‘फिल्मीखबर’ द्वारा सम्मान

sammanकाठमाडौं । हरेक बिहीबार प्रकाशित हुने ‘फिल्मीखबर’ साप्ताहिक पत्रिकाले यो वर्षको वर्ष व्यक्ति महिला र पुरुष घोषणा गर्नुका साथै एकजना रंग पत्रकारलाई सम्मान गरेको छ । पत्रिका स्थापनाको सात वर्ष पूरा भएर आठौं वर्षमा प्रवेश गरेको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा ‘वर्ष व्यक्ति महिला र पुरुष’ घोषित गरिएको हो । चलचित्र ‘नाई नभन्नु ल ४, छक्का पञ्जा, जात्रा’जस्ता सफल चलचित्रमा काम गरेर एकाएक चलचित्र क्षेत्रमा उदाएकी नायिका वर्षा राउतलाई पत्रिकाले ‘वर्ष व्यक्ति, महिला’ घोषित गरेको छ । भने ‘रेशम फिलिली, पुरानो डुंगा, लुट २’ जस्ता सफल चलचित्रका सफल संगीतकार तथा गायक कालिप्रसाद बास्कोटालाई ‘वर्ष व्यक्ति पुरुष’ घोषित गरिएको छ । त्यस्तै हालै चलचित्र पत्रकार संघको उपाध्यक्ष पदमा विजय भएकी रंग पत्रकार गीता अधिकारीलाई सम्मान गरेको छ ।
उक्त कार्यक्रममा गायक तथा संगीतकार कालिप्रसादले आफ्ना चर्चित गीत गाएर सुनाएका थिए । यस्तै, नायिका वर्षा राउतले यो सम्मानले आफूलाई अझै ऊर्जा मिलेको बताएकी छन् । कार्यक्रमका प्रमुख अतिथि कांग्रेस नेता तथा वनमन्त्री शंकर भण्डारीले चलचित्र क्षेत्रलाई अब आउने बजेटमा उच्च स्थान दिन पहल गर्ने बताए । उनले फिल्म स्टुडियो निर्माण तथा व्यवस्थापनका लागिसमेत आवश्यक पहल लिने जानकारी दिए ।
पत्रिकाका प्रधान सम्पादक शान्तिप्रियले ८ वर्षसम्म पत्रिका प्रकाशन गर्नु चुनौतीको विषय भएको भन्दै त्यसलाई आफूहरुले पूरा गरेको बताए । कार्यक्रममा नायिका रेखा थापाले यस पत्रिका नेपाली चलचित्र क्षेत्रका लागि फलदायी भएको बताइन् । त्यस्तै कार्यक्रममा प्रकाश सुवेदी, निर्देशक दीपाश्री निरौला, आकाश अधिकारी, चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटालगायतले फिल्मीखबर साप्ताहिकलाई निरन्तरताका लागि बधाई तथा शुभकामना दिएका थिए भने नेपाली चलचित्रका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया