– मोहनविक्रम सिंह
अहिले हुन थालिरहेको स्थानीय निर्वाचनको सन्दर्भमा नेकपा (मसाल) ले आफ्नो तालमेलको नीति स्पष्ट रूपले अगाडि ल्याएको छ । हाम्रो त्यो नीति पार्टीको संयुक्त मोर्चा र कार्यगत एकताको नीति र अहिलेको देशको तात्कालिक परिस्थितिको विश्लेषणका आधारमा नै निर्धारित भएको छ । कुनै खास बेला वा परिस्थितिको आवश्यकता अनुसार दुश्मन, प्रतिक्रियावादी वा मित्र राजनीतिक शक्तिसित पनि संयुक्त मोर्चा वा कार्यगत एकता गर्नुपर्ने आवश्यकतालाई माक्र्सवादी–लेनिनवादी सिद्धान्तले स्वीकार गर्दै आएको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि माक्र्सवादी–लेनिनवादी पार्टीहरूले बारम्बार त्यसप्रकारको संयुक्त मोर्चाको नीतिलाई अभ्यास गर्दै आएका छन् । त्यस अनुरूप नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पनि बारम्बार त्यसप्रकारको नीतिलाई अभ्यास गर्दै आएको छ ।
०४६ को जनआन्दोलन, गिरिजा शासनका विरुद्धको संयुक्त आन्दोलन, महाकाली सन्धि विरोधी आन्दोलन, ०६२–६३ को जनआन्दोलन, लोकमानसिंह कार्की नियुक्ति विरोधी आन्दोलन, अपर कर्णाली, लिपु लेक आदि विरोधी आन्दोलन, विगतका विभिन्न संसदीय वा स्थानीय चुनावहरू, जनवर्गीय संगठनहरूका विभिन्न चुनावहरू, भारतीय नाकाबन्दी विरोधी आन्दोलन आदिका सन्दर्भमा हामीले माओवादी, एमाले, कांग्रेस, मधेसवादी, राप्रपा समेतसित पनि कार्यगत एकता गर्दै आएका छौँ । राष्ट्रपतिको चुनावमा हामीले कांग्रेसका रामवरण यादवलाई पनि समर्थन गरेका थियौँ । त्यही कार्यगत एकताको नीति अनुसार नै कामरेड चित्रबहादुर केसीको नेतृत्वमा राष्ट्रिय जनमोर्चा ओली नेतृत्वको सरकारमा सामेल भएको थियो ।
बेग्लाबेग्लै समयमा अपनाएका कार्यगत एकताका नीतिहरूसित सम्बन्धित एउटा अर्को पक्षप्रति पनि हामीले प्रकाश हाल्न चाहन्छौँ । हामीले बेग्लाबेग्लै समयको आवश्यकता अनुसार कुनै पक्षसित कार्यगत एकता गरे पनि त्यससित भएका मतभेदहरूबारे आवश्यकतानुसार विरोध वा संघर्ष गर्ने नीतिलाई कहिल्यै पनि तिलाञ्जली दिने गरेका छैनौँ । ०४६ सालको आन्दोलनमा कांग्रेसप्रति कार्यगत एकताको नीति अपनाए पनि पछि गिरिजा शासनविरुद्ध वामपन्थी शक्तिहरूको साढे दुई वर्षसम्म संयुक्त आन्दोलन चलेको थियो । जसमा हाम्रो पार्टी पनि लगातार सामेल भएको थियो ।
०६२÷६३ को आन्दोलनमा माओवादीसित कार्यगत एकता गरे पनि पछि त्यसका गलत नीतिहरूका विरुद्ध हामीले लगातार संघर्ष गर्ने नीति अपनाएका थियौँ । महाकाली सन्धीका विरुद्ध राप्रपासित कार्यगत एकता गरे पनि पछि त्यसका गलत नीतिहरूका विरुद्ध हामीले लगातार संघर्ष गरिरह्यौँ । एमालेको नेतृत्वमा सरकारमा सामेल भए पनि राजमोले ओली नेतृत्वको सरकारले संसद्मा प्रस्तुत गरेको दोस्रो संविधान संशोधन विधेयकविरुद्ध मतदान गरेको थियो । त्यसप्रकारको पृष्ठभूमिमा नै हामीले अहिलेको स्थानीय चुनावको सन्दर्भमा पनि आफ्नो नीति निर्धारित गरेका छौँ ।
