राष्ट्रवादको एक चर्चा

-प्रा.डा.राजकुमार पोखरेल
नेपाल राष्ट्रको निर्माणको इतिहासमा धेरैले योगदान गरेको पाइन्छ । ज–जसले जसरी योगदान गरे पनि त्यसको प्रणेता, नेता वा योजनाकार पृथ्वीनारायण शाह थिए भन्ने कुरामा विमति जनाउन अनिवार्य छ । अहिलेको सन्दर्भमा नेपाली राजनीतिमा सर्वाधिक चर्चा बहस र छलफलको विषय बनेको राष्ट्रवादको विषयमा यहाँ केही उल्लेख गर्न वाञ्छनीय देखिन्छ । राष्ट्रको उदय, पुनरोदय तथा विलयका घटनाहरू विश्वमा धेरै घटेका छन् । मान, सम्मान र अपमानका घटनाहरू पनि धेरै देखिएका छन् । राष्ट्रको उदयसँगै त्यसको विकासमा कसैले गर्ने अपमान र अस्तित्व समाप्त पार्न गरिने चालबाजीका विरुद्ध लिइने अडानलाई विश्वव्यापी रुपमा राष्ट्रवाद भन्ने गरिएको छ । इटाली तथा जर्मनी एकीकरणको समयमा इटालीमा राजा भिक्टर इम्यानुल भए पनि काबुर, गेरिवाल्टी तथा मेजनीहरूले जुन सोच र सिद्धान्तको प्रतिपादन गरे त्यो राष्ट्रवाद थियो भने जर्मन एकीकरणको समयमा विस्मार्कले अपनाएको कदम राष्ट्रवादमा आधारित थियो । यी राष्ट्रवादी कदमहरूलाई इतिहासकार डेबिट थम्सनले लिबरल राष्ट्रवादको संज्ञा दिएका छन् ।

यस अवधारणाबाट हेर्ने हो भने नेपालमा राष्ट्रवादको उदय पृथ्वीनारायण शाहकै शासनदेखि भएको पाइन्छ । पहिलो विश्वयुद्धको समाप्तिमा विजेता बनेको राष्ट्रहरूको नेतृत्व ब्रिटेनले गरेको थियो भने पराजित राष्ट्रहरूको पंक्तिमा जर्मनी थियो । विजेता भएको अहंता र दम्भका कारण विजेता राष्ट्रहरूले जर्मनीलाई अपमान गर्दै गरिएको भर्सेलिज सन्धि गराए । तत्कालीन जर्मनीका लागि युद्धमा पराजय भोगेका कारण उक्त सन्धि बाध्यता थियो भने विजेता राष्ट्रहरूले जर्मनी फेरि कहिल्यै उठ्न नसकोस् भन्ने हेतुले गरिएको दमन थियो । जर्मनीमाथि गरिएको यही अपमानजनक व्यवहारले जर्मनी जनतामा आएको चेतनाको उपज हिटलरको उदय जर्मनीमा भयो । नाजीवादी आवरणमा राष्ट्रवादको नारा दिएर उदाएका हिटलरले शासन कसरी चलाए भन्ने कुरा छुट्टै अध्ययनको पाटो हुन सक्छ तर विश्वव्यापी अपमानको सागरमा डुबेका जर्मनीलाई त्यस अपमानबाटै मुक्त गर्ने श्रेय भने हिटलरलाई नै थियो । आन्तरिक राजनीतिमा हिटलरको उदय राष्ट्रवादसँग जोडिएको तर अन्तर्राष्ट्रिय सम्बन्धमा विस्तारवादी चेतना र सोचबाट उनी पनि मुक्त हुन सकेनन् ।

यसै कारण दोस्रो विश्वयुद्धको एउटा पात्र जर्मनी नै हुन पुग्यो । सोभियत क्रान्तिपछि तत्कालीन सोभियत संघ अन्तर्राष्ट्रिय हस्तक्षेप नगरी राष्ट्रिय राजनीतिकै सेरोफेरोमा रहेको थियो । आन्तरिक रुपमा तत्कालीन शासक स्टालिन र अर्कातिर ट्राटस्कीको बीचको वैचारिक द्वन्द्व एकातिर चरम अवस्थामा पुगेको र अर्कातिर नाजी आक्रमणबाट मुलुकलाई बचाउनु पर्ने दायित्व स्टालिनमा आइप¥यो । जसको कारण अन्तर्राष्ट्रियतावादको वकालत गर्दागर्दै पनि पहिलो साम्यवादी राज्य सत्ताले राष्ट्रवादलाई लिएर हिंड्नु प¥यो । कोमिन्ताङसँग एकता गरेर जापानविरोधी मोर्चा बनाउने माओको नेतृत्वको चिनियाँ क्रान्तिले त राष्ट्रवादी धारलाई दह्रै गरी समात्यो । दोस्रो विश्वमा रुस र जर्मनीका बीच युद्ध भयो । नाजी राष्ट्रवादले रुसी राष्ट्रवादमाथि आक्रमण गरेर साम्राज्यवादलाई सहयोग ग¥यो भने उक्त विश्वयुद्धपछि त राष्ट्रवाद अझ व्यापक बन्न गयो । राष्ट्रवादका विभिन्न प्रयोगहरू छन् । थियोडर हर्जका अनुसार जेस्वीस जनताले चलाएको २०औँ शताब्दीको जेस्वीस आन्दोलन वा हरब्रिउ राष्ट्रिय आन्दोलन पनि एक राष्ट्रवादी आन्दोलन थियो ।

