काठमाडौं । शुक्रबारबाट देशभरका हलमा चलचित्र ‘लप्पन छप्पन’ रिलिज हुँदै छ । ७० प्रतिशत दृश्य युरोपमा खिचिएको यो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि यसको चर्चा बढेको हो । मुकुन्द भट्टको निर्देशनमा तयार भएको यो चलचित्रलाई डम्बर चन्दले निर्माण गरेका हुन् । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, वर्षा सिवाकोटीलगायत कलाकारको अभिनय छ । चलचित्रको प्रचारमा यसका मुख्य कलाकार दयाहाङ र सौगात हिँडेका छैनन् । तर, अर्का दुई कलाकार अर्पण थापा र वर्षा सिवाकोटी भने चलचित्रलाई लिएर गम्भीर देखिएका छन् ।
चलचित्रको बारेमा नायक थापा भन्छन, ‘यो एउटा पैसाको खेलमा आधारित चलचित्र हो । पैसा धेरै कमाउने इच्छा भएको एक पात्रले खेल्ने विभिन्न खेललाई मेरो क्यारेक्टरले चित्रित गरेको छ ।’ निर्देशक मुकुन्द भट्ट ट्रेलर चलचित्रको पाँच प्रतिशत मात्र भएको बताउँछन् । उनले, कथावस्तु राम्रो भएकाले पनि चलचित्र चल्नेमा विश्वास व्यक्त गरेका छन् ।
यस्तै, नायिका वर्षा सिवाकोटी भन्छिन्, ‘यस अगाडि गरेका विभिन्न भूमिका भन्दा मैले यसमा फरक भूमिका गरेकी छु । ग्याङस्टारको कथा भएकाले यसमा मैले सारी लगाएर रोमान्स गरेकी छैन । मलाई टिमले जुन तरिकाले विश्वास गरेको थियो, त्यसमा मैले शतप्रतिशत दिएकी छु । वर्षाले कुनै चलचित्र चल्नु वा नचल्नुसँग कलाकारको कामको तुलना गर्न नहुने बताइन् । कुनै पनि चलचित्र चल्नका लागि एउटी नायिकाको मात्र भूमिका नहुने उनको भनाई छ । दर्शकले काम मन पराउनु आफ्ना लागि सबैभन्दा ठूलो कुरा भएको उनको भनाइ छ । ‘लुट–२’ को मिस्रित समीक्षाले ‘लप्पन छप्पन’ लाई खास असर नगर्ने यसको निर्माणपक्षको विश्वास छ ।
प्रतिक्रिया