कमल न्यौपाने
काठमाडौं । भक्तपुरलगायत उपत्यका र देशका विभिन्न स्थानमा गाईजात्राको रन्को सुरु भएको छ । विशेषतः जनस्तरमा उपत्यकामा गाईजात्राको सन्दर्भ केही फरक लाग्छ । गाईजात्राको क्रममै निस्किने विभिन्न नाचहरू हेर्ने जोकसैको मन उमंगित हुन्छ । खेतीपातीमा सबभन्दा महत्वपूर्ण धान रोपाइँ सकिएपछि फुर्सदिलो समयमा गाईजात्राको तयारी सुरु हुन्छ । सामान्यतः भक्तपुरमा असार महिनामा रोपाइँ सकिएको हुन्छ । मानो रोपेर मुरी फलाउन रोपाइँमा किसान ज्यान फालेरै मिहिनेत गर्दछ । धानको ब्याड लगाउनदेखि बिउ हुर्काउन, खेत खन्न, रातविरात खटेर खेतमा पानी लगाउन, गह्रा सम्याउन र रोप्न ठूलो परिश्रम जरुरी हुन्छ ।
धान रोपिसकेर पनि किसानले समयसमयमा पानीको मात्रा मिलाउनुपर्दछ, बढी–घटी पानीले धान बिग्रिएला भन्ने पिर लिनैपर्छ, केही हप्तामा झार उम्रिन्छ र गोडमेल गर्न हिँड्नैपर्छ । किसानको मन रसिलो र भरिलो हुनथाल्छ । साउनकृष्ण चतुर्थीमा मनाइने गथामुग र्चहे (घण्टाकर्ण पर्व) बाट गाईजात्राको धाँ, लालाखिं, पछिमा र अन्य बाजा बज्न थाल्छन् । साँझ–राती घिन्ताङगिसीको तालमा अभ्यास नाच सुरु हुन्छ । किसानहरूको फुर्सदिलो समयको उपयोग हुन्छ । पुराना पुस्ताले नयाँ पुस्तालाई आफ्नो कला हस्तान्तरण गर्न थाल्छन् । सिक्न–सिकाउने विशेष तरिका छ । गुरु–शिष्यको सम्बन्ध गजबै हुन्छ । नासःद्यो (कला देउता) को पूजा हुन्छ आदि । खोजबिनको गहिराइ सामान्य सोचाइभन्दा साह्रै गहिरो हुन्छ ।
जीवनको एउटा अत्यावश्यकीय पाटो मनोरञ्जन हो । गीत–संगीत मनोरञ्जनका उत्कृष्ट साधन हुन् । किसान–मजदुरको निम्ति चाडपर्व मनोरञ्जनको माध्यम बन्छ । मनोरञ्जनका यी अवसर नभएको भए ती खान–लाउन धौधौमा पर्ने श्रमिक वर्गका जनता कसरी जिउँदा हुन् ! सायद त्यसैले किसान–मजदुरजस्तै कठिन जीवन भोग्न परे पनि निराश हुँदैनन् । गाईजात्रामा देखाइने गाइँचा नाच, झ्याउरी, ख्याल (प्रहसन) देखि माक (बाँदर), फाकंदली, भैल (भैरव), देवी, खिचा (कुकुर), ख्या (ख्याक), सिंह, म्हेखा (मयुर) आदि दर्जनौँ प्रकारका नाचहरूले मानिसको जीवनमा ठूलो रसरंग भरेको हुन्छ । विभिन्न जीवसँगको सानिध्यताबाट तिनको नक्कल भयो । प्रकृतिको अभिव्यक्ति कलामार्फत् भयो । प्रकृतिलाई प्रेमपूर्वक आत्मसात गरियो । प्रकृतिलाई साथी बनाइयो । संस्कृतिले प्रकृतिको रक्षा मानव सभ्यताको अस्तित्वसँग जोडिएको शिक्षा सिकाउँछ भन्ने भनाइ पनि छ ।
भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा आफ्नो लगानी बढाउन पर्यटक सेवा शुल्कले प्रमुख भूमिका खेलेको छ । यस मानेमा भक्तपुरको कला–संस्कृति र सम्पदाका संरक्षकहरूले देशको इज्जत मात्र बढाएका छैनन् देशको अग्रगमनमा महत्वपूर्ण योगदान गरेका छन् । साहित्यिक पर्वका रूपमा रहेको गाईजात्रा आज पनि उपत्यकासहित देशभरका विभिन्न जिल्लामा एकै साथ मनाइँदै छ । मर्नेहरू मरिसके उनीहरूका लागि रोइरोई दिनहुँ मर्नुभन्दा हाँसेर बाँच्नुपर्छ भन्ने मूलमन्त्र बोकेको सांस्कृतिक पर्व गाईजात्राले आफन्तको निधनमा रोएर बस्नुभन्दा हाँस्न सिक्नुपर्छ भन्ने सन्देश दिने गरेको छ । पितृलाई सम्झने एउटा पावन दिन भएकाले गाईजात्राको दिन मृतकको परिवारको घाउमा मलम लगाउने अवसरका रूपमा पनि रहेको छ ।
