपैयाँसम्म हालेको बताइन्छ । बजारमा ४ सय ३० रुपैयाँको हाराहारीमा पाउने सेयरको ६ सय १ रुपैंयासम्म तिरेको पाइयो भने नेपाल बैंकको लिलामीको सेयरमा पनि बजार मूल्यभन्दा बढी तिरेको पाइयो । बजारमा ३ सय ३० मा पाउने नेपाल बैंकको सेयरको लिलामीमा ५ सय ५० रुपैयाँसम्म तिरेको पाइयो । सिद्वार्थ विकास बैंकको लिलामीको सेयरमा पनि बजार मूल्यभन्दा बढी तिरेको पाइयो । बजारमा जनता बैंकको सेयर २ सय ६५ मा पाइन्छ भने सिद्वार्थ बैंकको लिलामीको सेयरमा ४ सय ४० सम्ममा खरिद गरेको पाइयो ।

त्यसैगरी सनराइज बैंकको लिलामीको सेयर पनि ४ सय रुपैयाँभन्दा बढी तिरेको पाइयो भने रिलायन्स माइक्रो फाइनान्सको लिलामीको सेयरमा एक कित्तामा बजार मूल्यभन्दा २ सयभन्दा बढी तिरेको पाइयो । लिलामीको सेयरमा बजार मूल्यभन्दा बढी तिर्ने थुप्रै लगानीकर्ताहरू छन । ४ सय ३० मा पाइने सेयर ६ सय १ सम्म तिर्ने गरेकामा कतै यस्तो लिलामीमा रहेको सेयरमा पनि चलखेल त हुने गरेको छैन भनेर पनि चर्चा नचलेको होइन । त्यसो त धेरैजसो कम्पनीले बजार मूल्यको हाराहारीमा लिलामीको सेयरहरू सकार्ने भएकोले सर्वसाधारण साना लगानीकर्ताहरूले लिलामीको सेयरहरू पार्न सकिरहेका छैनन् ।

लिलामीमा बिक्री गरिने सेयरहरू बजारको भन्दा बढी मूल्य तिरेर जानेर वा नजानेर लिने लगानीकर्ताहरू माइनसमा नजालान् भन्ने छैन । एकातिर सर्वसाधारणतर्फको लिलामीको सेयर बजार मूल्यभन्दा बढी तिर्ने लगानीकर्ताहरू पनि छन् भने अर्काेतर्फ संस्थापक तर्फको सेयरहरू लिलामीमा पनि बिक्री नभएको पनि देखियो । लिलामीको बस्तु सामान सेवा भनेको बजार मूल्यभन्दा सस्तोमा पाए किन्ने हो बजार मूल्य मा नै किन्न परे किन लिलामीमा गएर दुःख पाउने र समय खेर फाल्ने । बजारमा किनेको सेयर ४ दिनपछि बिक्री गर्न सकिन्छ भने लिलामीको सेयर बिक्री गर्नको लागि महिनौँ कुर्नुपर्ने हुन्छ खोइ त लगानीकर्ताहरूमा चेतना ?

अझ मर्जर र एक्विजिसनमा प्रक्रियामा रहेका कम्पनीहरूको लिलामीमा किनेको सेयर त कहिले बिक्री गर्न पाउने हो थाहा हुँदैन । लिलाम भन्नाले सामान्य अर्थमा कुने पनि बस्तु सामान सेवाहरू बोलकबोलबाट बढी मोल तिरेर लिनेले पाउने भन्ने बुझिन्छ । सामान्यतया लिलाम गोप्य सिलबन्दीबाट र अर्काे भनेको लिलाम हुने स्थानमा नै बोली लगाई गरिने गरिन्छ । विगतमा हकप्रद जारीगर्दा बिक्री नभएका सेयरहरू लिलामीमा त्यति बिक्री गरिँदैनथ्यो तर पछिल्लो समयमा हकप्रदमा बिक्री नभएका सेयरहरू लिलामीमा बिक्री गरिने गरेका छन् विगतमा हकप्रद सेयरको आवेदन दिँदा आफ्नो हकभन्दा बढी पनि आवेदन दिन पाइन्थ्यो र हकप्रदमा सबै बिक्री नभएको खण्डमा बढी आवेदन दिनेलाई नै दिने पनि गरिन्थ्यो तर पछिल्लो समयमा भने हकप्रदमा बिक्री नभएका सेयरहरू लिलामीमा बिक्री गरिने गरिएको छ ।

