काठमाडौं । ५५औँ विश्व रंगमञ्च दिवसको अवसर पारेर मध्यकाल र मल्लकालका नेवारी र मैथली नाटकबारे बहस गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सांस्कृतिक संस्थानको सहकार्यमा सोमबार नाचघर जमलमा आयोजना गरेको कार्यक्रममा अनुसन्धानकर्ता प्राडा रामअवतार चौधरीले मध्यकालीन एवं मल्लकालीन नेवारी, मैथिली र बंगाली नाटकबारे कार्यपत्र प्रस्तुत गरे । उनले तीन ओटा प्रकृत भाषामा नाटक, तीन सयभन्दा बढी मैथिली नाटक, चार ओटा नेवारी भाषाको नाटक र त्यत्तिकै मात्रामा बंगाली भाषाका नाटकको अभिलेख मध्य र मल्लकालमा लेखिएको अहिले पनि सुरक्षित रहेको बताए । कार्यक्रममा मध्यपुर ठिमीका कलाकारहरूले त्यहाँ चार सय वर्षभन्दा अघिदेखि प्रचलनमा रहेका इन्द्र–अस्परा नृत्य र भष्मासुर नाच प्रस्तुत गरे । सो नाचले कार्यक्रमको रौनकता बढाएको थियो ।
कार्यक्रममा अग्रज संस्कृतिविद् सत्यमोहन जोशीले राणाकालपछि नेवारी भाषाको नाटक लोप भएको अवस्थामा आपूmहरूले संरक्षण गरेको जानकारी गराएका थिए । उनले आफ्नो विगत स्मरण गर्दै यस्तो बताएका हुन् । नाट्यकर्मी प्रचण्ड मल्लले मल्लकालको मञ्च र प्रस्तुतिको बारेमा चर्चा गर्दै त्यतिबेला त्रिकोण आकारको मञ्चमा नाटक देखाइने गरेको बताए ।
संस्कृतिविद तेजेश्वरबाबु ग्वाँङले काठमाडौं उपत्यकाका नेवारी नाचहरू संकटमा रहेको अहिलेको आधुनिक प्रयोगले नेवारी नाटकहरू छायाँमा परेको बारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमका अर्का वक्ता प्राडा सावित्री मल्लले काठमाडौंका नेवारमा बाजे र बुबा पुस्ताले अझै नेवारी बोले पनि नाति पुस्ताले बोल्न छाडेकाले नयाँ पुस्ताले नेवारी भाषा बुझ्न छाडेको र नेवारी भाषामा मञ्चिन नाटक सोही कारण उनीहरूले हेर्न छाडेको बताइन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ सरुभक्तले विभिन्न संघ संस्थासँग सहकार्य गरेर राजधानी र मोफसलमा प्रतिष्ठानले नाच, नाट्य, संगीतसम्बन्धी कार्यक्रम गर्दै आएको बताएका छन् ।
प्रतिक्रिया