प्यालेस्टाइनहरूको लडाइँ पनि राष्ट्रवादी आन्दोलन हो । तर राष्ट्रवादका नाममा भएका केही घटनाहरू राष्ट्रवादी होइनन् । जस्तै राइनलेण्डको हत्याकाण्ड, सन् १३९१को जीउज काण्ड, सन् १४९२ को स्पेनबाट जीउजहरूको निष्कासन, युक्रेनको सन् १६४८ को कोशाक हत्याकाण्ड र सोभियत संघमा भएको जेस्वीसविरोधी नीति राष्ट्रवादी अवधारणाभित्र पर्दैनन् । यी घटनाहरूलाई जातीय द्वन्द्वको परिणाम आएकाले जातीय अवधारणामा विकसित हुने सिद्धान्त राष्ट्रवादी नभएर ‘एन्टीसेमिटिज्म’ जातीयतावादी वा रेसिजम हुन् भन्ने गरिएको छ ।  तसर्थ, नेपालमा चर्चा गरिएका यस्ता कतिपय जातीय नाम, समुदाय वा क्षेत्रीय आवरणमा आएका शब्दहरू र व्याख्याहरू राष्ट्रवादी अवधारणाभित्र पर्दैनन् । यस्तै एन्टीजेस्वीज नीति अवलम्बन गरी कार्यान्वयनमा ल्याउँदा सोभियत संघमा स्टालीन तानाशाह बन्नु परेको थियो ।  ट्राटस्कीसंगको लडाइँ र अर्कातिर विश्वयुद्धमा सोभियत संघको रक्षा गर्नुपर्ने दायित्वबोधले अन्तर्राष्ट्रवादी माक्र्सवादी सिद्धान्तका बीच राष्ट्रवादी सोचको विकास गर्न स्टालिन बाध्य थिए ।

स्वयं स्टालिन भने आर्फै एक जर्जियन इथ्निक वा सार्कीका छोरा थिए । तर उनले जातिवादी अवधारणाको सधैँ विरोध गरे । यस अर्थमा कुनै जात, क्षेत्र, सम्प्रदाय, धर्म–संस्कृतिभित्र न राष्ट्रियता रहन्छ, न राष्ट्रवाद नै । राष्ट्रवाद भनेको राष्ट्रलाई माया गर्ने, त्यसको स्वतन्त्रता, सार्वभौमिकता, अखण्डतासँग सम्बन्धित पक्ष र वस्तुसँग सरोकार राख्ने हुन्छ । तसर्थ, जातीय, क्षेत्रीय, साम्प्रदायिक अवधारणाबाट माथि उठेर राष्ट्रलाई माया गर्ने जो कोही व्यक्ति राष्ट्रवादी हुन्छ चाहे त्यो जुनसुकै सिद्धान्तमा विश्वास गर्ने किन नहोस् । यदि कोही राष्ट्रलाई सर्वोपरि मान्न सक्दैन भने त्यो राष्ट्रवादी हुन सक्दैन । अस्ट्रियन जन्म भएका हिटलर जर्मनमा आएर जर्मनीलाई माया गरेर जे काम गरे त्यो उनको जर्मन राष्ट्रवादमा आधारित थियो । नेपालको सन्दर्भमा अहिले राष्ट्रवादको चर्को बहस चलेको छ । जातीय, क्षेत्रीय, सम्प्रदायमा आधारित कुराहरूलाई राष्ट्रियता मान्ने जुन व्याख्या गर्ने प्रयास भएको छ त्यो नेपालको इतिहाससँग पटक्कै मेल खाँदैन । त्यो माथि भनिए जस्तो ‘एन्टीसेमिटिज्म’ मात्र हो । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहभन्दा पूर्व नेपालमा पूर्वमा सेन राजाहरू र पश्चिममा शाह, मल्ल तथा उपत्यकामा मल्ल राजाहरू थिए । जंगलामुलुक भएको तराई पहाडकै राजाहरूको अधिनमा थियो ।