हाम्रो सुरुदेखि नै यो मत रहेको थियो कि जुन राजनीतिक शक्तिहरू मिलेर संविधानको निर्माण गरे, संविधानको कार्यान्वयनका लागि पनि उनीहरूका बीचमा एकता कायम हुनुपर्छ । त्यस सिलसिलामा मुख्यतः एमाओवादी, एमाले र कांग्रेसको बीचमा एकता कायम हुनुपर्छ भन्ने कुरामा जोड दिँदै आएका थियौँ । ती बेग्लाबेग्लै राजनीतिक शक्तिहरू वा संविधानमा समेत हाम्रो गम्भीर प्रकारका मतभेदहरूका बाबजुद आफ्ना मतभेदहरूलाई सुरक्षित राख्दै संविधानको कार्यान्वयनमा उनीहरूले गर्ने प्रयत्नहरूलाई समर्थन गर्ने हाम्रो नीति रहेको थियो । तर, भारतीय विस्तारवादको षड्यन्त्रका कारणले उनीहरूका बीचको त्यो एकता बारम्बार खण्डित हुँदै गयो ।
भारतले पहिले सुशील कोइरालालाई प्रधानमन्त्रीको प्रलोभन दिएर कांग्रेसलाई फुटायो भनेपछि प्रचण्डलाई त्यही प्रकारको प्रलोभन दिएर माओवादी केन्द्रलाई फुटायो । त्यसरी संविधानको निर्माणको क्रममा उनीहरूका बीचमा कायम भएको एकता टिक्न सकेन । तै पनि हाम्रो पार्टीले ०६२÷६३ को आन्दोलन वा संविधानको निर्माणको कालमा उनीहरूसित कायम भएको कार्यगत एकताको नीतिलाई अहिले पनि परिवर्तन गरेको छैन । अहिले स्थानीय चुनावको सन्दर्भमा पनि हामीले संविधानको निर्माणको क्रममा एकता कायम भएका माओवादी केन्द्र, एमाले वा कांग्रेससित आवश्यकतानुसार कार्यगत एकता गर्ने हाम्रो नीति रहेको छ । निश्चय नै कुनै जिल्लाको स्थिति, आवश्यकता र परस्परमा कायम हुन सक्ने समझदारी अनुसार ती मध्ये कुनै पक्षसित कार्यगत एकता गर्ने वा नगर्नेबारे निर्णय गर्ने अधिकार सम्बन्धित जिल्ला समितिलाई नै दिएका छौँ ।
अहिलेको स्थानीय निर्वाचनको सिलसिलामा कार्यगत एकताका लागि हाम्रो सबैभन्दा बढी सम्पर्क वा वार्ता एमालेसित नै हुने गरेको छ । खास गरेर सरकारमा ओली नेतृत्वको सरकारमा संयुक्त सहभागिता, प्रचण्ड सरकारले संसद्मा प्रस्तुत गरेको दोस्रो संविधान संशोधनविरुद्ध संसदभित्र र देशव्यापी रूपमा चलेको आन्दोलनमा एमालेसित देशव्यापी रूपमा कायम भएको एकता आदि समेतका कारणले स्थानीय चुनावमा पनि हाम्रो चुनावी तालमेलसम्बन्धी वार्ता बढी उनीहरूसित हुने ग¥यो । त्यस अनुसार बाग्लुङमा स्थानीय चुनावका सन्दर्भमा उनीहरूसित कार्यगत एकता नै भयो भने प्यूठानमा पनि त्यसका लागि लिखित सम्झौता नै भएको थियो ।
एमालेसित हुने गरेका विभिन्न चुनावी तालमेलहरूमा हाम्रा धेरै नै कटु र अप्रिय अनुभवहरू रहने गरेका छन् । त्यस सिलसिलामा सबैभन्दा महत्वपूर्ण कुरा यो हुने गरेको छ कि उनीहरूसित कायम भएको चुनावी तालमेलमा उनीहरू कयौँपल्ट इमानदार रहने गरेका छैनन् र अन्तर्घात गर्ने गरेका छन् । जब कि हामीले आपसमा कायम भएको समझदारीलाई सधैँ नै इमानदारी र दृढतापूर्वक लागू गर्ने गरेका छौँ । जस्तो संसदीय चुनावको बेलामा उनीहरूले कामरेड भैरव रेग्मीलाई राष्ट्रिय सभामा समर्थन गर्ने सझदारी भएको थियो । तर, उनीहरूले अन्तर्घात गरेर राजेश्वर देवकोटालाई समर्थन गरेर जिताएका थिए ।
तेस्रो संसदीय चुनावमा एमालेसित चुनावी तालमेल हुँदा उनीहरूले कपिलवस्तुमा कामरेड दुर्गा पौडेललाई समर्थन गर्ने समझदारी भएको थियो । तर, उनीहरूले अन्तर्घात गरेर राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवारलाई भोट दिएर जिताएका थिए । केही समय पहिले भएको कर्मचारीको चुनावमा हाम्रो पक्षले एमालेको प्यानललाई समर्थन गर्ने र चुनावपछि उनीहरूले हाम्रो पक्षलाई केन्द्रमा एकसिट दिने समझदारी भएको थियो । चुनावपछि उनीहरूले केन्द्रमा अध्यक्षसहित आठ सिट जिते तर हाम्रो पक्षलाई एकसिट पनि दिन अस्वीकार गरेका थिए । त्यसरी एमालेले बारम्बार स्वयं आफ्नो समझदारीप्रति इमानदार नहुने गरेका कयौँ उदाहरणहरू छन् । अहिलेको स्थानीय चुनावको बेलामा पनि एमालेका त्यस प्रकारका प्रवृत्तिहरू बारम्बार देखापर्ने गरेका छन् ।
बाग्लुङमा एमालेसित तालमेल भएको थियो । तर उनीहरूले कयौँ ठाउँमा अन्तर्घात गरे । ढोरपाटनमा नगरपालिकाको प्रमुखकको पदमा उनीहरूले हाम्रो उम्मेदवारलाई समर्थन गर्ने लिखित समझदारी नै बनेको थियो । तर, उनीहरूले अन्तिम समयमा आफ्नो मान्छेलाई उम्मेदवार बनाए र जिताए पनि । जैमुनि नगरपालिकामा उनीहरूले प्रमुख पदमा हाम्रो उम्मेदवार क.नरबहादुर पुनलाई समर्थन गर्ने र उपप्रमुख पदमा हामीले एमालेको उम्मेदवारलाई समर्थन गर्ने समझदारी भएको थियो । तर, त्यहाँ पनि उनीहरूले अन्तर्घात गरे र हाम्रो उम्मेदवारहरूलाई हराए र आफ्नो उपप्रमुखको उम्मेदवारलाई विजयी बनाए ।
प्यूठानमा राजमो र एमालेको बीचमा चुनावी तालमेल बारे लिखित सम्झौता समेत भइसकेको थियो । तर, पछि एमाले पक्षले त्यस प्रकारको समझदारीको कयौँ ठाउँमा विरोध ग¥यो । स्वर्गद्वारी नगरपालिकामा राजमोका वीरबहादुर पुनलाई प्रमुखमा समर्थन गर्ने समझदारी भएको थियो । तर, स्वर्गद्वारीका एमालेका कार्यकर्ताहरूले बैठक नै गरेर उहाँलाई भोट नदिने निर्णय मात्र गरेनन् त्यस प्रकारको समझदारीलाई बदर गर्न एमालेको जिल्ला कार्यालयमा जुलुस नै लगेर गए । पछि एमालेको जिल्ला नेतृत्वले पहिलेको समझदारी कायमै राख्ने भनि वक्तव्य दियो । तर स्वर्गद्वारीमा एमालेका कार्यकर्ताहरूले आफ्नो विरोधलाई कायम राखे ।
झिम्रुक गाउँपालिकामा क.तिलक जिसीलाई अध्यक्ष पदमा समर्थन गर्ने समझदारी भएको थियो । तर, त्यो गाउँपालिकाका एमालेका कतिपय सदस्यहरूले बैठक नै गरेर राजमोको अध्यक्ष पदको उम्मेदवारलाई भोट नदिने निर्णय गरे । एमालेको जिल्ला नेतृत्वले पनि पहिले राजमोका उम्मेदवारहरूलाई समर्थन गर्ने समझदारी भएका कतिपय वडाहरूमा एमालेका नै उम्मेदवार हुनुपर्छ भनेर दावी गर्न थाले । त्यसप्रकारको पृष्ठभूमिमा राष्ट्रिय जनमोर्चाको यही १५ जेठमा बसेको जिल्ला समितिको बैठकले एमालेसित भएको चुनावी तालमेलको सम्झौतालाई भंग गर्ने निर्णय गरी वक्तव्यसमेत जारी गरेको छ ।
