कोलम्बो १५ साउन । श्रीलंकाले चीनसँग एउटा समुन्द्री बन्दरगाह हम्बनटोटा विकास तथा नियन्त्रण गर्ने आयोजनाका लागि १ दशमलव १ अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेको छ । बन्दरगाह चिनियाँ सेनाले प्रयोग गर्न सक्ने भन्दै व्यापक विरोध भएपछि सम्झौता पछाडि धकेलिएको थियो । श्रीलंका सरकारले उक्त क्षेत्रमा चीनले व्यापारिक कारोबार मात्र गर्ने विश्वास दिलाएको छ । यो बन्दरगाह एसिया र युरोपको समुद्री सामान ओसार पोसार गर्ने मुख्य मार्गको निकटमा पर्छ ।
श्रीलंका सरकारले सम्झौताबाट आउने रकम विदेशी ऋण तिर्न खर्च गरिने बताएको छ । प्रस्तावअनुसार चिनियाँ राज्य सञ्चालित कम्पनीले ९९ वर्षका लागि लिजमा उक्त बन्दरगाह र नजिकै १५ सय एकड जमिन औद्योगिक क्षेत्रका लागि प्राप्त गर्नेछ । प्रस्तावबाट हजारौं गाउँलेहरू विस्थापित हुनेछन् तर, सरकारले उनीहरूलाई नयाँ जमिन दिने भनेको छ । चीनले श्रीलंकामा गृह युद्ध अन्त्य भएयता सन् २००९ देखि त्यहाँको भौतिक संरचनामा ठूलो रकम लगानी गरेको छ । यो प्रस्तावलाई क्षेत्रीय व्यापार प्रतिस्पर्धीहरू जापान र भारतले चासोका साथ हेरिरहेका छन् । शुक्रबार प्रधानमन्त्री रनिल विक्रमसिंघेले पत्रकारहरूसँग भनेका थिए, ‘हामी सुरक्षामा कुनै प्रभाव नपर्ने गरी मुलुका लागि राम्रो सम्झौता गर्दै छौं ।’
प्रतिक्रिया