लिलामीमा बिक्री गरिँदा पनि बजार मूल्य र त्योभन्दा बढी मूल्यले बिक्री हुने हुनाले कम्पनीलाई पनि फाइदा हुने गरेको छ ।  विभिन्न कम्पनीहरूले आफ्नो पुँजी बढाउनका लागि हकप्रद सेयरहरू जारी गर्ने गर्दछन् । कम्पनीले आफ्ना साबिकका सेयरधनीहरूलाई मात्र जारी गरिने सेयरलाई सामान्यतया हकप्रद सेयर भनेर भन्ने गरिन्छ । आफ्ना साबिकका सेयर धनीहरूका लागि जारी गरिने हकप्रद सेयरहरू बिक्री नभएका सेयरहरू पछिल्लो समयमा लिललामबाट बिक्री गरिने गरिरहेका छन । यस्ता लिलामीका सेयरहरूप्रति सर्वसाधारणदेखि संस्थागत लगानीकर्ताहरूको समेत आकर्षण रहेको पाइन्छ ।

कतिपय लगानीकर्ताहरू लिलामीका सेयरहरू सस्तोमा पाइन्छ भनेर लिलामीमा सहभागी हुन्छन् र तर यस्ता लगानीकर्ताहरू जिल्ल पर्छन् । लिलामीको सेयरमा आवेदन दिँदा मूल्य कतिसम्म उपयुक्त हो भन्ने थाहा नहुँदा पनि बजार मूल्यभन्दा बढी हाल्ने गरेको पनि देखिन्छ । लिलामीको सेयरमा आवेदन दिँदा लिलामीका सेयर कहिलेसम्ममा सूचीकृत हने हो हिसाब लगाई मात्र मूल्य राख्नुपर्छ । कतिपयले पछि बजार बढ्न सक्छ भनेर आँकलन गरेर पनि बजार मूल्यभन्दा बढी हाल्ने गर्छन् । बजार मूल्यभन्दा बढी तिरेर लिलामीको सेयर खरिद गर्नु कत्तिको बुद्दिमानी हो ? यस विषयमा सोच्नै पर्छ । लगानीकर्ताहरूको चेतना नाप्ने कसी पनि यही हो ।

पछिल्लो समयमा लिलामीमा रहेका सेयरहरूप्रति लगानीकर्ताहरूको आकर्षण र लिलामीमा रहेका सेयरहरू बजार मूल्यभन्दा बढीले बिक्री हुने हुनाले हकप्रद सेयर जारी गर्ने कम्पनीहरू पनि बढीभन्दा बढीले हकप्रद सेयरमा आवेदन नदिऊन् भन्ने चाहन्छन् । फारामको बिक्रीबाट पनि क्यापिटलहरूले लाखौँ कमाउँछन् । त्यसो त लिलामीको सेयर बिक्री प्रक्रियामा पनि एकरूपता छैन सबै कम्पनीहरूको सेयर प्रक्रियामा एकरूपता ल्याउनु आवश्यकता छ । यसमा सरोकारवालाहरूले ध्यान दिनुपर्ने देखिन्छ । अबको दिनमा पनि थुप्रै लिलामीका सेयरहरू आउने देखिन्छ ।

बजारलाई बुझेर मात्र लिलामीको सेयरमा सहभागी हुनुपर्छ । लिलामीको सेयर बजार मूल्यभन्दा बढी तिरेर खरिद गर्नु बुद्विमानी होइन । बजार मूल्यको हाराहारीमा लिलामीको सेयर सकार्दा ठीकै होला तर बजार मूल्यभन्दा बढी तिरेर लिलामीको सेयर सकार्नु भनेको डुब्नु हो ।

प्रतिक्रिया