पलको वेसक्याम्पमा लाइभ कन्सर्ट हुने

paul-oakenfold_PkPNa0u8OE

काठमाडौं । बेलायती संगीतकर्मी तथा डिजे पल ओकेनफिल्डले विश्वको सर्वोच्च शिखर सगरमाथाको वेसक्याम्पमा लाइभ कन्सर्ट र सांगीतिक यात्रा कार्यक्रम ‘साउन्ड ट्रेक’ गर्ने भएका छन् । नेपालका भूकम्पपीडितलाई सहयोग गर्नको लागि यो कन्सर्ट गर्न लागेको उनले बताएका छन् । पल ओकेनफिल्डको टोलीले सगरमाथा वेसक्याम्पको पाँच हजार तीन सय ५० मिटर उचाईमा कन्सर्ट गरी ‘विश्वको सर्वोच्च स्थानमा ‘लाइभ कन्सर्ट’ को विश्व रेकर्ड राख्ने लक्ष्य राखेको छ । त्यसअघि उनको टोलीले ‘साउन्ड ट्रेक’ सांगीतिक यात्राका क्रममा सोलुखुम्बुका गाउँहरूमा पनि स्थानीय समुदायसँग छलफल र कन्सर्ट गर्दै जानेछ ।
वेसक्याम्पको लाइभ कन्सर्ट २९ चैतमा गरिने उनले बताए । तीन पटक ग्रामी अवार्ड र दुई पटक वल्र्ड म्युजिक अवार्ड मनोनयनमा परेका पल ओकेनफिल्ड हाल आधुनिक नृत्य संगीतको क्षेत्रमा प्रसिद्ध छन् । उनको सांगीतिक जीवनका उल्लेख्य उपलब्धिहरूमा लन्डनमा ‘मिनिस्ट्री अफ साउन्ड क्लब’ को स्थापना, पाँच स्टुडियो एल्बम र पच्चीसभन्दा बढी मिक्स एल्बमका पचास लाखभन्दा बढी रेकर्डहरू बिक्रीमा छन् ।
उनले म्याडोना, यु २, मोबी, रोलिङ स्टोनलगायता गायक तथा व्यान्डहरूका लागि रिमिक्स संगीत तयार गर्नुका साथै कैयौँ फिल्म र टिभीमा कार्यक्रममा साउन्ड ट्रयाकहरू रचना गरेका छन् । ‘हिमालयको सर्वोच्च शिखर सगरमाथाबाट साउन्ड ट्रेकको सुरुआत गर्न पाउँदा म रोमाञ्चित छु । हाम्रो कार्यक्रमको सुरुआतका लागि यो सबैभन्दा उपयुक्त स्थान हो’, ओकेनफिल्डले भने, ‘यो सांगीतिक यात्राले स्थानीय समुदायलाई सहयोग गर्दै उनीहरूलाई हाम्रो संगीतसँग जोडिनेछ ।’
ओकेनफिल्डको टोलीमा उनका संगीत सहयोगीहरूका अतिरिक्त ११ पटक सगरमाथा आरोहण गरिसकेका विश्वविख्यात बेलायती आरोही केन्टन कुल र सिंगापुरको प्रसिद्ध क्लब एट्टिकाका सञ्चालक मार्क ब्रिम्बलेकम्बलगायत काठमाडौंका लोकप्रिय डिजे राञ्जेन पनि सहभागी हुनेछन् । ‘साउन्ड ट्रेक’ कार्यक्रममार्फत ओकेनफिल्डले नेपालका भूकम्पप्रभावितका लागि कोष संकलनको लक्ष्य राखेका छन् ।
कार्यक्रमको सहयोग र अभिलेखका लागि अन्तर्राष्ट्रिय पुरस्कार विजेता सिनेमाटोग्राफर मार्क फिसर पनि ‘साउन्ड ट्रेक’ यात्रामा साथै रहनेछन् । सगरमाथा वेसक्याम्पमा जानको लागि बिहीबार काठमाडौंबाट हिँडेको टोलीले २९ चैतमा कन्सर्ट सकेर फर्कने कार्यक्रम तय गरेको छ । त्यहाँबाट फर्किएपछि ‘साउन्ड ट्रेक’ टोलीले नेपाली नववर्षको अघिल्लो दिन ३१ चैत्तमा काठमाडौंमा पनि कन्सर्ट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया