प्रत्येक वर्ष भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने तिज पर्व धार्मिक, सांस्कृतिक एवं सामाजिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । हिन्दू नारीहरूले शिवपार्वतीको कथाबाट प्रभावित भएर मनाउन थालेको तिजले आधुनिकतामा प्रवेश गर्दा अन्य समुदायमा समेत बिस्तारै प्रभाव पर्न थालेको देखिन्छ । केहीवर्ष अघिसम्म आर्यन र हिन्दू महिलाले मात्रै मनाउने तिज हिजोआज राजधानीका नेवार, गुरुङ, राई, लिम्बू लगायतका महिलाले पनि मनाउन थालेका छन् । असार–साउनको खेती लगाइसकेपछि विवाह भएर पराई घर गएका छोरीचेलीको थकान मेटाउन माइत जाने, मीठो मसिनो खाएर रमाइलो गर्ने अनि व्रत बस्ने परम्परा पनि बदलिन थालेको छ । विगतमा बढीमा ३ दिनसम्म मनाइने तिज पहिल्ला वर्षहरूमा २/३ हप्ता अघिदेखि नै भेटघाट, रमाइलो गर्दै दरखाने अनि नाचगान गर्ने कार्यक्रमका साथ मनाउन थालिएको छ ।
बर्खाको हिलो, झरीबाट पार पाएपछि माइतीघर जाने आमाबुबा, आफन्तसँग भेटघाट गर्ने, दुःखसुखका कुरा गर्ने महिलाहरू सबै आप्mनो दुःख पीडा बिर्सिएर तिजमा रमाइलो गर्छन् । आप्mनो जन्मघर, मातापिता, भाइबहिनी, बालसखा, आफन्त, छिमेकीसँग आत्मीयता साट्ने अवसरसमेत तिजले जुराएको छ चेलीहरूलाई । तिजमा दरको रूपमा खिर, पुलाउ, माछा मासु, सेलरोटीलगायत मीठामीठा परिकार बनाएर खाने चलन छ । हिजोआज तिजले छोएका महिलाहरू सडक, बजार, मन्दिर, पसल, टोल सबैतिर रातो साडी, हातभरी राता पहेँला चुरा, निधारमा रातो टीका, अनि छड्के तिलहरी लगाएर कम्मर मर्काउँदै नाचिरहेका भेटिन्छन् ।
तिज नारीहरूले सौभाग्य र समृद्धिका लागि धार्मिक परम्पराअनुसार शिवपार्वतीको उपासना र पूजा गर्ने चाडका रूपमा पनि प्रचलित छ । यो पर्वमा विवाहित हिन्दू महिलाहरू पतिको दीर्घायू, घरपरिवारमा सुख समृद्धि एवं सफल दाम्पत्य जीवनको कामना गर्दै व्रत बस्छन् भने अविवाहिहरू असल जीवनसाथीका लागि व्रत बसेको पाइन्छ । यो पर्वमा सौभाग्य सामग्रीहरू छड्के तिलहरी, सिन्दुर, राता पहँेला पोते एवं सोही रंगका पहिरनमा सजिएर शिवालय धाइरहेका हुन्छन् । हरितालिका तिजका रूपमा चर्चित यो पर्वमा अघिल्लो रात दर खाएर भोलिपल्ट निराहार व्रत बस्ने चलन छ । व्रतको दिन महिलाहरू भेला भएर शिवालय, चोक, गल्ली आदि स्थानमा स्वतन्त्रता, न्याय र समानताका गीत गाउँदै नृत्य गर्ने गर्छन् । त्यसैगरी तिजमा सौभाग्यका प्रतीक चुरापोते एवं नयाँ लुगा कपडा पनि छोरीचेलीलाई उपहारका रूपमा माइतीले दिने चलन छ । यसले गर्दा चेली र माइतीको सम्बन्धलाई समेत प्रगाढ गराउने पण्डित रामप्रसाद सुवेदी बताउँछन् ।
महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी तनावको बोझले थिचेका बेला केही समय त्यसबाट मुक्ति दिलाउने पर्वको रूपमा पनि तिज मनाउने गरिएको बताउँछन् पण्डित भवनाथ ढुंगेल । तिजमा माइती एवं बाल्यकालका साथीसंगीसँग भेटेर गाउँदै नाच्दा, रमाइलो गर्दा जीवनका पीडा भुल्ने अवसर चेलीबेटीले पाउने भएकोले गीत एवं नाचगानको चलन सुरु भएको बताउँछन् पण्डित घनश्याम गुरागाईं । पतिपत्नीको प्रेम दर्साउन तिजमा दुवैमिलेर एकअर्काको उन्नति प्रगति एवं सुस्वास्थ्यका लागि व्रत बसेर बेलुकासँगै पूजा गर्दा उत्तम हुने बताउँछन् पण्डित डिल्लीराम गौतम । पतिको दीर्घायुको कामना व्रतालु आपैmँ पीडित भएर गर्नु ठीक हँुदैन । त्यसैले दिनभर भोकै बसेपछि साँझ केही खाएर व्रतलाई समापन गर्नु उपयुक्त हुने बताउँछन् संस्कृतिविद् तेजेश्वर बाबु ग्वगः ।
