पर्यटकीय गन्तव्य रानीकोट दरबार

काठमाडौं । रानीकोट दरबार रानी लुक्ने दरबारका नामबाट पनि चिनिएको भक्तपुरको रानीकोट दरबारको ऐतिहासिकता र महत्व मेटिँदै जान थालेको देखिन्छ । जो ऐतिहासिक महत्व बोकेको उपत्यकाकै एक मात्र उच्च स्थानमा रहेको दरबार पनि हो । विगतमा पर्यटकीय केन्द्रबिन्दुका रूपमा रहेको ऐतिहासिक दरबार जोगाउन पछिल्लो समय कसैले चासो नदिएको पाइन्छ । देशकै सम्पदाको रूपमा रहेको मल्लकालीन दरबार अहिले भग्नावशेषमा परिणत भएको छ । भक्तपुर जिल्लामा पनि ऐतिहासिक रानीकोट दरबार र रानीकोट गढी छ भन्ने सुन्दा अधिकांंश उपत्यकाबासीले नै पत्याउँदैनन् । तर भक्तपुरको सिपाडोलमा रहेको त्यो दरबार अहिले भग्नावशेषमा परिणत भइसकेपछि भने दरबारको संरक्षण गर्न नसकेकोमा यो सम्पदा हेर्न जानेहरू चिन्तित छन् ।

भक्तपुरको साविक गुन्डु गाविस–३, साविक सिपाडोल–४ र काभ्रेको ¥याले गाविस–५ को संगमस्थलमा रहेको रानीकोट दरबारमा पुग्दा जो कोही नेपालीको मन कटक्क काटिन्छ । किनकि विगतमा ठूलै ऐतिहासिक दरबार रहेको स्थानमा अहिले त्यसको भग्नावशेष मात्र देख्न पाइन्छ । भक्तपुरको सूर्यविनायकबाट ७ किलोमिटर दक्षिणपट्टि रहेको सो दरबार गणेश मन्दिर, घ्याम्पेडाँडा हुँदै बाघभैरव मन्दिरनजिकै करिब २ हजार मिटरको उचाइमा छ । चारैतर्फ डाँडाहरू रहेको सो दरबारको दक्षिणतर्फ फूल्चोकीडाँडा छ । दरबारको भग्नावशेष स्थलबाट हेर्दा काठमाडाैँ उपत्यका र उत्तरपट्टिको सेतो हिमालको दृश्य अति मनोरम देखिन्छ ।

भग्नावशेषबाट पूर्वपट्टि काभे्रको ¥याले गाविस र भक्तपुरको सिपाडोल गाविसको आशापुरीडाँडा छ । पश्चिमपट्टि लाँकुरी भञ्ज्याङ र उत्तरतर्फ बाट भक्तपुर सहर देखिन्छ । पश्चिम र उत्तरपट्टि हेर्दा काठमाडौं, ललितपुर र भक्तपुरलाई राम्रोसँग नियाल्न सकिन्छ । रानीकोटगढी बाघभैरव हुँदै फूल्चोकी पुग्ने नजिकको मार्ग पनि यही नै हो । पहिला यहीँबाट पूmल्चोकी आउनेजाने गर्ने गरेको स्थानीयवासी बताउँछन् । यो स्थान पहिला काभे्रको व्यापारिक नाका पनि हो । काभे्रको कुशादेवी, ढुंखर्क तथा भक्तपुरको सिपाडोल, आशापुरी हुँदै पनौती जाने बाटो पनि यहीँबाट छ । यहाँबाट आधाघन्टामा लाँकुरीभञ्ज्याङ पुगिन्छ भने नजिकै सानो फूल्चोकी मन्दिर पनि छ ।पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण अग्ला डाँडाको बीचमा हाल देखिने अग्लो थुम्कोमा नै रानीकोट दरबार थियो । यताउता मन्दिरहरू र बीचमा रानीकोट दरबार, दक्षिणतर्फ बाट नजिकै प्रसिद्ध बाघभैरव मन्दिर छ भने उत्तरतर्फ प्रसिद्ध सूर्यविनायक गणेश मन्दिर छ ।

त्यस्तै पूर्वतर्फ प्रसिद्ध डोलेश्वर महादेव र आशापुरी महादेव छ भने पश्चिमतर्फ प्रसिद्ध अनन्तलिंगेश्वर मन्दिर अवस्थित छ । त्यसैले धार्मिक हिसाबले पनि यो ठाउँ महत्वपूर्ण मानिन्छ । करिब ६ रोपनी क्षेत्रफलमा फलिएको दरबारक्षेत्रको १ रोपनीमा दरबार बनेको देखिन्छ । तर, अहिले त्यहाँ रुख, घाँस र झारपातबाहेक केही देखिँदैन । दरबारक्षेत्रमा यत्रतत्र छरिएका ढुंगा र बाक्लो इँटाहरू हेर्दा दरबार मल्लकालीन भन्ने बुझिन्छ । मल्लकालमा त्यहाँ गढी नै थियो रे, राजारानी आएर बस्थे रे ! यो रानी लुक्ने दरबार हो भन्थे, त्यहाँ रानी लुक्ने सुरुङ अभैm छ भन्ने अहिले पनि चर्चा बेलाबखतमा हुने गर्छ । यही दरबार कब्जामा लिएर गोर्खालीहरूले उपत्यका विजय गर्न लडाइँ लडेको भन्ने पनि भनाइ छ । त्यसो त रानीकोट दरबार आसपासको क्षेत्रसँग शिशिर र वसन्तको कथा पनि जोडिएको बताइन्छ । राजकुमार शिशिरलाई रानीले मार्न पठाउँदा यही जंगलमा ल्याएर छाडिएकाले यो रानीगढीसँग शिशिर–वसन्तको कथा जोडिएको भन्ने कथन पनि छ । पानी खानका लागि रानीले खनाएको रानीकुवा अझै पनि यहाँ देखिन्छ ।

