दृष्टिविहीन विद्यार्थीलाई पोसाक

beपाँचथर । पाँचथर फिदिम नगरपालिका–४ गडीमा रहेको गडी मावि र फिदिम माविका १५ जना दृष्टिविहीन विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरिएको छ ।

आइतबार गरिएको कार्यक्रममा शैक्षिक सहयोग स्वरूप दुवै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक वितरण गरिएको हो । दिनदुःखीहरूको सहयोगकै लागि स्थापित समथिङ फाउन्डेसनको संयोजनमा मर्सिकोर नेपालका वरिष्ठ परियोजना अधिकृत नरेश आङ्बोले पोसाक खरिदका लागि आर्थिक सहयोग गरेका थिए ।

विद्यार्थीलाई प्रदान गरिएको पोसाकमा छात्रलाई सर्ट र पाइन्ट, छात्रालाई सर्ट र फ्रक रहेको थियो । कार्यक्रममा व्यवसायी सुजन रिजालले दृष्टिविहीन विद्यार्थीलाई सिरकको खोल, बेड कभर र सिरानीको खोल १५÷१५ थान दिएका थिए । उनले एउटा ग्यास सिलिन्डर पनि दिएका थिए ।

कार्यक्रममा जिसस पाँचथरका प्रमुख विमल सापकोटाले समथिङ फाउन्डेसनको ब्यानरमा मनकारीहरूले सहयोग गरेको भन्दै सामाजिक कामका लागि सहयोगदाताहरू र सहयोगको संयोजन गर्ने फाउन्डेसनको पदाधिकारीसहितको टिमलाई धन्यवाद दिँदै पोसाक वितरण गरेका थिए । फाउन्डेसनको मुख्य संरक्षक गुरुङ रामप्रकाश समथिङले यसअघि पनि सहयोग गर्दै आएको भन्दै आगामी वर्षहरूमा पनि सहयोगलाई निरन्तरता दिइने बताए ।

गुरुङले अन्य दुःखीहरूको घाउमा पनि मलम लगाउँदै आइरहेका छन् । सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र लावती र प्रधानाध्यापक मानध्वज थाम्सुहाङले सहयोगप्रति आभार व्यक्त गरेका थिए । कार्यक्रममा फिदिम नगरपालिका–४ का वडाध्यक्ष प्रकाश गुरुङ, फाउन्डेसनका अध्यक्ष तथा अधिकारकर्मी मंगल बेघा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया