कांग्रेसमा बेथिति:देउवा विधान मिच्दै,भाका सार्दै

photo3

काठमाडौं २२ साउन । गत बिहीबार नेपाली कांग्रेसले जनकपुरधाममा प्रदेश २ को भेला आयोजना ग¥यो । तेस्रो चरणको स्थानीय निर्वाचनको पूर्वतयारीका लागि आयोजना गरिएको उक्त भेलाले मिडियामा खासै चर्चा पाएन । तर, मञ्चमा बसिरहेका नेताहरूको तस्बिर भने सामाजिक सञ्जालमा भाइरल बन्यो । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला कुर्सीमा र पूर्वमहामन्त्री विमलेन्द्र निधी भुइँमा बसिरहेको त्यो तस्बिरमा देउवा मज्जाले हाँसिरहेको देखिन्थ्यो । ‘तस्बिर आफैं बोल्छ’ भनेर क्याप्सन लेख्दै मधेसी दलका कार्यकर्ताले त्यो तस्बिर धेरै नै सेयर गरे । तस्बिरबारे धेरैको टिप्पणी थियो,‘नेपाली कांग्रेसभित्र कुर्सीमा बस्ने हैसियत भएका मधेसी नेता एकजना पनि रहेनछन् ।’

मधेसका लागि भनेर मधेसकै केन्द्र जनकपुरमा भेला राखिँदा मञ्चको कुर्सीमा एउटा पनि मधेसी नेता नदेखिनु संयोग मात्रै थिएन । नेपाली कांग्रेसको गत १३औं महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वमहामन्त्री निधीले आफू पछि हटेर कोइराला क्याम्पका अर्जुननरसिंह केसीलाई देउवा टिमबाट महामन्त्रीको उम्मेदवार बनाउने ‘डिजाइन’ बनाएका थिए । तपाईं किन पछि हट्नुभयो ? भन्ने संवाददाताहरूको प्रश्नमा निधीको जवाफ थियो, ‘देउवाको जित सुनिश्चितताका लागि म पछि हटेको हुँ, सभापति पद हाम्रो हातमा आयो भने उपसभापति र महामन्त्री त मनोनीत गर्न सकिहालिन्छ नि ।’ मनोनीत महामन्त्री बन्नका लागि तपाईं पछि हट्नु भएको हो ? भन्ने अर्को प्रश्नमा निधीको जवाफ थियो, ‘महामन्त्री भइसकें, देउवाजीले चुनाव जितेपछि तत्कालै उपसभापतिको जिम्मेवारी मैले पाउने तय हाम्रो टिममा भएको छ ।’

देउवा सभापति पदमा निर्वाचित हुनासाथ निधीले आफू उपसभापति बन्ने दिन गनेर बसेका थिए । तर, पूर्वकार्यवाहक सभापति गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री खुमबहादुर खडकाको समेत सशक्त दाबी रहेका कारण सभापति देउवाले निर्णय गर्न सकेनन् । एउटालाई उपसभापति मनोनीत गर्दा बाँकी दुईजना बिच्किने सम्भावनालाई आँकलन गर्दै देउवाले केन्द्रीय समितिलाई पूर्णता दिने काम थाती राख्दै गए । पार्टीको विधानअनुसार महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र केन्द्रीय समितिलाई पूर्णता दिइसक्नु पर्नेछ । तर, १३औं महाधिवेशन सम्पन्न भएको १७ महिना बितिसकेको छ । यसबीचमा देउवाले चार पटकसम्म भाका सारेको कांग्रेसका एक पुराना नेता बताउँछन् । उनी भन्छन्, ‘भ्रातृ संगठनहरूको महाधिवेशन सम्पन्न गरेपछि मात्रै केन्द्रीय समितिलाई पूर्णता दिने भन्दै देउवाले आठ महिना गुजारे ।

०७३ असारदेखि कात्तिकभित्र तीनवटा भ्रातृ संस्थाको महाधिवेशन सम्पन्न भएपछि उनले अर्को सर्त राखे, ‘अब चैतमा स्थानीय तहको निर्वाचन हुँदै छ, त्यसपछि प्रधानमन्त्री बन्नेछु, अनि साथीहरूलाई पार्टीको जिम्मेवारी दिउँला ।’ दोस्रो चरणको स्थानीय निर्वाचन सकिएलगत्तै देउवाले भने, ‘प्रधानमन्त्री बन्नासाथ केन्द्रीय समितिलाई पूर्णता दिन्छु । त्यसपछि मन्त्रिपरिषद्को विस्तारपछि पूर्णता दिइने भाका राखे । साउनको पहिलो साता मन्त्रिपरिषद्को विस्तार भयो ।

तर, सभापति देउवाले अर्को भाका कहिलेका लागि सारेका छन् ? बाहिर आएको छैन ।सभापति देउवाले विधान मिच्दै र भाका सार्दै गए पनि सिधै सार्वजनिक टिप्पणी गर्ने आँट नेपाली कांग्रेसभित्र कुनै नेताको देखिँदैन । प्रतिकात्मक ढंगले गरिएको विरोध देउवाले हप्तौंसम्म बुझ्दैनन् .पहाडी समुदायका पाँचजना नेतालाई कुर्सीमा राखेर निधी भुइँमा बस्नुको तात्पर्य थियो, ‘मधेसी समुदायका नेतालाई मञ्चमा बस्ने हैसियतमा नपु¥याइएसम्म प्रदेश २ मा कांग्रेसले चुनाव जित्न सजिलो छैन, तेस्रो चरणको निर्वाचनको हविगत पनि पहिलो र दोस्रो चरणको जस्तै हुनेछ ।’

तर, कुर्सीमा बसेका देउवा भने भुइँमा बसेका निधीतिर फर्केर अट्टहास गर्दै थिए । उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भइसकेपछि देउवाले तात्पर्य बुझे होलान् । त्यसो त केन्द्रीय समितिको हालै सम्पन्न बैठकमा नेता रामचन्द्र पौडेलले तेस्रो चरणको निर्वाचनका उम्मेदवार तय गर्नुअघि संसदीय समिति गठन गर्न माग गरेका थिए । पार्टी विधानमा संसदीय समितिले उम्मेदवार तय गर्ने प्रावधान छ । आफूलाई कमजोर बनाउन पौडेलद्वारा उक्त माग गरिएको बुझाई सभापति देउवाको रह्यो । प्रदेश २ का पालिकाहरूमा निर्वाचन हुनुअघि नै मधेसी समुदायका नेतालाई महत्वपूर्ण पदमा मनोनीत गर्नुपर्ने विषय केही दिन पहिले नेता प्रदीप गिरीले पार्टीभित्र प्रवेश गराएका थिए ।

निधीलाई छिट्टै उपसभापति पदमा मनोनीत गर्नुपर्ने नेता गिरीको अभियान वरिष्ठ नेता पौडेलको मुखबाट केन्द्रीय समितिमा औपचारिक रूपमा प्रवेश भएको थियो । कोइराला परिवारका तीनजना नेताद्वारा ‘अब हामी पार्टीको नेतृत्व सम्हाल्नुपर्ने बेला आइसक्यो’ भन्ने सन्देश दिँदै तस्बिर सार्वजनिक गर्नु र त्यसलगत्तै बसेको केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता पौडेलले निधीलाई उपसभापति मनोनीत गर्न सभापति देउवालाई घुमाउरो ढंगले दबाब दिनु संयोग मात्रै थिएन ।

प्रतिक्रिया