मुड्कीवादले क्रान्ति ब्युँत्याउन सक्दैन

sudarsan acharyaसुदर्शन आचार्य
चुनावमा भाग लिएर बहुमत हासिल गर्ने इच्छा जुनसुकै पार्टी वा नेताका मनमा हुुनु स्वभाविक हो । जनमत आपूmतिर ढाल्न पार्टी सञ्चालनका क्रममा अनेकौँ रणनीति अपनाउनुपर्ने हुन्छ । मुलुकमा कुनै पार्टी दक्षिणपन्थी छन् त कुनै उत्तरपन्थी या वामपन्थी, त्यस्तै कुनै पार्टी यथास्थितिवादी छन् भने कुनै कुनै पार्टी लहैलहैमा खुलाइएका छन् । सिद्धान्तले चल्ने दलहरूको आन्तरिक रूपमै सैद्धान्तिक प्रतिस्पर्र्धा चलिरहेको देखिन्छ तर नामको र दामको दम्भले चल्ने पार्टीभित्र त सँधैजसो भागबन्डाको लडाइँ चलिरहेको देखिन्छ । सिद्धान्तको खोल ओडेर चलेका पार्टीभित्र परिवारवादको हावी भइरहेको छ । नातावाद कृपावादले पिल्सिएर जन्मिएको प्रजातन्त्र भनौँ यतिबेलाको लोकतन्त्र पहिलाको नातातन्त्रभन्दा कम छैन । खोल अर्कै भए पनि भित्रको रसको स्वाद भने एउटै रहेछ भनेर भोग्नेहरूको भनाइ छ ।

बिपीको समाजवाद होस् या विश्वमा नै नभएको साम्यवाद उन्मुख सिद्धान्तमा अल्मलिएका दलहरूले अवलम्बन गरेको कार्यनीति, अन्ततोगत्वा भिन्नता रहेन । सिद्धान्त र कार्यनीति त समय सुहाउँदो भौगलिक संरचनालाई ध्यानमा राखेर बनाइने मार्गचित्र मात्र हो । अमेरिकाजस्तो मुलुकले कार्यान्वयनमा ल्याएको आफ्नो देशमिल्दो भावना बोकेको नीति अरेबियन देशले आफ्नो राज्यमा अपनाउन सक्दैनन् । ती देशका भावना समेटिएका नीति तथा कार्यक्रम एसियन देशमा लागू नहुन पनि सक्छ । सिद्धान्त भनेको छिटो र कम लागतमा कसले देश र जनताको सुख चयन गर्ने भन्ने मार्गदर्शन हो ।

हाम्रा पुर्खाले राजनीति गरेका थिए त्यसैले मैले पनि त्यसको निरन्तरता दिनुपर्छ भन्ने अन्धविश्वास यो समयमा राष्ट्रको लागि ठूलो अन्तर्घात हो । हाम्रो मुलुकले भोग्नुपरेको पीडा यिनै हुन् । पुर्खा सचिव भएका थिए त्यसैले म पनि सचिव बनेको भन्ने कुरा सुन्न पाइन्न तर फलानो मन्त्री भएका हुनाले छोराले मन्त्री नै बन्न खोज्नु त स्वभाविक हो भन्ने टिप्पणी समाजमा गरिन्छ । बौद्धिक विरासत होइन कि राजनीतिक विरासत पुस्तामा सत्ता हस्तान्तरण गर्ने परम्परा राजतन्त्रमा मात्रै हुन्छ । दुर्भाग्यवस गणतन्त्रकालीन नेपालका दलहरूमा राजतन्त्रको शैली देखापरेको छ । कालोलाई कालो र सेतोलाई सेतो भन्न सक्ने हामीमा जबसम्म स्वतन्त्रताको महसुस हुन्न तबसम्म हामीले अर्काको साहारामा जीवन व्यतित गर्नुपर्ने हुन्छ । जीवन जबसम्म स्वतन्त्ररूपमा सञ्चालित हुन पाउँदैन तबसम्म मानिसको मष्तिस्कले काम गर्न सक्दैन । तर, यो यर्थाथतालाई नेता भनिनेहरूले सोच्न पनि भ्याएका छैनन् । राजनीति भनेको पैसा कमाउने होडबाजीको खेल भएको छ । आउने पुस्ताले राजनीतिक शास्त्रको पुस्तक खोलेर नेपालमा राज्य सञ्चालन कसरी भएको थियो भन्ने कुराको खोजी गरे भने शायद अनुकरण गर्न लायकका उदाहरण भेट्टाउन कठिनाई हुनेछ । देशको माया गरेर कसैले जीवन आहुति दिएको छ भने पनि केही समयको अन्तरालपछि नै उसलाई बिर्सने अवस्था छ । सहिदको सपना साकार गर्ने भनेको के हो भन्ने प्रश्नको ठोस उत्तर दलहरूका प्रशिक्षण कार्यक्रममा दिइन छाडिएको छ । प्रशिक्षण कार्यक्रममा प्रशिक्षार्थीको रूपमा भाग लिँदा जाने कार्यकर्ताले पनि सही उत्तर नपाएर सदैव हाम्रा मनका घाउ मनभित्रै राख्नुपर्ने अवस्था छ ।