दरबारबाट अलि तल रहेको यही कुवाको पानी वर्षौंसम्म यहाँका बासिन्दाले प्रयोग गरेका रहेछन् । त्यसैले हुनसक्छ रानीकुवा पछिसम्म संरक्षित अवस्थामा रहेको । दरबारकै आसपासमा सिंहवीर गुफा पनि छ । यो गुफाको उत्खनन् गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ । यस्तो पुरातात्विक महत्वको मन्दिर, विविध सामग्री एवं ऐतिहासिक दरबारको बारेमा पुरातत्व विभागले समेत चासो दिएको छैन । त्यस क्षेत्रको संरक्षण एवं अनुसन्धान गरी रानीगढीमै रानीकोट दरबार बनाउनुपर्ने आवश्यकता देखिन्छ । दुःखको कुरा त दरबारको बारेमा भक्तपुरमै अड्डा जमाएर बसेको पुरातत्व विभाग नै अनभिज्ञ छ ।पर्यटन वर्षको सन्दर्भमा यहाँ लगानी गर्नसके पदमार्ग पर्यटन एवं घोडचढी पर्यटनको समेत यहाँ सम्भाव्यता रहेको छ । रानीकोट क्षेत्रमा पर्यटन विकासकै लागि होटल निर्माणका लागि आवश्यक तयारी भइरहेको रहेछ । भग्नावशेषमा परिणत भएको ऐतिहासिक रानीकोट दरबारको संरक्षण नभएपछि अतिक्रमण तथा वन फँडानीको चपेटामा परेको छ ।

केही वर्षअघिसम्म व्यापकरूपमा बाक्लो देखिएको वन क्षेत्र अहिले उजाड बन्दै गएको छ । वन क्षेत्रमा जो कोही पनि गएर जथाभावी रूपमा वनका रुख काट्दा पनि कसैले वास्ता नगरेपछि दरबार क्षेत्रको वनका रुख काटेर धमाधम बिक्री गर्न थालिएको छ । वनका काठ काट्ने गिरोहले वनमा आगो लगाइदिएर सुकेको रुख भन्दै काट्नसमेत थालेको देखिएको छ । विभिन्न जातका रुखले भरिएको जंगल अहिले रुखविहीन बन्दै उजाडिँदै गएको छ । वन जथाभावी फँडानी भइरहेको छ कसैले रोक्न चासो दिँदैन, कतिपयले सिंगो रुख नै काटेर लैजान्छन् भने कतिपयले वन क्षेत्रमै रुख काटेर टुक्राएर लैजाने र दाउरा बिक्री गर्दासमेत कसैले रोक्ने प्रयाससमेत नगरकोमा रानीकोटका बुढापाका चिन्तित छन् ।यहाँको विकासका नाममा पछिल्लो समय स्थानीय बासिन्दा जुटेर सिँढी निर्माण गरेका रहेछन् । यसले आजभोलि दरबारमा घुम्न जाने पर्यटकलाई आउजाउमा केही सहजता भएको छ । रानीकोट गढी पर्यटकीय उपभोक्ता विकास समितिको सक्रियतामा गढीसम्म पुग्न ५ सय सिँढी निर्माण गरिएको छ । तर यस क्षेत्रको समग्र विकासमा राज्यको अहिले पनि ध्यान जान सकेको छैन ।

रानीकोटगढी संरक्षण र प्रवद्र्धन गर्न पर्यटन मन्त्रालयसँग गुरुयोजना निर्माण गर्न लिखितरूपमा अनुरोध गरिएको भए पनि मन्त्रालयसमेत यस विषयमा उदासिन बनिरहेको छ । तत्कालीन जिल्ला विकास समिति भक्तपुरले यस्ता क्षेत्रलाई पर्यटकीय गन्तव्यको क्षेत्र बनाउने उद्देश्यले पर्यटन गुरुयोजना निर्माण गरेको छ । तर, रानीकोट दरबार निर्माणको गुरुयोजना कागतमै सीमित छ । भक्तपुरको समग्र पर्यटन विकास र रानीकोट दरबारको इतिहास बचाइराख्नका लागि सरकार तथा मातहतको पुरातत्व विभागले यसको प्रवद्र्धनका लागि नीतिगत रूपमै ध्यान दिन सक्नुपर्ने देखिन्छ । यसो गरिएको अवस्थामा यसको मौलिकता, महत्व, ऐतिहासिकता संरक्षण हुनुका साथै देशकै पर्यटन विकास र प्रवद्र्धनमा रानीकोट दरबार क्षेत्रले महत्वपूर्ण टेवा पु¥याउनेमा दुई मत छैन ।

प्रतिक्रिया