एमालेसित हुने गरेका विभिन्न चुनावी तालमेलमा उनीहरूले बारम्बार अन्तर्घात गर्ने गरेका छन् । तर, त्यो कारणले राजनीतिक प्रश्नहरूमा उनीहरूसित हुने एकताबाट पछाडि हट्ने हाम्रो कहिल्यै पनि दृष्टिकोण रहेको छैन । उनीहरूसित पहिले भएका कयौँ चुनावी तालमेलहरूमा उनीहरूले धोका दिनुका बाबजुद जुन राजनीतिक प्रश्नहरूमा उनीहरूसित एकता हुन सक्दथ्यो, त्यसबारे हामीले उनीहरूसित विनाहिचकिचाहट एकता गर्ने नीति अपनाउँदै आएका छौँ । अहिले बाग्लुङ र प्यूठानमा चुनावी तालमेलबारे उनीहरूले अपनाएका अवांच्छित प्रकारका तौरतरिकाहरूका बाबजुद राष्ट्रिय प्रश्नमा उनीहरूले अपनाउने सकारात्मक नीति वा अडानलाई समर्थन गर्ने वा आवश्यकतानुसार कार्यगत एकता गर्ने हाम्रो नीति कायमै रहेको छ । त्यो कुरा देशका अन्य राजनीतिक शक्तिहरूबारे पनि सत्य हो । अहिले बाग्लुङ वा प्यूठानमा उनीहरूले अपनाएका गलत प्रकारका तौरतरिकाका बाबजुद चुनावपछिका विकास कार्यहरू वा अन्य प्रश्नहरूमा सहमति हुनसक्ने विषयमा आपसमा एकता कायम गरेर काम गर्ने हाम्रो प्रयत्न भइरहनेछ ।
बाग्लुङको चुनाव समाप्त भइसकेको छ । तर, प्यूठानको चुनाव हुन बाँकी नै छ । उनीहरूसित भएको वार्ता र तालमेलको सम्झौता भंग भएको छ र अब त्यहाँ उनीहरूसित पुनः चुनावी तालमेलको सम्भावना छैन । तर, त्यो कारणले हामी निराश छौँ भन्ने होइन । हामीले आफ्नो पार्टीको इतिहासमा कयौँपल्ट कांग्रेस, एमाले वा माओवादीसँग एक्लै लामो समयदेखि संघर्ष गर्दै आएका छौँ । हामीले मूल रूपमा सिद्धान्त, आस्था वा मूल्य र मान्यताको राजनीति गर्दछौँ । त्यस आधारमा हामी कुनै पनि ठूलोभन्दा ठूलो राजनीतिक शक्ति वा सरकारसित संघर्षको लागि कहिल्यै पछाडि हट्ने, हिचकिचाउने वा आत्मसमर्पण गर्ने गरेका छैनौँ ।
त्यस प्रकारको गौरवपूर्ण इतिहासको सन्दर्भमा अहिले स्थानीय चुनावको सन्दर्भमा कुनै राजनीतिक पक्षसित हाम्रो तालमेल हुन्छ वा हुँदैन ? त्यो कुराले हाम्रा लागि निर्णयात्मक महत्व राख्दैन । हाम्रो संयुक्त मोर्चा वा कार्यगत एकताको नीति अनुसार कयौँपल्ट हामीले आन्दोलन वा चुनावको बेलामा अन्य पक्षहरूसित पनि एकता कायम गरेर काम गर्दछौँ । तर, एकताको नाममा आफ्ना नीति वा कार्यक्रमलाई तिलाञ्जली दिने हाम्रो परम्परा रहेको छैन ।
केही समय पहिले हाम्रो पार्टीबाट जारी गरिएको एउटा वक्तव्यमा भनिएको थियो ः ‘स्थानीय चुनावको सन्दर्भमा विभिन्न पक्षहरूसित पारस्पारिक समझदारी अनुसार चुनावी तालमेल गर्ने हाम्रो नीति हुनेछ । तर, त्यस प्रकारको तालमेल सम्मानजनक प्रकारले हुन नसकेमा त्यसलाई दृढतापूर्वक अस्वीकार गर्नु पर्दछ ।’त्यस अनुसार नै अहिले प्यूठानमा एमाले वा कुनै पक्षसित तालमेल नभए पनि हामी दृढतापूर्वक चुनावमा लाग्नु पर्दछ । हामीले बारम्बार यो कुरा स्पष्ट गर्ने गरेका छौँ कि चुनाव हाम्रा लागि राजनीतिक संघर्ष वा जनतालाई राजनीतिक रूपले प्रशिक्षण गर्ने एउटा माध्यम हो । त्यसकारण त्यसप्रकारको नीति अनुसार नै अहिले चुनावको अभियानलाई सफल पार्ने प्रयत्न गर्नुपर्दछ । यो कुरा प्यूठान वा दोस्रो चरणको चुनाव हुन थालिरहेका सबै जिल्लाहरूका सन्दर्भमा पनि सत्य हो ।
प्रतिक्रिया