आजकल विभिन्न पार्टीहरूमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन भएको समाचार निकै धेरै आउने गर्छन् । दलहरूले आआफ्नो ढंगले दिने प्रशिक्षणका विषयलाई लिएर समाजमा मतभेद बढ्दै गएको छ । हरेक पार्टीका घोषणापत्रहरू निकालिएका हुन्छन् । घोषणापत्रमा नै पार्टीको कार्यक्रम र रणनीतिको स्पष्टता खुलाइएको हुन्छ । त्यही घोषणापत्रमा उल्लेख भएको कुरा नै प्रशिक्षणमा सुनाउने हो भने त्यतिकै समय किन खर्चिनु भन्ने भनाइ पनि निकै सान्दर्भिक छ । राज्य सञ्चालनमा कार्यकर्ताले निर्वाह गर्नुपर्ने भूमिका प्रशिक्षकबाट दिने गरेको पाइएको छैन । अन्य प्रतिस्पर्धी पार्टीको सत्तोसराप गरेर भजनकीर्तन गाउने परम्पराले नयाँ कार्यकर्तालाई खासै तिखार्न सकेको छैन । ऊ नराम्रो भएकोले हामी राम्रा छौँ भनेर आजभोलिका पुस्ता बाच्न सक्ने अवस्था पनि छैन । त्यो बेला र त्यस स्थानमा भएको क्रान्ति भन्दैमा हामीमा परिवर्तन नआउन सक्छ । उदाहरणले क्रान्ति ब्युँत्याउन सक्दैन । क्रान्तिविना परिवर्तन पनि असंभव छ । फेरि पुराना संघर्ष र क्रान्तिको नजिरले हालको समय अनुकूल परिवर्तन नहुन पनि सक्छ ।

प्रशिक्षणले कार्यकर्ताहरू नेता बनेका थिए त्यतिबेला, जतिखेर हाम्रो देशमा पार्टीमाथि प्रतिबन्ध लगाइएको थियो । हालको समयमा नेताभन्दा कार्यकर्ता नयाँ सूचनाको हिसाबले कैयौँ गुणा जानकार रहन्छन् । नविन सूचनामाथि थप ज्ञान हासिल गर्न समय खर्चिएर आएका कार्यकर्ताले पाउने खुराक अपत्यारिला भए भने समय बर्बाद र विश्वस्नियतामाथि प्रश्न उठ्न नसक्ला भन्न सकिन्न । नेताले सार्वजनिक स्थानमा दिने भाषण र कार्यकर्तालाई दिने प्रशिक्षणमा केही भिन्नता पाउन सकिएको छैन । नेता सुध्रिने र सही नीति अंगाल्ने हो भने पार्टीको नाम मात्र पनि जनतामाझ काफी हुन्छ । कार्यकर्ता प्रशिक्षण र अगुवा कार्यकर्ता भेलाजस्ता पार्टीका कार्यक्रमले नेता र कार्यकर्ताबीचको दुरी क्षणिक रूपमै भए पनि निकट बनाएको होला । तथापि यस्ता महत्वपूर्ण समयमा दिमागमा भ्रम हुने अनास्थावादी कार्यहरूका विवरण घोक्न लगाउने कार्यभन्दा सबैको विचारको बहस चलाउने हो भने इच्छा शक्ति प्रवल हुने थियो ।