हिजोआज तिजले छोएका महिलाहरू सडक, बजार, मन्दिर, पसल, टोल सबैतिर रातो साडी, हातभरी राता पहेँला चुरा, निधारमा रातो टीका, अनि छड्के तिलहरी लगाएर कम्मर मर्काउँदै नाचिरहेका भेटिन्छन् । वास्तविक भोगाइका अनुभूतिहरूलाई तिजमा नारी समुदायले रमाइलो गरेर सुनाउने परम्परागत संस्कृति नै तिजे गीत हुन् । तिजमा विशेषगरी विवाहितहरू पतिको उन्नति प्रगति एवं दीघार्युको कामना गर्दै व्रत बस्छन् भने अविवाहितहरू सुयोग्य एवं सक्षम वरको कामना गर्ने गर्छन् ।
तिजका दिन महिलाहरू व्रत बस्ने साथीसंगीसँग भेटघाट गरी नाचगान गर्दै रमाइलो गर्छन् भने चौथीका दिन स्नान गरी व्रतपारायण गरेपछि खाना खान्छन् । तेस्रो दिन ऋषिपञ्चमी पर्ने भएकोले त्यसदिन ३ सय ६५ वटा दतिवनका टुक्राले दाँत माझेर नजिकैको नदी, तलाउ, धारा अर्थात कुवामा गई स्नान गर्दा वर्षभरि जानीनजानी गरिएका पाप पखालिने जनविश्वास छ । त्यसपछि सप्तऋषि (सात ऋषि) को पूजा गरी हलोले नजोतिएको अन्नको भात र कर्कलाको तरकारी खानुपर्ने धार्मिक मान्यता रहिआएको छ । त्यसैगरी तिजको समयमा महिलाले लगाउने कपडालाई पनि धार्मिक मान्यतासँग जोडिएको छ । रातो साडीलाई सुख समृद्धि र साहसको प्रतिक, पोतेलाई शान्ति एवं शीतलताको र रातो टीकालाई सौभाग्यको प्रतीक मानिँदै आएको पाइन्छ ।
तिजको बारेमा महिलाहरूको धारणा
तिज पर्वमा सधैँ सासुबुहारी, नन्द, आमाजुबीचको घरायसी खिचातानीबाट माथि उठेर नारी हकअधिकार, समानता एवं राष्ट्रप्रेमका गीत बज्नु सकारात्मक भएको बताउँछन् मध्यपुर थिमी, शंखधरचोककी गीता गुरागार्इं । नारीहरूको वर्षभरीको दुःख र वेदनाको पोकी फुकाउने थलोका रूपमा लिइएको तिजका गीतमा अहिले समयसापेक्ष परिवर्तन भएको तर परिवर्तनको नाममा चाडपर्वको मौलिकताचाँहि हराउनु नहुने उनको तर्क छ । उनी बदलिँदो तिजको पहिरन, गीतसंगीतलाई जनचाहना अनुरूप समयको माग अनि सूचना प्रविधिले मानिसमा ल्याएको परिवर्तन भन्छन् ।
तिजपर्व अव सामूहिकतामा गइसकेकोले चाडपर्वकोे दायरा पनि फराकिलो भएको तर्क गर्छिन् शिक्षिका इन्दिरा अधिकारी । तिजलाई सामाजिक परिवेश, प्रविधि र बजारको परिवर्तनले निकै प्रभाव परेको बताउँछिन् शिक्षिका सीता काफ्ले । काठमाडौं उपत्यकामा बाहिरी जिल्लाबाट फरकफरक संस्कृतिमा हुर्केकाहरूको बसोबास बढेपछि तिजको शैलीमा परिवर्तन आएको काठमाडौं कुलेश्वरकी जमुना झाको ठम्याइ छ । नक्कल गर्नै प्रचलन, सञ्चारमाध्यमको बाक्लो उपस्थिति र समयको परिवर्तनसँगै तिज मनाउने शैलीमा परिवर्तन आएको कुलेश्वरकी विनिता झाको बुझाइ छ । हाम्रा परम्परा र संस्कृति पनि समयसापेक्ष परिवर्तन हुनुपर्छ । तर, चाडपर्वको मौलिकता नै चाहिँ हराउनु हुँदैन भन्छिन् दधिकोटकी वन्दना गौतम ।
बदलिँदो शैलीमा भए पनि तिजपर्वको धार्मिक मौलिकतामा आँच नआउने गरी हाँस्दै, गाउँदै नाँच्दै तिजलाई रमाइलो भेटघाट तीर्थ व्रत एवं नाचगानको पर्व बनाऔँ । तर, महँगा लुगागहनाको प्रतिस्पर्धा तिजमा नगरौँ । सम्पूर्ण नारीपुरुष मिलेर एकताको प्रतीक अनि चेली र माइतीको मिलनको रूपमा तिज पर्वलाई मनाऔँ ।
प्रतिक्रिया