पढाउने कि सिकाउने

gopal sanjelशिक्षकले पढाउने कि सिकाउने ? विद्यार्थी पढ्न आउछन् कि सिक्न ? शिक्षकले पढाउने होइन सिकाउने हो । विद्यार्थी पढ्न होइन सिक्न आउछन् । जवाफ त सजिलैसँग पाइन्छ तर, यही कुरो हाम्रा विद्यालयका कक्षा कोठासम्म पु¥याउन ज्यादै मुस्किल भइरहेछ ।

जब्बर खालको भ्रम पनि छ हामीसँग । कक्षा कोठाभित्र पुस्तकको लिखत पढाउने मै हुँ नि ! पढाउनुअघि मैले पढेर आएकै हो । सरकारले पढाउनकै लागि भनेर पुस्तक छापेर दिएकै छ । पुस्तकमा भएको पाठ पढाएकै छु । कक्षामा सबै विद्यार्थीलाई एउटै मुखले पढाएकै हो । जो राम्रो पढ्छ ऊ सफल भएको छ । जो पढ्दैन त दोष उसकै हो । १०–४ बाहेकको समयमा हामीले के ग¥यौँ, कहाँ गयौँ, के खायौँ, के लायौँ, के भन्यौँ, कस्तो झोला बोक्यौँ, कुन झन्डा उचाल्यौँ ? यो हाम्रो निजी मामिला हो । जागिर त १०–४का लागि न खाएको हो !

पढ्ने र पढाउने मामिला नदीका दुई किनारा जत्तिकै भिन्न हुने कुरा बताइरहनु पर्दैन । विश्वविद्यालयको पढाइ पढाउनकै लागि प्रयोग हुन्छ वा गरिन्छ भन्ने निश्चित हुन्न । जे जसरी हुन्छ ३५ प्रतिशत नम्बर ल्याएर विश्वविद्यालय पार गर्ने संस्कार हामी धेरैले सिकेकै छौँ । कक्षा कोठामा काम्दै उभिने र पुस्तकको लिखत वाचन गर्ने तरिका त हाम्रो पढाउने आमशैली नै हो । पुस्तक त सन्दर्भ सामग्री मात्र हो, पुस्तकलाई आधार मानेर सिकाइका ढोका खोल्ने कोसिस कति गरेका छौँ ? योग्यता बनाउन पढ्ने र सिकाउन पढ्ने विषय र तरिका पनि दुई किनारा जत्तिकै मिलन हुन नसक्ने क्षेत्र हुन् । एकै मुखले पढाएको कोही अब्बल हुने, कोही गोबर हुने कुरो गर्न त सकिन्छ, पढाउने कुरो पनि मुखले नै होला तर, सिकाउने नै हो भनेचाहिँ मुखले मात्रै सम्भव हुन्न । पढाउने कि सिकाउने भन्ने भेद यहीँ खुल्छ । सिकाउने कुरोको आयाम पल्टाउने हो भने पाटो निकै चौडा फेला पर्छ । यही सपाट मैदानमा हामी कति खेल्न र रमाउन सक्छौँ त्यति नै शिक्षकको गुण देख्न सकिन्छ । शिक्षकको असल गुण देख्न पाउनु भनको विद्यालय र विद्यार्थीको चम्किलो भविष्य देख्न पाउनु हो ।

हामीले सोच्यौँ कि विद्यार्थीहरू पुस्तकको पानाका लिखत (अक्षर) हुबहु पढ्न र मुखको अर्ती मान्न आएका प्राणी हुन् । तर, कुरो यति सिधा र सरल छैन । बालबालिकासँग नजिकिएर बुझ्ने (बालमनोविज्ञान भन्छन् क्यार) हो भने विद्यार्थीहरूले किताबको पानाका लिखतभन्दा नौ खण्ड बढी सिक्ने कुरा अरू नै छन् । पढ्ने कुरा पनि अरू नै छन् । किताबका पानाभन्दा बाहिरका सिक्ने कुरा के के होलान् ? शिक्षकले नसिकाइकन सिक्ने र नपढाइकन पढ्ने कुरा कति होलान् ?

समाजमा शिक्षक कसरी जिएको छ । त्यहाँ उसको बारेमा चर्चा हुँदा कस्तो र कसरी गरिन्छ । यसबाट पनि विद्यार्थीले आफ्ना गुरुप्रति धारणा बनाउछन् र सिक्ने गर्दछन् । उ कसरी हिँड्छ, कसरी बोल्छ, कार्यालय भित्र÷बाहिर कसरी गर्छ, पोसाक कसरी लगाउँछ, लगाइमा पनि जुत्तादेखि टोपीसम्म वा कुर्तादेखि कपाल कोराइसम्म हेर्छन्, सिक्छन् र त्यसैअनुसार पढ्छन् ।

अम्मलीका कुरा त झन् बेग्लै हुन्छन् । व्यक्तिगत सफाइप्रति कत्तिको चासो राख्छ, विद्यार्थीहरूमा पनि साना विद्यार्थीहरूप्रति बोली, व्यवहार कस्तो गर्छ, कसरी प्रस्तुत हुन्छ, कालोपाटीको प्रयोग, लेख्ने अक्षरका बान्की र सिकाइका सामग्री कति, कस्तो र कसरी गर्छ, पुस्तकालय बनाउने र पुस्तक पढ्ने चासो र अग्रसरता कतिको लिन्छ, कक्षाकोठा, कार्यालय र विद्यालय परिसरको सफाइप्रति कस्तो चासो लिन्छ र व्यवहारमा देखाउँछ, विद्यालयको चर्पीको अवस्था कस्तो छ र यसको प्रयोग र सफाइप्रतिको चासो र तत्परता कस्तो राख्छ, अभिभावकसँग बोल्ने शैली र गर्ने व्यवहार कस्तो हुन्छ आदि कुराहरू जो शिक्षकहरूले कमै ख्याल गरेका हुन्छन् र विद्यार्थीले आफूबाट यी कुरा पनि सिकिरहेका होलान् र ? भन्ने लागेको हुन्छ तर, उनीहरूले यिनै कुराहरूबाट मनग्गे सिकिरहेका, अधिकतम् अुनशरण गरिरहेका र नबिर्सिने गरी पढिरहेका हुन्छन् । हामीले यतातिर ख्यालै गरेका हुन्नौँ । शिक्षकलाई पढाउन र विद्यार्थीलाई पढ्न सरकारले दिएको पुस्तक त पाठको सानो अंश मात्र हो । बृहत् पाठ सिकाउनतिर चासो दियौँ भने विद्यार्थीले पनि बृहत् किसिमले नै सिक्छन् ।

पुस्तकबाट भन्दा गुरुको प्रवृत्तिबाट विद्यार्थीले धेरै सिकिरहेका र पढिरहेका हुन्छन् । हाम्रा प्रवृत्ति बारे हामीले कति हेक्का राख्छौँ ? र, सच्याउनु पर्ने भए कति प्रयत्न गर्छौँ ? आफ्नो खराब प्रवृत्तिको ख्याल नगरी विद्यार्थीको असल प्रवृत्तिको आश गर्न त पाइन्छ तर प्राप्त गर्न सकिन्न !

प्रतिक्रिया