मुलुकका केही पार्टीहरूमा देखिएको अहंताका कारण जनताबीच वितृष्णा छाएको छ । हिजो सँगसँगै भोगेका कुरालाई प्रशिक्षणको विषयवस्तु बनाउनु भनेको आमसमर्थकलाई अन्धकारमा धकेल्नु हो । पार्टीभित्रको अग्र नेता बन्नुपर्ने शानले सकीनसकी घोकेका घटनाहरूको कथा सुनाएर पार्टी प्रशिक्षण चलेका छन् । नयाँ सैद्धान्तिक छलफलको बहस प्रायः ओझेलमा पारेको पाइन्छ । एक जना जानकारले एकदिन आफ्नो दिनचर्यामा प्रशिक्षण विषयमा भनेको कुराले दैनिक रूपमा यस पंक्तिकारलाई घच्घच्याइरहेको झैँ लाग्छ । हिजोको अग्रजले भोगेका भोगाइको कथा सुन्नु अनि सुनाउनु परेको पीडा कुन नयाँ खुराकसहितको कार्यकर्तालाई प्रशिक्षण दिएको भन्न सुहाउँछ । पार्टी कार्यकर्ता प्रशिक्षण त केवल लाहुरेवाको लडाइँको कथाजस्तै त भएको छ ।

विश्वविद्यालयका हरेक शिक्षा संकायमा राजनीति कसरी गर्नुपर्छ र यसको समाजमा कस्तो भूमिका रहन्छ भन्ने विषयवस्तु सहितको पढाइ हुनुपर्ने अपरिहार्यता टड्कारो देखिएको छ । कम्तिमा पनि राजनीतिकर्मी भन्ने नेतृत्व वर्गले विश्वविद्यालयमा समयानुकूलको शिक्षा हासिल गर्न सहजै सकुन् । कम्युनिस्ट पार्टीका प्रशिक्षण कार्यक्रममा १८औँ शताव्दीको माक्र्सवादको सिद्धान्त हरफहरफ कण्ठ पार्न लगाइन्छ र कण्ठस्त पार्ने व्यक्ति ठूलो र जान्ने सुन्ने नेताको रूपमा परिचित बन्छ । कसले कुन बेलामा कस्तो क्रान्ति गरेका थिए जान्नु राम्रो हो तर यसबाट पाठ सिकेर कहाँ लागू गर्ने भन्ने महत्वपूर्ण हो । उदाहरणका लागि मुलुकका ८० प्रतिशत जनता कृषिमा निर्भर छन् । किसानहरूलाई आधुनिक कृषिप्रविधि र बीउबिजनको बारेमा जानकारी दिने प्रशिक्षणको कार्यक्रम राखेमा समयानुकूल लाग्न सक्छ । भूगोल सुहाउँदो र वातावरण अनुसारको श्वास लिँदा समाजमा भिजेर जो कोही पनि बाँच्न सक्छ ।

पूर्णांक र पासांक नभएको शिक्षा हो राजनीति । यो पढाइ थप पाठ्यक्रमको रूपमा लिने गरिन्छ । मुड्की देखाएर, समाज तर्साएर, जागिर खान कहिँ नबिकेर अन्तिममा लाग्ने भनेको राजनीति क्षेत्र नै भएको छ । बुद्धि हुनेहरूका लागि मुर्खहरू सारथी बनेका छन् भने मुर्खका लागि विद्वान ताँदो बन्ने गरेका छन । यसरी समाजको गति अगाडि बढेको हुनाले पनि सिद्धान्त र आदर्श बेचिएका गहनाजस्ता भएका छन् । कार्यदक्ष र लगनशील व्यक्तिहरूको अवमूल्यन गराउने गरेको कारण नै राजनीतिमा मुड्कीवादको हावी भएको हो । कुनै पनि विषयमा पारंगत व्यक्तिले सरकारको कुनै पनि निकायको नेतृत्व गर्न पाएको इतिहास हामीले कसैलाई उदाहरणको रूपमा पनि भन्न सक्ने अवस्था छैन । देश र कानुन आमाबाबु हुन् फेरबदलको सिद्धान्त जनतालाई स्वीकार्य नहुन पनि सक्छ ।

प्रतिक्रिया