सानातिना र कमजोर विभाजित प्रशासनिक इकाइहरूलाई जोडेर राष्ट्र बनाउने प्रयास पृथ्वीनारायण शाहबाट गरिएको थियो । त्यही आधारमा उनले प्रतिपादन गरेको सिद्धान्त नेपाली सन्दर्भमा राष्ट्रवाद हो । यसैको जगेर्ना गर्ने काम त्यसपछि चाहे राजेन्द्र लक्ष्मी, बहादुर शाह, अमरसिंह थापा, भीमसेन थापा ज–जसले आफ्नो बलबुताले भ्याएसम्म भूमिका निर्वाह गरे । राणा शासनको उदयसँगै सुगौली सन्धिले गुमाउनु परेको पश्चिम नेपालका चार जिल्लाको फिर्ता पनि राष्ट्रवादको आलोकबाटै हेर्ने गरिन्छ । कतिपय कूटनीतिक मामलामा अंग्रेजसँग नझुकी गरिएका जंगबहादुरका व्यवहार पनि राष्ट्रवादी थिए । राणाकालमा चन्द्र सम्शेर र वीरसम्शेरजस्ता शासकले अंग्रेजसँग निर्वाह गरेको भूमिका भने राष्ट्रवादी थिएन । २००७ सालको परिवर्तनको सन्दर्भमा दिल्ली सम्झौताको परिणाम नेपालका हरेक मामलामा विदेशी दवाव, राजाको सल्लाहकार नै विदेशी हुने, नेपालका हरेक निर्णयहरू अर्को देशलाई सोधेर गर्नु पर्नेजस्ता विदेशी हस्तक्षेप र स्वाभिमानमा असर गर्ने कदमका विरुद्ध राजा महेन्द्रले उठाएका कदमहरू पनि राष्ट्रवादी थिए ।

राजा वीरेन्द्रको समयमा उनको ‘शान्ति क्षेत्रको घोषणा’को प्रस्ताव, भारतीय नाकाबन्दीको समयमा त्यसका विरुद्ध लिइएका अडानहरू पनि राष्ट्रवादी कदमको उपज थियो । सिपिएन सिंहजस्तो राजदूतको हस्तक्षेपमा पनि चेतनामा नआएका वीपी कोइरालामा इन्दिरा गान्धीले संकटकाल लागू गरेर धकेल्न थालेपछि यिनमा आएको चेतनाले राष्ट्रवादी अवधारणाको आकार लिन पुग्यो र त्यही तत्वबोधले वीपी कोइरालाको मेलमिलापको नीति पनि मुखारित भएको थियो । मदन भण्डारीको विचार र व्यवहारमा त राष्ट्रवादी झल्को प्रचुर मात्रामा पाइन्थ्यो । महाकाली सन्धि अनुमोदनदेखि पहिलो संविधानसभाको निर्वाचनताकासम्म राष्ट्रघातीको आरोपमा डुबेका केपी शर्माओली अहिलेका पछिल्ला दिनमा मुलुकको प्रखर राष्ट्रवादी चेतना र चिन्तनका भावले प्रवल बनेर उदाएको देखिदै गएको छ ।
तसर्थ, नेपाली सन्दर्भमा चाहे त्यो जंगबहादुर, चाहे राजा महेन्द्र, चाहे वीरेन्द्र, चाहे सार्क राष्ट्रको संरचनादेखि अखन्डताको पक्ष लिने ज्ञानेन्द्रकै कदम किन नहोस्, चाहे वीपी कोइराला, मदन भण्डारी या वर्तमान सन्दर्भमा केपी शर्माओलीले लिएकै कदम किन नहुन् सबै राष्ट्रवादी भावधाराबाट प्रेरित छन् र यिनको अनुकरण र सम्मान प्रत्येक देशभक्त नेपालीको दायित्व हुन गएको छ । तसर्थ, राष्ट्रवाद न महेन्द्र राष्ट्रवाद हुन्छ, न वीपी वा भण्डारी राष्ट्रवाद न त ओली राष्ट्रवाद । यदि कसैले पछिल्लो समयका व्यक्तिसँग जोडेर राष्ट्रवादको व्याख्या गर्ने प्रयास गर्छ भने उसलाई देशको मायाभन्दा अर्कै स्वार्थले घर गरेको छ भन्दा अत्युक्ति हुने छैन । नेपाली राष्ट्रवाद भने पृथ्वीनारायण शाहकै योगदानबाट स्थापित भएको हो भन्दा अत्युक्ति नहोला ।

प्रतिक्रिया