अमेरिकालाई चुनौती दिन क्षेप्यास्त्र परीक्षण ः उत्तर कोरिया

koriya
सोल १५ साउन। उत्तर कोरियाले उसको पछिल्लो अन्तरदेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणलाई सफल भन्दै अमेरिकाका लागि ‘कडा चेतावनी’ दिन उक्त परीक्षण गरिएको बताएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले ‘परीक्षणले सारा अमेरिका भर क्षेप्यास्त्र प्रहार गर्न सकिने प्रमाणित गरेको’ बताएको राज्य सञ्चालित सञ्चार माध्यमले उल्लेख गरेको छ ।उत्तर कोरियाले यो महिना दोश्रोपटक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसलाई ‘उत्तर कोरिया शासकको अविवेकी र खतरनाक कदम’ भनेका छन् । परीक्षणको पुष्टि गर्दै उत्तर कोरियाले क्षेप्यास्त्र ४७ मिनेटसम्म उडेको र ३ हजार ७ सय २४ किलोमिटर उचाइमा पुगेको बताएको छ ।

कोरियन सेन्ट्रल न्युज एजेन्सीले भनेको छ, ‘हाम्रा नेताले गर्वसाथ भनेका छन्, अमेरिकी मुख्य भूमी हाम्रो क्षेप्यास्त्र प्रहारको पहुँचमा आएको छ ।’विज्ञप्तिमा जनाइएअनुसार उक्त क्षेप्यास्त्र ह्वासोङ–१४ जुलाई ३ मा गरिएकै क्षेप्यास्त्रको प्रकार हो । अमेरिका, जापान र दक्षिण कोरियाले प्योङयाङको पछिल्लो कारबाहीको भत्सर्ना गरेका छन् ।  जापानी प्रधानमन्त्री शिन्जो आबेले क्षेप्यास्त्र परीक्षण उनको मुलुकको लागि गम्भीर खतरा भएको बताए । पेन्टागनका प्रवक्ता क्याप्टेन जेफ डेभिसले भने, ‘अमेरिका आफ्नो बचाउका लागि तयार छ ।’ दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले मध्यरातमा आपतकालीन सुरक्षा बैठक डाकेका थिए ।

कतिपय विश्लेषकहरू भन्छन्, एकपछि अर्को परीक्षणहरू भइरहे पनि उत्तर कोरियाको आणबिक युद्ध गर्ने क्षमता पुगेको छैन । तर, केही विश्लेषकहरू भन्छन्, अहिलेकै दरमा अघि बढिरहे प्योङयाङले सबै चुनौतीहरू पार गरी ५ देखि १० वर्षमा अमेरिकामाथि आक्रमण गर्न सक्छ ।

प्रतिक्रिया