राणाकालदेखि नै गाईजात्राको दिनदेखि कृष्णाष्टमीसम्म मनमा लागेका कुरा निष्फ्रिक्री बोल्न पाइन्छ । त्यसैले, यो स्वतन्त्र अभिव्यक्तिको अवसर पनि हो । जुन हास्यव्यंग्य विधामा लक्षित हुन्छ । जनैपूणिर्माको भोलिपल्ट अर्थात् भाद्रकृष्ण प्रतिपदाको दिनदेखि एक सातासम्म मनाइने गाईजात्रा विशेष गरी नेवार समुदायमा प्रचलित भए पनि अहिले यो नेपाली संस्कृतिकै अभिन्न अंग बनिसकेको छ । प्राचीनकालदेखि मनाइँदै आएको गाईजात्राले अहिले आएर राष्ट्रिय चाडको रूप लिइसकेको छ । आफ्नो परिवारमा कसैको निधन भएपछि उनीहरूको सम्झनामा गाईलाई अघि लगाएर विभिन्न भेषभूषाका साथ जात्रा निकालिने यो पर्वले एकातिर पुर्खाप्रतिको सम्मान व्यक्त गर्छ भने अर्कातर्फ जति नै शोकको घडीमा पनि धैर्यधारण गर्ने प्रेरणा दिने संस्कृतिविद्हरूको कथन छ । वर्ष ०७४ को गाईजात्रा २३ साउन सोमबार आज मनाइँदै छ ।
काठमाडौं उपत्यकाबाट प्रारम्भ भएको गाईजात्रा मनाउने प्रचलन अहिले देशभरि नै फैलिएको छ । गाईजात्राको अवसरमा अहिले काठमाडौंमा मात्र होइन, देशका अधिकांश सहरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजित हुन थालेका छन् । गाईजात्रा काठमाडौं उपत्यकालगायत बनेपा, धुलिखेल, दैलेख, सुर्खेत, दोलखा, खोटाङ, रामेछाप, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, स्याङ्जा, पाल्पा, सल्यान, बाग्लुङ, धनकुटा, वीरगञ्ज, हेटौंडा, पोखरा आदिमा पनि मनाइन्छ । गाईजात्राको अवसरमा परम्परागत नाच, नाटक आदि प्रदर्शन गरिन्छ । भक्तपुरमा अहिले पनि ७ दिनसम्म गाईजात्रा मनाउने परम्परा छ । त्यहाँ प्रचलित घिस्ताङकिसी नाच अहिले पनि उत्तिकै लोकप्रिय मानिन्छ ।
पछिल्ला समयमा सबैभन्दा बढी गाईजात्रा हास्यकलाकारहरूलाई लाग्न थालेको छ । लोकप्रिय हास्यकलाकारहरू माझ गाईजात्रा दसैँकै रूपमा चित्रित छ । करिब दुई सातासम्म गाईजात्रा महोत्सवमा सहभागी भएर उनीहरूले आफ्ना प्रतिभाबाट दर्शकलाई मनोरञ्जन त प्रदान गर्छन् नै त्यसबाहेक आकर्षक पारिश्रमिकका कारण उनीहरू थप उत्साहितसमेत हुन्छन् । गीत, नृत्य, प्रहसन, प्यारोडी, कविता आदि विधाका माध्यमबाट राजनीतिक तथा सामाजिक क्षेत्रका विकृतिहरू औँल्याउने अवसर पनि गाईजात्राले नै जुटाइदिन्छ । गाईजात्रे महोत्सवमा प्रस्तुत गरिने अधिकांश प्रहसन तथा क्यारिकेचर राजनीतिप्रति लक्षित भएको पाइन्छ । हास्य कलाकारहरूको नजरमा राजनीतिक दलका नेता मात्र पर्ने परम्पराका कारण विगत केही वर्षयता दर्शकहरू यस्ता कार्यक्रमप्रति उत्साहित भएको पाइँदैन । यसपटकको गाईजात्रे महोत्सवमा पनि राजनीति मुख्य विषय बन्ने कुरामा दुई मत छैन ।
प्रतिक्रिया